बाढीग्रस्त क्षेत्रमा बैंकिङ सेवा ठप्प

बाढीग्रस्त क्षेत्रमा बैंकिङ सेवा ठप्प

काठमाडौं : अविरल वर्षापछि आएको बाढीका कारण तराईमा बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ। बाढीका कारण तराई प्रभावित भएपछि विराटनगरदेखि कञ्चनपुरसम्मका बैंक तथा वित्तीय संस्थाले कारोबार गर्न नसकेका हुन्। तराई जलमग्न भएपछि त्यहाँका शाखाबाट हुने कारोबार बन्द गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए।

‘शाखा सञ्चालन गर्न सम्पर्क टुटेको छ, विद्युत् छैन', उनले भने, ‘शाखा सञ्चालन गर्न अझै एक÷दुई दिन लाग्छ।' विद्युत्को सट्टा जेनेरेटर प्रयोग गरे पनि अहिले तराईसँग सम्पर्क टुटेका कारण तुरुन्तै शाखा सञ्चालन गर्न अप्ठ्यारो भएको उनले बताए। बाढीग्रस्त क्षेत्रमा आइतबारदेखि नै बैकिङ सेवा ठप्प छ।

विद्युत्को विकल्पमा जेनेरेटर प्रयोग गरे पनि इन्टरनेटलगायत प्राविधिक कारण बैकिङ सेवा दिन अप्ठ्यारो परेको उनले बताए । एटीएम मेसिनसमेत पानी पसेका कारण सञ्चालनमा आउन नसकेको उनको भनाइ छ।

‘तराई जलमग्न भएपछि बैंकिङ सेवाभन्दा पनि प्राथमिकता जनधनको रक्षा गर्नुभयो र त्यतैतिर लागियो', सेवा लिने र दिने कोही पनि भएनन्', शाहले भने, ‘मंगलबारदेखि ठूला बैंकका शाखा खोल्ने प्रयत्नमा हामी लागिपरेका छौं।' इन्टरनेटसँगको पहुँच जोडिन सके सम्भवतः बुधबारसम्म बैंकिङ सेवा सुचारु गर्न सकिने उनको भनाइ छ । ठूला शाखा सञ्चालन व्यवस्था मिलाइसकेपछि साना शाखा पनि विस्तारै खुल्दै जानेछन्।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका गरी तीन हजार ६९ वटा शाखा छन्। यीमध्ये तराईका २२ जिल्लामा करिब ४० प्रतिशत अर्थात् एक हजार दुई सय २७ वटा शाखा छन्। देशमा करिब १२ लाख शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्। त्यसको ४० प्रतिशतमात्र तराई प्रदेशमा मान्ने हो भने पनि झन्डै चार लाख ८० हजार शाखासहित बैंकहरू प्रभावित भएका छन्। आठ सयभन्दा बढी एटीएम मेसिन बाढीका कारण प्रभावित छन्।

हाल नेपालमा दैनिक अर्बौं रुपैयाँबराबरको कारोबार हुने गरेको छ। यसमध्ये ५५ देखि ६० प्रतिशत कारोबार काठमाडौं उपत्यकामा हुने गरेको छ भने करिब ३० प्रतिशत तराईमा हुने गरेको शाहले बताए। यसको अर्थ तराईमा मात्रै दैनिक २५ देखि ३० अर्ब रुपैयाँको बैंकिङ कारोबार हुने गर्छ। बाढीका कारण कारोबार ठप्प भएको छ । कर्जा र निक्षेप हेर्ने हो भने कुल कर्जाको ४० प्रतिशत तराईकेन्द्रित छ। २० प्रतिशत निक्षेप तराईबाट संकलन हुने गरेको छ।

‘पूर्वका अधिकांश बैंक तथा वित्तीय शाखा बन्द छन्', सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सानिमा बैंकको तराईमा २१ वटा शाखा छन्। त्यसमध्ये अधिकांशमा समस्या परेको छ।' मेगा बैंकका १४ वटा शाखा प्रभावित भएकामा तीनवट बन्द भएका छन्।

‘बाढीका कारण बैंकमा जान सकिएको छैन', सप्तरीका राकेश सिंहले भने, ‘हामी आफ्नो, आफन्तको र पशुचौपायाको ज्यान बचाउन लागेका छौं। घर डुबानमा परेका कारण खाने बस्ने ठेगान छैन, विस्तारै पानीको बहाव कम हुन थालेपछि बैंकको आवश्यकता पर्छ,' उनले भने, ‘घरमा भएको कतिपय अन्न बाढीले बगायो भने कतिपय भिजेर खान नहुने भएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.