६ जीवन बिमा कम्पनी थपिए

६ जीवन बिमा कम्पनी थपिए

काठमाडौं : नेपालमा ६ वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । हालै थपिएका ६ कम्पनीसहित अब जीवन बिमा कम्पनीको संख्या १५ पुगेको छ । बिमा समितिले असार र साउनमा दुई अर्ब चुक्ता पुँजी पुर्‍याएका ६ वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । समितिले ज्योति, आईएमई, युनियन, रिलाइन्स, रिलायबल र सन नेपाल लाइफ इन्सुरेन्सलाई व्यवसाय सञ्चालन अनुमति दिएको हो ।

असार २० र साउन १८ गते गरी दुईपटक जीवन बिमा सञ्चालन अनुमति दिएको बिमा समिति नियमन विभाग प्रमुख शाम्बराज लामिछानेले जानकारी दिए । समितिबाट अनुमति पाएका आईएमई र युनियन लाइफ इन्सुरेन्स भने तत्कालै सञ्चालनमा आउने भएका छन् भने अन्यले व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिरहेको उनले बताए । इजाजतप्राप्त गरिसकेका कम्पनी अब भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् ।

‘समितिमा करिब एक दशकअघि १२ वटा जीवन बिमा कम्पनीको सञ्चालनका लागि आवेदन परेको थियो', उनले भने, ‘त्यसमध्ये १० वटालाई अर्थ मन्त्रालयले बिमा व्यवसाय सञ्चालन गर्न सहमति दिएको छ । हामीले तिनै १० जीवन बिमा कम्पनीमध्ये समितिले तोकेको मापदण्ड पुर्‍याउने ६ वटा कम्पनीलाई नौबुँदे सर्तसहित व्यवसाय अनुमति दिएका छौं ।' दुई अर्ब चुक्ता पुँजी पुर्‍याउने कम्पनीले केही सर्त पूरा गरेर बिमा व्यवसाय सञ्चालन गर्न सक्ने उनले बताए । स्ट्यान्डर्ड लाइफ र युनिलाइफले भने बिमा व्यवसाय सञ्चालनका लागि समितिले तोकेको मापदण्ड पूरा गर्न नसक्दा अनुमति इजाजत पाएका छैनन् ।

समितिबाट व्यवसाय सञ्चालनका लागि इजाजत पाएका कम्पनीले बढीमा ६ महिनाभित्र व्यवसाय सञ्चालन गर्न आवश्यक पूर्वाधार, कर्मचारी व्यवस्थापनसहित बिमकको मुख्य कार्यालय रहने स्थान तथा सम्पूर्ण भौतिक संरचना भएको विवरण समितिमा पेस गर्नुपर्नेछ । व्यवसाय सञ्चालन गर्न समितिले तोकेका योग्यता पूरा गरेका व्यक्तिबाट कम्तीमा जोखिमांक विभाग, पुनर्बिमा विभाग र दाबी विभाग प्रमुखको नियुक्त गरेको समितिलाई जानकारी दिनुपर्नेछ ।

व्यवसाय सञ्चालन गर्न बिमकको व्यावसायिक नीति खुल्ने गरी जोखिमांकन, ग्राहक सेवा, बजार प्रवद्र्धन र पुनर्बिमासम्बन्धी दिग्दर्शन समितिमा पेस गर्नुपर्नेछ । यसका साथै सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम बनाई समितिमा पेस गर्नुपर्नेछ ।

अनुमति पाउन बाँकी ४ कम्पनीमा सानिमा लाइफ, स्टार लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्स छन् । यी कम्पनीमा प्रवद्र्धक धेरै छन् । ‘यसकारण उनीहरू पुँजी जुटाउन लागिपरेका छन्', लामिछानेले भने, ‘ समितिले दिएको समय सीमाभित्र बाँकी कम्पनीले पनि अनुमति पाउनेछन् ।' बिमा समितिले जेठ २ मा सूचना जारी गरेर ९० दिनभित्र कम्पनी सञ्चालन गर्न योजना बुझाउन निर्देश गरेको थियो ।

हालै लाइसेन्स पाएकासमेत गरी नेपालमा जीवन बिमा कम्पनीको संख्या १५ पुगेको छ । हाल नौवटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । यसअघिका नौ जीवन बिमा कम्पनीमध्ये राष्ट्रिय बिमा संस्थानबाहेक अन्य कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । सेयर बजारमा बिमा कम्पनीको प्रतिसेयर मूल्य अन्य वित्तीय संस्थाको तुलनामा उच्च छ ।

बिमा समितिले आगामी असार मसान्तसम्म जीवन बिमा कम्पनीका लागि दुई अर्ब र निर्जीवन बिमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी पु‍र्‍याउन निर्देशन दिएको छ । नयाँ आउने कम्पनीले पनि समितिको निर्देशनअनुसार चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । नयाँ कम्पनीले तोकिएबमोजिम चुक्ता पुँजी पुर्‍याएपछि समितिले सञ्चालन अनुमति प्रदान गरेको हो । सञ्चालनमा रहेका कम्पनीमध्ये नेपाल लाइफ इन्सुरेन्सले मात्र समितिले तोकेबमोजिमको चुक्ता पुँजी पुर्‍याएको छ भने अन्यले बोनस, हकप्रद र मर्जर प्रक्रियाबाट पुँजी वृद्धि गर्ने कार्ययोजना समितिमा पेस गरेका छन् । सिटिजन्स लाइफ इन्सुरेन्स र स्टारलाइफ इन्सुरेन्सले भने समितिले सञ्चालन योजना पेस गरिसकेका छन् । योजना पेस गर्न भदौ पहिलोसातासम्मको समय दिइएको छ ।

नयाँ व्यवसाय, पुरानै व्यवसायी नेपाली व्यावसायिक क्षेत्रमा स्थापित व्यवसायीले नै नयाँ व्यवसायका रूपमा बिमा क्षेत्र रोजेका छन् । नयाँ बिमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षदेखि बैंकर्स, विभिन्न क्षेत्रका उद्यमी व्यवसायी प्रवद्र्धक छन् ।

यस्ता छन् प्रवद्र्धक

-ज्योति लाइफ इन्सुरेन्स कम्पनी बोधप्रसाद त्रिपाठी, रमेश चोखानी, सुरज अधिकारी, सर्मिला श्रेष्ठ-आईएमई लाइफ इन्सुरेन्स चन्द्रप्रसाद ढकाल, ग्लोबल बैंक, ईश्वरप्रकाश जोशी, पवनकुमार अग्रवाल, ज्ञानबहादुर जीसी, विष्णुप्रसाद उपाध्याय, जीवनबाबु श्रेष्ठ-रिलायबल लाइफ इन्सुरेन्स राधेश्याम अग्रवाल, मोहन उपाध्याय लोहनी, पुरुषोत्तम पौड्याल, रिलायबल इन्भेस्टमेन्ट, राजनसिंह भण्डारी -रिलाइन्स लाइफ इन्सुरेन्स पवनकुमार अग्रवाल, मनोजकुमार अग्रवाल, जगदीशकुमार अग्रवाल, अशोककुमार तोदी, सिद्धार्थ बैंक र तारा चन्द्र केडिया -युनियन लाइफ इन्सुरेन्स सुलभ अग्रवाल, शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल, सावंर मल अग्रवाल -सन नेपाल लाइफ इन्सुरेन्स राजेन्द्र शाक्य, सत्यनारायण कयाल, पवनकुमार वंशल, सुशीलकुमार धुरका, प्रमोद अग्रवाल, पुष्करभक्त शर्मा, निता शर्मा

अनुमति पाउने क्रममा रहेका बिमा कम्पनी

-सिटिजन लाइफ इन्सुरेन्स ः प्रदीपजंग पाण्डे, वीरेन्द्रबहादुर बस्नेत, कैलाशप्रसाद सिरोहिया, विकास जबरा, आङछिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, सुधीरबाबु खत्री, ताराचन्द्र खेतान, पशुपति मुरारका, रामेश्वर थापा
-स्टार लाइफ इन्सुरेन्स ः नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स, भवानीभक्त जोशी, नरेशबहादुर मल्ल, शेरबहादुर पाण्डे, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे
-सानिमा लाइफ इन्सुरेन्स
ः बद्रीप्रसाद ओझा, अरुणकुमार ओझा, गोपालप्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, वीरेन्द्रप्रसाद महतो
-महालक्ष्मी लाइफ इन्सुरेन्स ः मनोरञ्जन रमण शर्मा, मोहनराज जोशी, दीपकराज काफ्ले, रमेशकुमार भट्टराई, उमेशलाल श्रेष्ठ, रविकुमार टिवडेवाला, ताराचन्द्र खेतान
स्रोत : बिमा समिति


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.