यी हुन् मेलिनाका 'फेबरेट' पाँच
नेपाली पाश्र्वगायनमा अहिले सर्वाधिक रुचाइएकी गायिकामध्येमा पर्छिन् मेलिना राई । उनले स्वर दिएका दर्जनौं गीत श्रोतादर्शकले अत्यधिक रुचाएका छन् । उनमा साँच्चिकै मिठासपन छ । १२ वर्षको उमेरमा पहिलोपटक 'हिमालको काख' बोलको गीत रेकर्ड गराएकी मेलिनाले त्यसयता गायनलाई निरन्तरता दिँदै आएकी छन् । चलचित्र 'नाइँ नभन्नु ल ३'मा समेटिएको 'कम्मरमाथि पटुकी पटुकीमाथि घैला' बोलको गीतबाट चम्किएकी उनले गायनभन्दा अन्य कुरा कहिल्यै कल्पना गरिनन् ।
दार्जिलिङमा जन्मेकी मेलिनाको पुख्र्यौली घर खोटाङ हो । तर, उनी काठमाडौंमै हुर्केकी हुन् । छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा आफूलाई सफल गायिकाका रूपमा उभ्याउन सफल मेलिना भन्छिन्, 'मैले बुवाबाट सांगीतिक ज्ञान हासिल गरेकी हुँ । उहाँको गाइडेन्सका कारण संगीतभन्दा अन्य कुरा सोच्नै परेन । श्रोतादर्शकले पनि मेरो स्वर रुचाएकाले म अहिले यो स्थानसम्म आइपुगेकी हुँ ।' मेलिनाको विचारमा 'संगीत कलाको पनि कला' हो । नेपालमात्रै होइन, विश्वमै यसको ठूलो स्कोप छ ।
मेलिना जति सुन्दर छिन्, त्यत्तिकै शालीन पनि । गीतसँगै उनको रूपको चर्चा पनि उत्तिकै हुन्छ । सांगीतिक कार्यक्रमको सिलसिलामा स्विट्जरल्यान्ड, जर्मनी, बेलायत, बेल्जियम, नेदरल्यान्ड, दक्षिण कोरिया, हङकङ, इजरायल, मलेसियालगायत विभिन्न मुलुक पुगिसकेकी उनलाई सात समुद्रपारि आफ्ना गीत मन पराउने हजारौं फ्यान पाउँदा अत्यन्तै खुसी लाग्छ । 'यो संगीतको शक्ति हो', उनको भनाइ छ । मेलिनाले गाएका गीत मन नपराउने त कमै होलान् तर आफूले गाएकामध्ये उनी स्वयंलाई चाहिँ कुनकुन गीत मन पर्छ त ?
१. कम्मरमाथि पटुकी
मलाई स्थापित गराउने गीत यही हो । चलचित्र दर्पण छायाँको लहनाले जुरायो कि पछि लामो समयसम्म त्यस्तै फ्लेभरको हिट गीत आउन सकेन । त्यसपछि श्रोतामाझ आएको हिट गीत यही हो । यसमा एकनारायण भण्डारीको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ ।
२. शिरैमा शिरबन्दी
चलचित्र हाउ फन्नीमा समेटिएको शिरैमा शिरबन्दीमा शब्द संगीत नै वसन्त सापकोटाको छ । यसको मेलोडी मलाई असाध्यै मन परेको हो । गीत रेकर्ड गर्दै खेरि यो गीतले केही गर्छ भन्ने मलाई लागेको थियो । गीतमा गरिएको कोरियोग्राफी र अभिनय पनि उत्कृष्ट छ ।
३. पिरतीको डोरी
पिरतीको डोरीमा विजेता लिम्बूको शब्द र ताराप्रकाश लिम्बूको संगीत छ । यो मलाई मन पर्ने गीतमध्येमा पर्छ । यो गीत टिनएजर र युथलाई केन्द्रित गरेर तयार भएको छ । श्रोतादर्शकले पनि त्यत्तिकै मन पराउनुभएको छ ।
४. खाएको कसम
मलाई मन पर्ने गीतमध्ये खाएको कसम पनि पर्छ । यो गीतमा बद्री पाण्डेको शब्द संगीत छ । सुरुमा आकर्षण गर्ने त गीतको शब्दले नै हो । यो गीत त्यति हिट नभए पनि सुन्नेजति सबैले प्रशंसा गर्नुभएको छ ।
५. लेक फुल्ने लालीगुराँस
उत्तमजंग लिम्बूको शब्द संगीत रहेको यो गीत मेरो आफ्नै एल्बम मेलिनामा राखेकी छु । एल्बम आइसकेको छैन । यसले ९० को दशकतिर राजेश हमाल, करिश्मा मानन्धरले अभिनय गर्ने चलचित्रको गीतको जस्तो आभास दिन्छ ।