भारतीयको आन्दोलनले विराटनगर भन्सार ठप्प

भारतीयको आन्दोलनले विराटनगर भन्सार ठप्प

विराटनगर : भारतीय बाढी पीडितले गरेको आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयको काम कारवाही ठप्प भएको छ। विगत पाँच दिनदेखि सीमामा भई रहेको आन्दोलनले भन्सार राजश्व असूली प्रभावित बनेको हो । ठूला मालवाहक गाडी आउन सकेका छैनन् भने नेपालतर्फबाट समेत मालसामान निर्यात ठप्प भएको छ।

गत शनिबार आएको बाढीमा परेर निधन भएका भारतीय नागरिकलाई त्यहाँको सरकारले राहत तथा क्षतिपूर्ति नदिएको भन्दै पाँच दिनदेखि सीमाको जोगबनी नाकामा दिनहुँ प्रदर्शन भई रहेको छ।

बिहार सरकार तथा अररिया जिल्ला मेजिस्ट्रेड कार्यालयले समेत वास्ता नगरेको भन्दै भारतीय नागरिकले नेपाल–भारत सीमाको जोगबनी नाकामा टायर बालेर प्रदर्शन गरिरहेका छन । जसका कारण भारतबाट नेपालतर्फ आउने मालवाहक सवारी आवगमनमा समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका प्रवक्ता दिलिप केसीका अनुसार बाढी प्रभावितको आन्दोलनले भन्सार असूलीमा निकै ठूलो असर गरेको छ। ‘उता दैनिक भई रहेको आन्दोलनले मालवाहक गाडी आउन सकेका छैनन्।

यसले राजश्व असूलीमा ठूलो असर पुगेको छ,’ केसीले भने,‘भारतकै फारबिसगञ्ज नजिकैको सडक भत्किएको र जीर्ण पुलबाट ठूला गाडी पास हुन सक्ने अवस्था नहुँदा थप समस्या भएको छ ।’ जीर्ण पुल तथा भत्किएको सडक मालवाहक गाडी नआउनुको अर्को कारण भएको केसीले बताए ।
साउन २८ गते शनिबारदेखि मालवाहक गाडीहरू सीमापारी रोकिएको तर उताको यार्डमा भएका गाडीहरु भने लगभग सीमासम्म आइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गाडी नआउँदा भन्सार असूली घट्ने क्रम सुरु भएको हो।

दैनिक साढे ६ करोडसम्म राजस्व संकलन गरिरहेको कार्यालयले अहिले मुश्किलले पाँच लाखसम्म संकलन गरिरहेको छ । कार्यालयले २८ गते ४ लाख, २९ गते १ लाख ८७ हजार, ३० गते ३९ लाख र ३१ गते ५३ लाख राजस्व संकलन गरेको थियो । पेट्रोल तथा डिजलका गाडी बाहेक यो नाकाबाट ६० वटासम्म मालवाहक गाडी नेपाल भित्रने गरेका छन । साउनमा भन्सार कार्यालयले २ अर्ब १८ करोड लक्ष्य लिएकोमा १ अर्ब ७० करोड मात्र संकलन गरेको छ । विराटनगर भन्सारले चालु आर्थिक वर्षमा ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

भारत जोगबनी टिकुलिया वस्तीकी सुनिता आयीले बाढी वस्तीमा पसेपछि आफूहरु जोगबनीको रेल्वे स्टेशनमा आश्रय लिएर बस्न बाध्य भएको बताउँदै भनिन्,‘६ जना छोराछोरीसहित रेल्वे स्टेशनमा बसेको पाँच दिन भई सक्यो सरकारले कुनै सहयोग गरेको छैन् ।’ आफूहरु बाँध्य भएर आन्दोलनमा जानु परेको बताइन । अर्का बाढी पीडित मोहम्मद नासिरले सीमामा गएर आन्दोलन गर्दासमेत सरकारको कानमा हावा नलागेको गुनासो गरे । उनले भने,‘सीमामा गएर राँके जुलुस पनि निकाल्यौं तर हाम्रो मागको सुनुवाई नै भएको छैन।’

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालवाहकमध्ये भारतको यार्डमा रहेका गाडीहरू सीमापारिसम्म आइसकेको बताउँदै भने,‘शुक्रबारदेखि भन्सारमा काम पूरै ठप्प हुँदैछ । भन्सार एजेन्टले यार्डमा भएका गाडी जाँचपास गराई रहेका छन तर अब भारततिरबाट आउने क्रम ठप्प भई सक्यो ।’ परासरले सडकको दूरावस्था र जीर्ण भारतीय पुलका कारण पनि ठूला गाडी आउन समस्या भएको र पारि करिब ५ सयकोे संख्यामा मालबाहक गाडी थन्किएर बसेको जानकारी दिए।

जोगबनीका स्थानीय पत्रकार वरुण मिश्राका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ । अररिया जिल्लाका अन्य ग्रामपञ्चायतमा डुबानबा करिब १० हजार घरपरिवार विस्थापित भएका छन् । सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी आन्दोलन गर्न सीमामा आउने गरेको बताउँदै मिश्राले भने,‘जनता आन्दोलित भएपछि नेपाल र भारत दुबैतर्फबाट मालवाहक गाडी आउने क्रम ठप्प भएको छ ।’ उनले भारततर्फ पनि बाढी पीडितको बिजोग भएको बताए। बाढीका कारण जोगबनीसम्म आउने भारतीय रेल्वे सेवा पनि ठप्प भएको छ।

भत्कन लागेको फारबिसगञ्ज जाने बथनाहा नजिककैको पुल मर्मत गराउन र सडकको अवस्था सुधार गर्न भारतीय पक्षको ध्यानाकर्षण गरिने बताउँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले भने,‘यस्तै अवस्था हुने हो भने भन्सार असूली दर शून्यमा झर्न डर भयो ।’ अहिले जोगबनी नाकाबाट फलफूल तथा तरकारी बोकेका हलुवा सवारीमात्र आउने गरेको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.