बाँकेलाई होटल ‘हब' बनाउन अभियान

बाँकेलाई होटल ‘हब' बनाउन अभियान

नेपालगन्ज : बाँकेलाई होटल व्यवसायको केन्द्र बनाउन व्यवसायीले अभियान सुरु गरेका छन् । बाँके जिल्लामा होटल व्यवसाय फस्टाउँदै गएको छ । पर्यटकको ‘ट्रान्जिट प्वाइन्ट'का रूपमा विकास हुन थालेको बाँकेको नेपालगन्ज, कोहलपुरलगायत क्षेत्रमा अहिले तारे होटल थपिइरहेका छन् । भएका होटलले पनि स्तर बढाएर सेवा विस्तार गर्दै छन् । पर्यटक बढ्दै जाँदा ग्राहकलाई कसरी बढीभन्दा बढी सेवासुविधा दिन सकिन्छ भनेर यस क्षेत्रका होटल व्यवसायी संगठित भइरहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, फोक्सुन्डो, कर्णाली चिसापानीलगायत पर्यटकीय क्षेत्रको प्रवेशद्वार भएकाले पनि बाँकेमा होटल व्यवसायको सम्भावना प्रचुर देखिएको हो । देश संघीयतामा गएसँगै प्रदेशस्तरमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिरहेको होटल एसोसियसन नेपाल (हान) पनि यो क्षेत्रमा आकर्षित भएको छ ।

प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यसहित सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल थालेको हानका पदाधिकारीले हालसालै बाँके र बर्दियाका होटल व्यवसायीसँग छलफल गरेर यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । संगठित रूपमा होटल उद्योगको विकासका लागि संघलाई प्रादेशिक संरचनामा लैजाने हानको योजनाअनुसार प्रदेश नं. ५ मा यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट असितशमशेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल एसोसियसन पनि गठन गरेको छ ।

पर्यटकको ‘ट्रान्जिट प्वाइन्ट'का रूपमा विकास हुन थालेको बाँकेको नेपालगन्ज, कोहलपुरलगायत क्षेत्रमा अहिले तारे होटल थपिइरहेका छन् ।

प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ ? सरकारको भूमिका कस्तो हुने हो ? भन्नेबारे बाँके र बर्दियामा हानको अगुवाइमा बृहत् छलफल गरिएको छ । विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरूप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानका महासचिव विनायक शाहले बताए ।

छलफलमा विमानस्थल व्यवस्थापनको सुधार, स्थलमार्ग भएर आउने पर्यटकका लागि सीमा नाकामा सुविधायुक्त व्यवस्था, होटल उद्योगमा दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको उपलब्धता कसरी गराउन सकिन्छ भन्नेबारे मन्थन भएको थियो । होटल एसोसियसन नेपाल प्रदेश नं. ५ का महासचिव सरोजकुमार चन्दले हानका केन्द्रीय पदाधिकारीसँगको छलफल र उनीहरूबाट होटल उद्योगको विकासमा भइरहेको पहलबाट आफू उत्साही भएको बताएका छन् ।

‘पहिलो कुरा त हामी यस क्षेत्रको होटल उद्योगको विकासका लागि संस्थागतरूपमा संगठित भएका छौं', चन्दले भने, ‘केन्द्रीय पदाधिकारी ज्यूले पनि होटल व्यवसायको विकासका लागि विस्तृत कार्ययोजनासहितका प्रस्ताव राख्नुभएको छ । जुन निकै सकारात्मक छन् ।'

होटल एसोसियसन नेपाल (हान) प्रदेश नं. ५ गठन भएसँगै नेपालगन्जमा यसको कार्यालय खोल्ने र योजना बनाउने काम सुरु भइसकेको छ । हान प्रदेश नं ५ का महासचिव चन्दका अनुसार चाँडै नै जमुनाहा नाकामा टुरिस्ट लाउन्ज खोल्ने, एयरपोर्टमा टुरिस्ट इन्फरमेसन सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.