सदनमा अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरूसँग सघनरूरुपमा छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो।
बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता प्रकाशशरण महतले बताए। उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए।
त्यस्तै बैठकमा सरकारको कामका बारेमा समेत मन्त्रीहरूले जानकारी गराएका थिए। प्रवक्ता महतले विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरी छलफल गर्ने बताए। उनले संविधान संशोधनको विषयलाई छिटो अघि बढाउनका लागि सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको उल्लेख गरे।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिए। अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।
प्रतिक्रिया दिनुहोस !
