देश खोज्दै जाँदा अमेरिकामा
प्रकाश आङदेम्बे निर्देशित फिल्म 'देश खोज्दै जाँदा' मस्टर्डसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अफिसियल छनोट भई स्क्रिनिङ हुने भएको छ । उक्त फेस्टिभलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदा यही भदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीनदिने फिल्म फेस्टिभलमा यही अगस्ट १९ शनिबार बिहान १० बजेदेखि देश खोज्दै जाँदा स्क्रिनिङ हुनेछ ।
फेस्टिभलमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका फिल्महरू छनोटमा परेको आयोजकले जनाएको छ । स्क्रिनिङमा चलचित्रको पोस्टप्रोडक्सन÷आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुनेछन् ।
यसअघि 'दादा साहेब फिल्म फेस्टिभल'मा टप सेभेनसम्म पुग्न सफल यस फिल्म दि कर्निस कलेज अफ दि आर्टस वासिङटन-अमेरिका, युनिभर्सिटी अफ तास्मानिया-अस्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अस्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी- दि अन्ने फ्रांक प्रोजेक्ट २०१५-न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज-डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले-नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर-दि अन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्कजस्ता युनिभर्सिटी र फिल्म फेस्टिभलहरूमा सहभागिता जनाइसकेको छ ।
भुटानी शरणार्थीहरूको जीवन भोगाइलाई यथार्थपरक रूपमा उतारिएको फिल्म भुटानी शरणार्थीहरूको शिविरनजिकै दमकमा केही दिनअघि प्रिमियरसमेत गरिएको छ । निकै चर्चा कमाउन थालेको यस फिल्ममा भुटानी शरणार्थीहरूको शिविर बसाइअवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ । फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मीना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरिता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, सञ्जय लामाको छायांकन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । त्यसैगरी श्रवण मुकारुङको गीत आभासको संगीत र स्वरूपराज आचार्यको गायन रहेको छ ।