मापदण्डविपरीत नदीजन्य वस्तु तस्करी

मापदण्डविपरीत नदीजन्य वस्तु तस्करी

मालाकोट (नुवाकोट): मापदण्डविपरीत नुवाकोटका विभिन्न नदीखोलाबाट व्यापक रूपमा नदीजन्य वस्तुको तस्करी भएको छ । प्रहरी प्रशासनकै मिलेमतोमा व्यापक रूपमा नदीजन्य सामग्रीको तस्करीसँगै कालोबजारीसमेत मौलाएको छ। नुवाकोटका नदीनालाबाट नदीजन्य वस्तु (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन गरी त्यसको चोरी निकासी र तस्करी भइरहेको छ।

त्रिशूली, तादी, सामरी र लिखु खोलासहित अन्य खानीबाट मापदण्डविपरीत रातको समयमा स्काभेटर प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन, चोरी र कालोबजारी बढेको स्थानीयवासी बताउँछन्। नुवाकोटमा दैनिक पाँच करोड रुपैयाँबराबरको नदीजन्य सामग्रीको कारोबार हुने गरेको छ।

नदीमा अवैध रूपमा स्काभेटर प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन नरोकिँदा नदी आसपासको एक हजार रोपनी खेतीयोग्य जमिन कटान हुनुका साथै पाँच सय घरधुरी जोखिममा परेका छन्।

अवैध क्रसरलाई कारबाहीको माग गर्दै विदुर नगरपालिकाको माझीटार, पीपलटार र बेलकोटगढी नपाको मालाकोट घोडघाडका स्थानीयले जिल्ला समन्वय समितिको कार्यालयमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको बेलकोटगढी नपाका मेयर राजेन्द्ररमण खनालले बताए। जिल्ला समन्वय समिति नुवाकोटले असार, साउन र भदौ महिनामा नदीमा कुनै पनि उपकरण प्रयोग गरेर नदीजन्य सामग्रीको उत्खनन बन्द गरेको छ। तर, त्यसको उल्लंघन भइरहेको छ।

नदीमा रातिको समयमा नदीमा अवैध रूपमा स्काभेटरको प्रयोग गरेर बालुवालगायतका सामग्रीको अवैध रूपमा उत्खनन भइरहेको बेलकोटगढी नपा वडा नं. ७ का वडाध्यक्ष हेमनिधी नेपालले बताए। नुवाकोटका नदीमा रातको समयमा ११ बजेदेखि बिहान ४ बजेसम्म अवैध रूपमा एक सयभन्दा बढी स्काभेटरले बालुवा झिक्ने गरेको स्थानीय बताउँछन्।

त्रिशूली, तादी, लिखु, सामरीलगायतका नदीमा जिल्ला समन्वय समितिले असोज १ गतेपछि मात्रै खोला तथा खानीबाट नदीजन्य पदार्थ कानुनअनुसार उत्खनन गर्न पाइने गरी ठेक्का लगाएको भए पनि रातको समयमा नदीबाट एक्साभेटर प्रयोग गरी उत्खनन भइरहेको विदुर नपाका मेयर सन्जु पण्डितले बताइन्। त्रिशूली खोलाको देवीघाटदेखि कोल्पुखोलासम्म र तादी खोलाको देवीघाटदेखि मालाकोट हुँदै थानसिङ, चौघडामा लुकीछिपी बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् भइरहेकोमा स्थानीय तहका जनप्रतिनिधिले समन्वय गरी रोक्नुपर्ने मेयर पण्डितको भनाइ छ।

नुवाकोटमा नौ वटा क्रसरले सन्चालनको अनुमति लिएका छन्। तर, कुनैको पनि नवीकरण भएको छैन। अवैध क्रसर सन्चालन, चेनवाला हेभि इक्युप्मेन्टको प्रयोगले नदीको वहाव परिवर्तन र आसपासका खेतीयोग्य जमिन कटान र मानव वस्ती विस्थापित हुने क्रम बढेको लिखु गाउँपालिका सूर्यमतिका वडाध्यक्ष भोला सेढाइले बताए। नुवाकोटमा २३ वटा बालुवा खानी दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग विकास समितिमा दुई हजार ९६ वटा ढुंगा, गिट्टी, बालुवाको निकासीका लागि दर्ता हुनुले पनि पहाडि संरचना रहेको नुवाकोटमा नदीजन्य वस्तुको अवैध कारोबार भइरहेको पुष्टि हुन्छ।

नुवाकोटमा दर्ता भई सञ्चालित क्रसर तथा बालुवा उद्योगले वातावरणीय प्रभाव मूल्यांकन पूरा गरेका छैनन्। सर्वोच्च अदालतले पुलको पाँच सय मिटर आसपास र नदी किनारको १५ मिटर नजिक स्काभेटर प्रयोग नगर्न दिएको आदेश नुवाकोटमा नियमनकारी निकाय र व्यवसायीले निर्वाध उल्लंघन गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.