तराईमा ८० प्रतिशत खेती डुवानमा

तराईमा ८० प्रतिशत खेती डुवानमा

काठमाडौं: बिहीबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले तराई मधेशका २० जिल्लाका ८० प्रतिशत खेती डुवानमा परेको सरकारले जनाएको छ । बाढीका कारण तराई मधेशमा धान, तरकारी, फलफूलखेतीमा ठूलो क्षति भएको छ भने माछापोखरीमा पनि ठूलो क्षति भएको कृषि मन्त्रालयले जनाएको छ।

बाढीका कारण तराई मधेशका क्षेत्रमा भइरहेको क्षतिबारे कृषिमन्त्री रामकृष्ण यादबले आइतबार मन्त्रालयमा आपातकालिन बैठक बोलाएका थिए ।
कृषि विभागमा बोलाइएको बैठकमा मन्त्री यादबले अन्नको भण्डार मानिने तराई मधेशमा पछिल्लो समयमा भएको धानको राँपाइँ पनि डुवानमा परेको बताए।

उनले भने, ‘बाढीका कारण तराई मधेशको धान रोपाई भएको २० जिल्लाका ८० प्रतिशत क्षेत्रफल डुवानमा परिसकेको जानकारी प्राप्त भएको छ । बाँकी रहेको २० प्रतिशत धानवालीको क्षेत्रफल पनि थप डुवानमा पर्ने विभिन्न जिल्लाहरुबाट रिर्पोटिङ्गमा आइरहेको छ । केन्द्रदेखि तल्लो निकायलाई आ आफ्नो क्षेत्रबाट सक्ने जति राहत र उद्दारको कार्यक्रम तत्कालै सुरु गर्न पनि निर्देशन दिएको छु । अटेरी गर्नेलाई तत्कालै कारवाही गर्छु ।’ यसरी नै बाढीको डुवानमा धानवाली डुब्ने हो भने यो बर्ष खाद्य सुरक्षामा गम्भिर असर पुग्न सक्ने मन्त्री यादबले चिन्ता व्यक्त गरे।

उनकाअनुसार तराई मधेशमा यसपटक खडेरीका कारण निक्कै ढिलो रोपाइँ सुरु भएको थियो। रोपाइँ सम्पन्न नहुँदै अविरल बर्षाका कारण आएको बाढीले धानवाली, तरकारी वाली, माछाको फार्मलाई जलमग्न बनाएको छ । डुवानका कारण शतप्रतिशत तरकारीवाली र माछाको फार्मबाट माछा वगेको जानकारी गराउदै मन्त्री यादबले भने, ‘बाढीका कारण क्षति व्यहोरेका किसानलाई तत्कालै राहत र उद्दारका कार्यक्रम कार्यान्वयनमा ल्याउन केन्द्रियस्तरदेखि तल्लो स्तरका निकायलाई निर्देशन दिएको छु।’

कृषि मन्त्रालयका सचिब डा. सुरोज पोखरेलले रोपाइँ भएको क्षेत्रफल चार—पाँच दिनसम्म डुवानमा परेपनि धानवालीलाई ठूलो क्षति पु¥याउन नसक्ने दावी गरे । उनका अनुसार तराईका किसानले पछिल्लो समयमा डुवान सहन सक्ने जातको धानवाली लगाउन थालेकाले धानवालीतर्फ ठूलो क्षति नहुने मन्त्रालयको ठहर थियो।

मन्त्रालयले बाढीका कारण किसानले व्यहोरेको क्षतिको यकिन तथ्याँक संकलन, किसानलाई तत्काल राहत र उद्दार, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने बिषयमा मन्त्रीको प्रत्यक्ष निगरानीमा रहने गरी आइतबार नै सचिब पोखरेलको संयोजकत्वमा नौं सदस्यीय मन्त्रालयस्तरीय समिति गठन गरेको छ ।

यो समितिमा नेपाल कृषि अनुसन्धान परिषद(नार्क), योजना महाशाखाका सहसचिब, प्रशासन महाशाखाका सहसचिब, खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवद्र्धन तथा वातावरण महाशाखाका सहसचिब, नीति तथा अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका सहसचिब, कृषि विभागका महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकलाई सदस्य तोकिएको छ भने मन्त्रालयको अनुगमन तथा मूल्याकंन महाशाखाका सहसचिबलाई सदस्य सचिबको जिम्मेबारी दिइएको छ।

मन्त्रालयले पाँच वटै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा अध्ययन टोली गठन गरेको छ । यो टोलीलाई तीन भित्रमा बाढी र पहिरोका कारण क्षति भएको खाद्यान्न, माछा, तरकारी, फलफूल र भौतिक पूर्वाधारको यकिन विवरण संकलन गरी मन्त्रालयमा बुझाउन निर्देशनसमेत दिइएको छ।

कृषि बिभागका महानिर्देशक ढिलाराम भण्डारीले बाढीका कारण तरकारी, फलफूल र फार्म र पोखरीमा पालिएका माछा पूर्ण रुपमा बगेर नष्ट भएको जानकारी दिए। बाढी लगक्तै धानवाली, तरकारी वाली र माछासम्बन्धी फैलिने रोगव्याधीको ठूलो प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गर्न लागिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.