अन्नपूर्ण समाचारले जुटाउन थाल्यो आकाशको उपचार खर्च
जाजरकोट : आर्थिक अभावले उपचार गर्न नसकेर थला परेका जाजरकोट त्रिबेणी नलगाड नगरपालिका १३ सिउनका २१ बर्षका आकाश भण्डारीको उपचारका लागी काठमान्डौ भोटेबहाल बस्ने रमेशमान सिंहले ५० हजार रुपैया सहयोग गरेका छन् ।
‘जग्गा विक्री हँुदैन कसरी छोराको उपचार गरौ ?’ भन्ने शिर्षकमा बुधवार अन्नपुर्ण अनलाईनमा प्रकाशित समाचार पढेर सिहले उक्त सहयोग गरेका हुन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानमा लामो समय अधिकृतको रुपमा काम गरिसकेका अवकाश लिएका सिंहले ‘मेरो सानो सहयोगले कसैको जीबन बच्छ भने किन सहयोग नगर्ने’ भनेर सहयोग गरेको बताए । विहिवार नै सहयोग रकम पाएको विरामी आकाशका बुवा बलबहादुर भण्डारीले बताए । ‘मलाई भगवानले पैसा पठाईदिएको जस्तो लागिरहेको छ’,पैसा पठाउने रमेशमानलाई धन्यवाद दिदै भण्डारीले भने‘अव मेरो छोरालाई छिटै थप उपचारको लागि चितवन लैजान्छु ।’
विगत ३५ बर्ष देखि भारत (कालापार) गइ ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका भण्डारीको परिवार केही समयदेखी गाँउमै बस्दै आएको छ । आकाश भण्डारीका बुवा, आमा र भाई छन् । विहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने भण्डारी परिवार छोरा विरामी भएपनि निकै समस्यामा परेको छ । गाँउमा चन्दा उठाएर केही दिन अघि मात्र आकाशलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो । उनलाई पेट, छाती र टाउको दुख्ने समस्या छ ।
नेपालगन्ज अस्पतालमा दिशा,पिसाब,रगत,प्रयोगशालामा परिक्षण गर्दा समेत कुनै रोग पत्ता नलागेको र चिचित्सकले भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गरेको थियो । तर रकम नहुँदा भण्डारी विरामी छोरालाई लिएर जाजरकोट फर्केका थिए ।
आकाश जिल्ला अस्पताल जाजरकोटमा जीबन मरणको दोसाँधमा छट्पटाईरहेका छन् । गरीवीका कारण थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल जान नसक्दा उनको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । तीन महिना देखि उनी विरामी छन् तर आर्थिक अभावको कारण उपचारमा समस्या भएको परिवारले जनाएका छन् । गाँउमा भएको तीन रोपनी पाखो बारी विक्री गरेर भएपनि उपचारमा लैजाने सोच बनाएका बाबु बलबहादुर जग्गा विक्री नभएपछि उनको योजना अधुरै रहेको थियो ।