कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

काठमाडौं : ‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका सिंह १६ महिनाअघि मात्रै रोजगारीका लागि कोरिया पुगेका थिए ।

२५ वर्षीय सिंह होइसंगस्थित बंगुर फार्मनजिकैको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । सिंहले आत्महत्या गरेको एक दिनअघि मात्रै पर्वतका केशव श्रेष्ठले पनि आत्महत्या गरेका थिए ।

 

यी त केही प्रतिनिधि घटना मात्र हुन् । सन् २००८ देखि हालसम्म ईपीएस भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया पुगेका सिंह र श्रेष्ठजस्तै १४ जना नेपालीले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी कृषिमा लागेका कामदार छन् । आत्महत्या गर्नेमध्ये अधिकांशले पासो लगाउने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ ।

सन् १९८० देखि नेपालबाट रोजगारी र विभन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका छन् । सरकारले सन् २००७ मा कोरियासँग श्रम सम्झौता गर्दै २००८ देखि कामदार पठाउँदै आएको छ । अहिलेसम्म ४४ हजारको हाराहारीमा ईपीएस भाषा परीक्षा पास गरी कामका लागि कोरिया पुगेका छन् ।

यसबाहेक पनि रोजगारी र विभिन्न काममा लागि कोरिया पुगेका नेपालीले आत्महत्या गरेको अंकुर नेपालले जनाएको छ । अंकुर नेपालका अनुसार अहिलेसम्म कोरियामा ३६ जना नेपालीले आत्महत्या गरिसकेका छन् । ईपीएस भाषा परीक्षा पास गरेर सन् २००८ देखि कोरिया पुगेका नेपालीमध्ये अहिलेसम्म ७६ जनाको मृत्यु भएको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए ।जसमा आत्महत्या गर्नेको संख्या १६ छ भने सुतेकै अवस्थाका मृत्यु हुनेको संख्या १७ छ ।

कामको बोझले मानसिक तनाव र लाखौं आम्दानी गर्ने सोचले कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेका हुन् ।

यसबाहेक कोरिया पुगेका कामदारमध्ये सातजनाको सडक दुर्घटनामा मृत्यु भएको छ । अन्य व्यक्तिको संलग्नतामा दुईजनाको हत्या भएको छ भने स्वभाविक रूपमा मृत्यु हुनेको संख्या एक छ । कार्यस्थलमा मृत्यु हुनेको संख्या नौ छ भने २६ जना नेपालीको मृत्युको कारण खुल्न सकेको छैन । सन् २०१७ को जुलाई महिनामा मात्रै तीन नेपालीले कोरियाका आत्महत्या गरेका थिए ।

अंकुर नेपालमा कोरियामा सीप आर्जन गरी नेपाल फर्किएर विभिन्न काम गरिरहेका व्यक्ति आबद्ध छन् । यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ७.६९ र १५ प्रतिशत बिरामी भई मृत्यु हुने गरेको अंकुर नेपालको भनाइ छ । अंकुरले गरेको अध्यनमा सबैभन्दा बढी ३० प्रतिशत कामदारको मृत्यु सुतेकै अवस्थाका र २८ प्रतिशतले आत्महत्या गरेको देखाएको छ ।

आत्महत्या नै किन ?
कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढी भएको अध्ययनले देखाएको छ । लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेको खतिवडा बताउँछन् । कतिपय अवस्थामा पारिवारिक तनावले पनि आत्महत्या गर्ने गरेको उनले बताए ।

नेपालमा काम गर्ने बानी नभएका तर कोरिया पुगेर अति संवेदनशील क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढी भएको उनको दाबी छ । यसैगरी विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ । भाषा, संस्कृति तथा खानपान आफूसुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताको दुव्र्यवहारका कारण कामदारले आत्महत्या गरेको हुन सक्ने खतिवडाको भनाइ छ ।

यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरुपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन पनि नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको उनले बताए ।

सुतेको अवस्थामा मृत्यु हनेको संख्या बढ्नुमा अध्यधिक मदिरा सेवन रहेको खतिवडाको भनाइ छ । यसबाहेक नियमित स्वास्थ्य परीक्षण नगर्ने, व्यायामको अभाव र अध्यधिक चिसोबाट एक्कासि तातो वा तातोबाट चिसोमा बस्दा पनि सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि सरकारले कोरिया पठाउने तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामदार भाषा परीक्षाको भरमा मेसिन चलाउने काममा संलग्न हुँदा कार्यस्थलमै मृत्यु हुने गरेको पूर्व श्रम सहचारी अनिलकुमार गुरुङ बताउँछन् । कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरणका लागि नेपाल तथा कोरिया सरकार र परिवार सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ । मानसिक रूपमा कमजोर भएका र औषधि प्रयोग गरिरहेकालाई कोरिया पठाउन नहुने गुरुङको भनाइ छ ।

बढ्दो मृत्युका घटनालाई ध्यानमा राख्दै शाखाले कोरियाको एचआरडीसँग त्यहाको ‘हेन्थ एन्ड सेफ्टी एक्ट’ मा परिवर्तन गर्न आफूहरूले पहल गरिरहेको खतिवडाको भनाइ छ । त्यसबाहेक नेपालले आफ्नो तर्फबाट परीक्षा प्रणालीमा सुधार गर्ने तथा जानुभन्दा पहिले दिइने शिक्षालाई प्रभावकारी बनाउने खतिवडाले जानकारी दिए ।

नेपाली कामदारको मृत्युलाई कोरिया सरकारले पनि गम्भीर रूपमा लिएको नेपालका लागि एचआरडी कोरियाका निर्देशक किम की वकले बताए । नेपाली कामदारको विषयमा अहिले विभिन्न तवरबाट आइरहेका सूचना नेपालका लागि भविष्यमा नकारात्मक हुन सक्ने उनको भनाइ छ । यसका लागि दुवै पक्षले समयमै ध्यान नदिने हो नेपालीले पाउँदै आएको रोजगारी पनि गुम्न सक्ने वकको भनाइ थियो ।

‘म नेपालमा आएर जीवन गुजारा गरिरहेको छु’, उनले भने, ‘नेपालीलाई पनि कोरियामा गएर जीवनयापन गर्न मलाई नेपालमा जति असहज छ त्योभन्दा बढी छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.