तराईका ८० प्रतिशत धानबाली डुबानमा

तराईका ८० प्रतिशत धानबाली डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई-मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई-मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई-मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् ।

‘बाढीका कारण तराई-मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई-मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०-५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९-९९, रौतहट र चितवनमा ९०-९०, कपिलवस्तु र बाँकेमा ८५-८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशतहाराहारी रोपाइँ भएको थियो ।

प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ ।

धानबाली डुबानका कारण यो वर्ष खाद्य सुरक्षामा गम्भीर असर पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री यादवले बाढीका कारण किसानले पनि दीर्घकालीन रूपमा घाटा व्यहोर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. सुरोज पोखरेलका अनुसार बाढीका कारण धानबाली, तरकारीबाली र माछासम्बन्धी फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

कहाँ कति क्षति ?

मन्त्रालयका अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ ।

सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ । रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ ।

रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् ।

१३ अर्बको माछा नष्ट

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टर, धनुषामा ८० करोडको ८ सय हेक्टर, सर्लाहीमा ८० करोडको ८ सय हेक्टर, चितवनमा ६ करोडको ६० हेक्टर, महोत्तरीमा ११ अर्बको एक हजार एक सय हेक्टर र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ।
पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलका अनुसार तराई-मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ ।

राहत, उद्धार केन्द्रीय समिति

मन्त्रालयले बाढीका कारण किसानले व्यहोरेको क्षतिको यकिन तथ्यांक संकलन, किसानलाई तत्काल राहत र उद्धार, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा मन्त्रीको प्रत्यक्ष निगरानीमा रहने गरी आइतबार नै सचिव पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
मन्त्रालयले पाँचै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा टोली गठन गरेको छ । टोलीलाई तीन दिनभित्र बाढी र पहिरोका कारण क्षति भएको खाद्यान्न, माछा, तरकारी, फलफूल र भौतिक पूर्वाधारको यकिन विवरण संकलन गरी मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ ।

तरकारी आपूर्तिमा अवरोध

बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा सामान्य दिनभन्दा आइतबार झन्डै तीन सय ५० मेट्रिक टन कम परिमाणमा हरियो तरकारी आपूर्ति भएको छ । सामान्य दिनमा कालिमाटी बजारमा ६ सय मेट्रिक टन हरियो तरकारी भित्रिन्थ्यो भने आइतबार दुई सय ५० मेट्रिक टन मात्र भित्रियो ।

कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार बाढी र पहिरोका कारण राजधानीलाई जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध हुँदा थोरै परिमाणमा तरकारी भित्रिएको हो । भारतबाट रक्सौल र बेलहिया नाका हुँदै भित्रिएको प्याज, आलु, कागतीलगायत तरकारी मुग्लिङ र हेटौंडा-पालुङ सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा थोरै परिमाणमा तरकारी भित्रिएको हो ।यस्तै, सडक अवरोधका कारण मकवानपुर, धादिङ, चितवन, काभ्रे, सर्लाही, दक्षिणी ललितपुरबाट पनि काठमाडौंमा तरकारी भित्रिन सकेको छैन ।

२० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा
- धानबाली, तरकारी, फलफूल र माछातर्फ ठूलो क्षति
- झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा सबैभन्दा बढी क्षति
- १४ करोडको तरकारी नष्ट
- सञ्चित १२ करोडको खाद्यान्न नष्ट
- १३ अर्बको माछा नष्ट
- उद्धारमा सचिव नेतृत्वको नौ सदस्यीय केन्द्रीय समिति
- तरकारी आपूर्तिमा अवरोध

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.