७१ वर्षमा गिट्टी कुटेर गुजारा
मुसिकोट : रुकुम तकसेरा घर भई सदरमुकाम खलंगामा बस्दै आएकी ७१ वर्षीया कम बुढाको दैनिकी केही वर्षयता सडकछेउ गिट्टी कुटेर बितिरहेको छ । हिँड्न पनि धौ-धौ हुने उनलाई बल लगाएर ठूलो ढुंगा ससाना टुक्रा पार्नु कम मुस्किलको काम होइन । तर, गुजारा चलाउन उनी दिनहुँ गिट्टी कुट्न बाध्य छिन् ।
हात-गोडाले पहिलेजस्तो काम गर्न छाडेर आँखाको दृष्टि घट्दै गए पनि यी वृद्धा गिट्टी कुटिरहेकी हुन्छिन् । दैनिकीबारे बुझ्न खोज्दा उनको आँखाबाट आँसु झर्यो । च्यातिएको हवाई चप्पलको घेराभित्र रहेको ढुंगालाई हतौडाले चारपटक ‘ट्वाक-ट्वाक' पारेपछि टुक्रा पर्यो । तब केही छिन आराम गर्दै उनले दुखेसो पोख्दै भनिन्, ‘दुःख पाउन जन्मिएकी हुँ, मर्न सकिनँ ।' यही वाक्यांश निस्कियो उनको मुखबाट ।
पुथा उत्तरगंगा गाउँपालिका-१० मा ७१ वर्षअघि जन्मिएकी उनको १९ वर्ष नपुग्दै गाउँमै मागी बिहे भयो । एक वर्षपछि छोरी जन्मिइन् । पहिलो सन्तान छोरी पाएको भन्दै उनका श्रीमानले अर्की बिहे गरेर, उनलाई हेर्न छोडे । छोरी जन्मेको दुई वर्ष त उनी श्रीमान्ले दिएको पीडा सहेरै बसिन् । त्यसपछि भने उनी छोरी च्यापेर माइती फर्किइन् । ४९ वर्ष भयो श्रीमान्सँग देखभेट नभएको । उक्त अवधि छोरीसँगै बिताएको उनले सुनाइन् ।
माइतीमा पनि दाजुहरू आफ्नो बाटो लागे, बुबाआमा बिते । छोरीको पनि बिहे भयो । त्यसपछि उनी छोरीसँगै सदरमुकाम खलंगामा बस्न थालेकी रहेछन् । सदरमुकामको सहिद मैदानस्थित घरमा डेरा लिएर बस्दै आएकी उनले छोरीलाई नै छोरासरह ठानेको बताइन् । ‘पहिलो सन्तान छोरी भयो भनेर हेपिएकी मलाई आज यही छोरीले रेखदेख गरिरहेकी छे', उनले भनिन्, ‘छोरा कि छोरी भन्ने होइन, मिहिनेत गरेर खान सके सबैलाई पुग्छ ।'
पहिलो सन्तान छोरी पाएको भन्दै उनका श्रीमान्ले अर्की बिहे गरेर ल्याए, उनलाई हेर्न छोडे । दुई वर्ष त उनी श्रीमान्ले दिएको पीडा सहेरै बसिन् । त्यसपछि भने उनी छोरी च्यापेर माइती फर्किइन् । ४९ वर्ष भयो श्रीमान्सँग देखभेट नभएको ।
उनका अनुसार छोरी-ज्वाइँको खासै आम्दानी छैन । दुई नाति छन्, उनीहरूको पढाइ खर्च र सदरमुकाम बसाइको खर्च चलाउन धौधौ छ । त्यही भएर खाली बस्नुभन्दा ‘सकेको केही गर्छु' भनेर यसरी गिट्टी कुटिरहेको उनले सुनाइन् । ‘बल्ल एक महिनामा गिट्टी एक ट्रयाक्टर हुन्छ, त्यो बेच्यो भने चार हजार नगद आउँछ', उनले भनिन्, ‘त्यसमध्ये एक हजार ढुंगा निकालेको जग्गावालालाई बुझाउँदा तीन हजार बचत हुन्छ ।'
सोमबार बिहान उनलाई भेट्दा गिट्टी बेच्ने बेला भएको रहेछ । ट्र्याक्टरवालाले गिट्टी लगेर चार हजार रुपैयाँ थमाएको थियो । त्यसपछि खुसीसाथ उनले हातमा लागेको धूलो पुछ्दै पैसा गनिन् । ‘आज फेरि एक ट्र्याक्टर बेचें, पहिलेको पैसा पनि बचाएको छु', उनले भनिन्, ‘यो पनि थोरै मात्रै खर्च गरेर बचाउनु छ । तीज आउँदै छ, एकसरो नयाँ लत्ता फेर्न त पैसा चाहियो, यसकारण पैसा बचाएर राखेकी छु ।'
गिट्टी कुटेर आएको पैसाबाहेक आम्दानीको अरू कुनै स्रोत छैन उनीसँग । आफू समानका उमेरकाहरूले वृद्धभत्ता लिइरहे पनि उनी भने यो अवसरबाट वञ्चित रहिछन् । गाविस सचिवलाई यस विषयमा भने पनि वास्ता नगरेपछि उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी हुन् । ‘भाग्यमा दुःख गर्न लेखेको छ, सुखले केही चिज पाइन्न', उनले भनिन्, ‘जाने÷सुनेकालाई त होला सरकारी भत्ता, हामी त मरुन्जेल यही गिट्टी कुटेरै खाने त होला ।'