चुनदेवीबाट कांग्रेस इतर पक्ष सक्रिय

चुनदेवीबाट कांग्रेस इतर पक्ष सक्रिय
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ । संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै राजनीतिक गतिविधिलाई तीव्र बनाएको छ भने पार्टी एकताको पहल जारी राख्ने प्रतिबद्धतासँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत अघि बढाएको छ ।

सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवीस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेपछि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । बैठकमा विशेष महाधिवेशनयता भएका राजनीतिक घटनाक्रम, संस्थापन पक्षसँग भएका संवाद, आगामी महाधिवेशनको तयारी तथा पार्टीभित्रको एकताबारे विस्तृत छलफल भएको थियो ।

बैठकमा नेता खड्काले पार्टी एकतालाई प्राथमिकतामा राखेर आफूहरूले संस्थापन पक्षसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । उनले १४औं महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट बाहिरिएका १ सय ११ जना नेतालाई केन्द्रीय समितिमा समायोजन गर्न प्रस्ताव गरिएको पनि बैठकमा जानकारी गराए ।

उपसभापति विश्वप्रकाश शर्मासँग सातबुँदे प्रस्तावका विषयमा लिखित रूपमा संवाद भएको जानकारी दिँदै खड्काले ब्रिफिङ गरेका थिए, ‘मलाई र डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने प्रस्ताव आएको भए पनि मैले त्यो प्रस्तावलाई अस्वीकार गरेकै हो । किनभने पार्टीभित्र सम्मानजनक राजनीतिक सहमति र संस्थागत एकता महत्त्वपूर्ण भएकाले व्यक्तिगत पदको विषयलाई प्राथमिकता दिइनँ ।’ 

बैठकमा संस्थापन पक्षसँगको पछिल्लो संवाद, क्रियाशील सदस्यता अद्यावधिक, केन्द्रीय समितिको समायोजन र महाधिवेशनको तयारीबारे पनि समीक्षा गरिएको थियो । खड्काले पार्टीभित्र भएका सम्पूर्ण संवादको जानकारी नेताहरूलाई गराउँदै आगामी दुई–तीन दिनभित्र थप छलफल गरी साझा निष्कर्षमा पुग्ने बताएका थिए ।

नेता विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोल्नु कुनै नौलो कुरा नभएको बताए । ‘सम्पर्क कार्यालय खोल्छौं त हामीले भनेकै थियौं । विगतमा पनि अर्को पक्षले यस्ता कार्यालय खोलेकै हुन् । यो कुनै ठूलो कुरा भएन,’ उनले भने, ‘हामीले गर्न लागेको राष्ट्रिय सम्मेलनमा आएका कार्यकर्ता साथिहरूले जे भन्नुहुन्छ हामी त्यही निर्णय लिन्छौं ।’

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले कांग्रेसलाई पुनः मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको बताए । ‘कांग्रेसलाई आगामी दिनमा थप मजबुत, थप एकताबद्ध र जनविश्वास प्राप्त पार्टीका रूपमा अघि बढाउने हाम्रो साझा प्रतिबद्धता हो । कांग्रेस विगतमा पनि देशको पहिलो पार्टी थियो । अहिले केही खस्किएको अवस्था भए पनि सबै मिलेर पुनः देशको सबैभन्दा ठूलो पार्टी बनाउने लक्ष्यका साथ अघि बढ्नेछौं,’ विश्वकर्माले भने ।

 विश्वकर्माले पार्टीलाई थप सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एक हुनुपर्नेमा जोड दिँदै साउन ६ गते बीपी स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाउन लागिएको बताए । उनले भने, ‘१५औं महाधिवेशनको कार्यतालिका, सम्पर्क कार्यालयका गतिविधि र आगामी रणनीतिबारे थप निर्णय हामी मंगलबारको बैठकबाट गर्छौं ।’ विश्वकर्माले सभापति गगन थापाका पछिल्ला अभिव्यक्तिले पार्टी एकतामा अपेक्षित सहयोग नपुगेको टिप्पणी गर्दै संस्थापन पक्षले लचिलो भूमिका नलिए कांग्रेसका लागि वैकल्पिक राजनीतिक रणनीतिबारे पनि छलफल भइरहेको बताए ।

सभापति गगन थापाले भने खड्का–कोइराला पक्षले अघि सारेका दुई मुख्य प्रस्ताव विधानअनुसार कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेका छन् । उनले १ सय ११ जनालाई स्वतः केन्द्रीय सदस्य बनाउने तथा क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी गराउने प्रस्ताव वैधानिक र व्यावहारिक दुवै दृष्टिले सम्भव नभएको बताएका छन् । थापाले महाधिवेशन निष्पक्ष, पारदर्शी र सबैको सहभागितामूलक बनाउन सदस्यता, निर्वाचन तथा अनुशासन समिति लगायतका संरचनामा सबै पक्षलाई समेट्न आफू तयार रहेको बताएका छन् । महाधिवेशनको कार्यतालिका, प्रक्रियागत विषय र निष्पक्षताका सवालमा खुला संवाद गर्न सकिने उनको भनाइ छ ।

इतर पक्ष राष्ट्रिय भेला तयारीमा
 संस्थापन इतर पक्ष भने संस्थापनसँगको सहमति क्रमशः कमजोर बन्दै गएको निष्कर्षसहित राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा जुटेको हो । साउनको पहिलो साताभित्र राष्ट्रिय भेला बोलाएर आगामी राजनीतिक रणनीति तय गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

कांग्रेस नेता एनपी साउद भने १५औं महाधिवेशनको तयारीका लागि नै सम्पर्क कार्यालय खोलिएको बताउँछन् । उनी भन्छन्, ‘हामीले यो सम्पर्क कार्यालय १५ औं महाधिवेशनको तयारीका लागि नै खोलेका हौं । हामी छिट्टै राष्ट्रिय सम्मेलन पनि गर्दै छौं ।’ अर्कै पार्टी खोल्ने उद्देश्यले पनि यो कार्यालय खोलिएको हो ?   भन्ने प्रश्नमा उनले भने, ‘यो विषय अहिले हामीले भन्न सक्दैनौं । यसकै लागि के गर्ने ?   के नगर्ने भन्ने विषयमा राष्ट्रिय सम्मेलनलेनै तय गर्छ ।’

कांग्रेसले असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थापन र संस्थापन इतर पक्षबीच एकातिर संवाद जारी रहेको छ भने अर्कोतर्फ दुवै पक्षले आफ्नो संगठनात्मक तयारीलाई पनि तीव्र बनाएका छन् । यसले कांग्रेसभित्र महाधिवेशनअघिको राजनीतिक धु्रवीकरण थप स्पष्ट बन्दै गएको संकेत गरेको छ । 

सोमबारको छलफलमा खड्कासहित शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशरण महत, गोमा भट्टराईलगायत नेताहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.