शिक्षा विभागका पाँच बालकृति प्रकाशित
काठमाडौं : शिक्षा विभागको प्रारम्भिक बालविकास शाखा सानोठिमी भक्तपुरले बालबालिकाको समग्र विकासका लागि पाँचवटा कृति प्रकाशित गरेको छ । 'बाँदर बन्ने रहर', 'सुरजको साइकल', र 'जुली र लिली' नामका कथा संग्रह र 'हट् घोडा हट्' र 'बुद्धिमान लोखर्के' चित्रकथा कृति छन् ।
'बाँदर बन्ने रहर' मा गोपीकृष्ण ढुंगानाको 'अरुणको अनुहार', तेजप्रकाश श्रेष्ठको 'छाउरो र चुलबुले न्याउरो', प्रभा भट्टराई आचार्यको 'भकुल्ले र केरा', भुवनहरि सिग्देलको 'बाँदर बन्ने रहर', डा. रामचन्द्र लम्सालको 'सुँगाको जुक्ति', शान्ता गौतमको 'सरस्वती पूजा', विमलेन्द्र मि श्रको 'मनोज र सुनौलो माछा', सविता दंगालको 'बुद्धिमान र उजेली' र ज्ञानी महर्जनको 'पुन्टेको कथा' शीर्षकमा नौवटा बालकथा छन् ।
'सुरजको साइकल' मा आईपी अधिकारीको 'खरायोले फेरि हार्यो !', जयन्ती स्पन्दनको 'सानीले कुरो बुझिन्', तुलसीहरि कोइरालाको 'हजुरबुबाको लुतो', देवीप्रसाद घिमिरेको 'परिवर्तन', पुण्यप्रसाद घिमिरेको 'खरायोको घर', माधव सयपत्रीको 'पानीभित्र आगो', डा. विष्णु केसीको 'सुरजको साइकल', विश्व देवकोटाको 'कुखुराको बैठक' र शारदा पराजुलीको 'जोन स्कुल जाने भयो' शीर्षकमा नौवटै बालकथा छन् ।
'जुली र लिली' मा उद्धवप्रसाद प्याकुरेलको 'पुतलीको बिहे', उमा घिमिरेको 'मुनीको चकचक', प्रमोद प्रधानको 'जुली र लिली', राममणि दुवाडीको 'मित्रताको फल', श्रमिक बरालको 'काग र रोटी', डा. सबिना श्रेष्ठको 'साथीहरूको साथ' र हरि आत्रेयको 'डली र सुरी' सातवटा बालकथा छन् । 'हट् घोडा हट्' नामको चित्रकथा कृतिमा तिलकप्रसाद सापकोटाको 'हट् घोडा हट्' र शान्ता दाहालको 'स्यालहरूको कथा' छन् भने 'बुद्धिमान लोखर्के'मा देविका प्रधानांगको 'रमाइलोको खोजी' र हरि खनालको 'बुद्धिमान लोखर्के' नामका सचित्र बालकथा छन् ।
बालविकास शाखाका प्रमुख हरि खनालसँगै नारायणकृष्ण श्रेष्ठ र हरिभक्त पौडेलले सम्पादन गरेका पाँचवटै कृतिमा भण्डारी खहरे र गोविन्द विमलीले चित्र बनाएका हुन् । फरक–फरक पात्र र परिवेशमा लेखिएका यी कथाहरूले बालबालिका र उनीहरूलाई यी कथा सुनाउने अभिभावक र शिक्षकहरूलाई समेत फलदायी हुने सम्पादन मण्डलको विश्वास छ ।
कथाहरू पूर्ण रूपमा प्रारम्भिक बालविकास विशेषत: चार वर्षका बालबालिकाकालाई केन्द्रित गरिए पनि तीनदेखि पाँच वर्षकालाई पनि हुनेगरी तयार पारिएको छ । कतिपय कथाले माथिल्ला कक्षाका बालबालिकालाई पनि विभिन्न ज्ञानको क्षेत्र फराकिलो पार्न उत्तिकै मद्दत पुग्ने देखिन्छ ।