वसन्तपुर नौतले दरबार चीनले जीर्णोद्धार गर्दै

वसन्तपुर नौतले दरबार चीनले जीर्णोद्धार गर्दै

काठमाडौं : दुई वर्ष तीन महिनाअघि भूकम्पले जीर्ण बनाएको वसन्तपुरस्थित नौतले दरबार चीनले जीर्णोद्धार गर्ने भएको छ । पाँचौं तलासम्म खासै ठूलो क्षति नपुगेको उक्त दरबारको माथिल्ला चार तलामा बढी क्षति पुगेको छ । चीनले १६ करोड रुपैयाँ खर्चिएर दरबारलाई मौलिक शैलीमै निर्माण गर्ने भएको हो ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौतले उक्त दरबारको मंगलबार जीर्णोद्धारका लागि संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । पुरानै शैलीमा मौलिकता जोगाएर जीर्णोद्धार गर्न मंसिरबाट काम गर्ने गरी भन्दै चीन सरकारले नेपाल सरकारसँग कात्तिकमै सम्झौता गरेको थियो । सम्झौतामा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र चिनियाँ दूतावासका अर्थ तथा व्यापार कन्सुलर पेङ वीबीच हस्ताक्षर भएको थियो । चिनियाँ विज्ञको टोलीले एक महिना लगाएर नौतले दरबारको अध्ययन गरिसकेको जानकारी दिँदै महानिर्देशक दाहालले अन्नपूर्णसँग भने, 'दरबारको भित्र र बाहिर दुवैतिर परम्परागत कला र शैलीको प्रयोग गरी मौलिकता झल्कने हिसाबमा जीर्णोद्धार गर्ने सहमति भएको छ ।'

विभागमा पेस गरेको प्रतिवेदनमा चिनियाँ टोलीले दरबार रहेको क्षेत्रको माटो परीक्षण गरेको थियो । विभिन्न १० स्थानमा ३५ मिटरसम्म गहिरो ड्रिल गरेको र यसबारे थप अध्ययन गर्न ड्रोन क्यामेरासमेत प्रयोग गरेको थियो । शुभारम्भ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले परापूर्वकालदेखि अस्तित्वमा रहेका सम्पदाले पर्यटन क्षेत्रलाई आकर्षित गरेको र दुई देशबीच रहेको सांस्कृतिक सम्बन्धले सम्पदा जीर्णोद्धारमा मद्दत पुगेको बताए । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ समेतको उपस्थितिमा भएको शुभारम्भमा लगानी १६ करोड गर्ने भनिए पनि जीर्णोद्धारको समय तोकिएन । पुनर्निर्माणका क्रममा विभागले परम्परागत सामग्री उपलब्ध गराउने साथै सुपरीवेक्षण गर्नेछ । दाहालले भने, 'नौतले दरबारलाई जस्ताको तस्तै बनाउनेछौं ।'

नुवाकोट र अन्य सम्पदा पनि बन्दै

विभागका महानिर्देशक दाहालका अनुसार चीन सरकारले नुवाकोटस्थित नुवाकोट दरबार पनि पुनर्निर्माण गर्ने भएको छ । तर, के-कति लगानीमा कहिलेसम्म सक्ने गरी कहिले सुरु गर्ने भन्ने टुंगो भने नलागिसकेको उनको भनाइ छ । बौद्धनाथ स्तुपा पुनर्निर्माणपछि केही महिनाअघि नै सञ्चालनमा आइसकेको छ भने विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्तुपाको भने विभिन्न भागको पुनर्निर्माण भइरहेको छ ।

रानीपोखरीको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले आधुनिक निर्माण सामग्रीको प्रयोग गर्दा स्थानीय बासिन्दाबाट विरोध भएपछि पुनः पुरातत्व विभागले पुरानै शैलीमा रानीपोखरीको पुनर्निर्माण गर्ने सहमति भएको थियो । विभागले पाटनमा पनि पुनर्निर्माण प्रक्रिया सुरु गरिसकेको छ भने काठमाडौं उपत्यका संरक्षण परिषद्ले पाटनस्थित योगेन्द्र मल्लको शालिक स्तम्भ राखिसकेको छ । पाटनका चार नारायण मन्दिर, तलेजु, शंखनारायण मन्दिर, आगाम्चे मन्दिर, योगेन्द्र मल्लको पिलरजस्ता ठाउँमा काम भइरहेको पनि विभागले जनाएको छ । ललितपुरको बुङमतिका सम्पदास्थल भने श्रीलंका सरकारले पुनर्निर्माण गर्ने भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.