सुपारी छाडेर मरिच तस्करी

सुपारी छाडेर मरिच तस्करी

विराटनगर : लामो समयदेखि नेपालबाट भारततर्फ सुपारी कटाउने धन्दामा संलग्न रहेकाहरुले भारततर्फ कालो मरिच तस्करी गर्न थालेको पाइएको छ।
सीमा नाकामा प्रहरीले कडाई गर्न थालेपछि सुपारी तस्करीमा संलग्नको ध्यान पछिल्लो समय मरिचतर्फ केन्द्रीत हुन थालेको हो।

मसलाका रुपमा प्रयोग हुने मरिच भारत पुर्‍याउँदा प्रति किलो तीन सय ७५ रुपैयाँसम्म फाइदा हुने भएपछि सुपारी धन्दामा संलग्नहरुले अहिले मरिच तस्करीमा सक्रियता बढाएको प्रहरीको निस्कर्ष छ। नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा नेपाल-भारत सीमावर्ती क्षेत्रबाट दैनिक रुपमा मरिच बरामद हुन थालेपछि मरिचको तस्करी हुन थालेको नयाँ तथ्य बाहिर आएको हो। प्रहरीले तेस्रो मुलुकबाट ल्याएर मरिच भारततर्फ तस्करी गर्ने गरिएको पत्ता लगाएको छ।

विशेष गरेर तस्करीमा संलग्नले भारततर्फ मरिच लैजान जोगवनी नाकाको प्रयोग गर्ने गरेका छन्। विराटनगरको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौला र सीमा प्रहरी चौकीका प्रमुख नायव निरीक्षक दीपक यादव नेत्रृत्वको संयुक्त टोलीले महिलाको शरीरमा ‘फिट'गरेर एवं प्लाष्टिकको झोला र साइकल, रिक्सा लगायतका साधन प्रयोग गरेर मरिच लैजादै गर्दा दुई साताको अवधिमा एक सय किलो भन्दा बढी मरिच बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ। मरिच तस्करीमा संलग्न छ जना महिलालाई पक्राउ गरेर कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ। कार्यालयले मरिच लिलामी गर्ने र मरिच ओसारपसार गर्नेहरुलाई भने धरौटीमा छाड्ने गरेको छ।

 

प्रनानि यादवले पहिले सुपारी तस्करीमा संलग्नहरु त्यो धन्दा छाडेर अहिले मरिच तस्करीमा संलग्न हुन थालेको पाइएको बताए। ‘मरिच तस्करीमा संलग्न भएका कारण पक्राउ गरिएकाहरु पहिले सुपारी तस्करीमा संलग्न रहेको पाइएको छ,'उनले भने,‘सुपारी तस्करीमा प्रहरीले कडाई थालेपछि उनीहरु अहिले मरिच तस्करीमा संलग्न हुन थालेको पाइएको हो।'यादवका अनुसार तेस्रो मुलुकबाट ल्याएर तस्करीमा संलग्नले नै मरिच भारत लैजाने गरेको पाइएको छ।

प्रनि निरौलाले मरिच तस्करी हुन थालेको नयाँ तथ्य फेला परेसँगै सीमा क्षेत्रमा नियन्त्रणका लागि विशेष अप्रेशन सञ्चालन गरिएको बताए। ‘जोगवनी नाका हुँदै भारततर्फ मरिच तस्करी हुने गरेको पाइयो,'उनले भने,‘त्यसलाई नियन्त्रण गर्नका लागि विशेष टोली परिचालन गरेर कडाई थालिएको छ।'उनका अनुसार प्रहरी सुपारीतर्फ मात्रै केन्द्रीत हुँदा सुपारी तस्करको ध्यान मरिच तस्करीमा केन्द्रीत भएको पाइएको छ।

प्रहरीले भारततर्फ अवैध रुपमा मरिच कटाउने गरेको सूचनाका आधारमा सीमावर्ती क्षेत्र रानीका व्यापारी अनिल खण्डेवाललाई पक्राउ समेत गरेको थियो। आगामी दिनमा मरिच तस्करी नगर्ने सर्तमा उनलाई छाडिएको छ। खण्डेवाल रानी क्षेत्रमा बसेर मरिच र फेयर एण्ड लब्ली (अनुहारमा लगाउने क्रिम) को कारोवार गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। रानीमा उनको मरिच र फेयर एण्ड लब्लीको गोदाम पनि छ। ‘मरिच भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेकाहरुले दिएको सूचनाका आधारमा खण्डेवाललाई पक्राउ गरिएको थियो,'प्रनानि यादवले भने, ‘आफैले बोकेको अवस्थामा भने फेला पार्न नसकिएका कारण सचेत गराएर छाडिएको छ।'

मरिच सहित पक्राउ परेकाहरुले भने खण्डेवालले आफूहरुलाई मरिच भारत लैजान प्रयोग गर्ने गरेको बताएका छन्। ‘मैले फेयर एण्ड लब्लीको कारोवार गर्छु। कहिलेकाहीं मरिचको पनि गर्छु,'खण्डेवालले भने, ‘तर तस्करी गरेर भारत लैजाने काम गर्दिन। प्रक्रिया पूरा गरेर नै लैजाने गरेको छु।'उनका अनुसार नेपालमा प्रति किलोग्राम छ सय २५ रुपैयाँ पर्ने मरिच भारतमा एक हजार रुपैयाँ पर्छ।

नेपालमा भन्दा भारतमा महँगो हुने भएकाले सीमा क्षेत्रबाट भारततर्फ मरिच तस्करी हुन थालेको निस्कर्ष भन्सार कार्यालयको छ। प्रक्रिया पूरा गरेर भने मरिच भारत लैजान पाइन्छ। विराटनगर भन्सार कार्यालयका प्रवक्ता दिलिप केसीका अनुसार भन्सारमा प्रति किलोग्राम एक सय १३ रुपैयाँ राजश्व तिरेर मरिच भारत लैजान पाइन्छ। ‘भन्सार बुझाउँदा महँगो पर्ने भएकाले मरिचको कारोवारमा संलग्नले तस्करी गर्न थालेको पाइयो,'केसीले भने, ‘सुपारी जस्तै प्रक्रिया पूरा नगरिकन भने मरिच लैजान पाइँदैन।'उनका अनुसार अहिले सम्म प्रक्रिया पूरा गरेर भन्सार कार्यालयबाट मरिच भारततर्फ लगिएको कुनै पनि रेकर्ड छैन।

‘मरिच प्रक्रिया पूरा गरेर र भन्सारमा राजश्व तिरेर भारत लैजान पाइन्छ,'उनले भने, ‘तर अहिलेसम्म प्रक्रिया पूरा गरेर मरिच लगेको देखिंदैन।' मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सीमा क्षेत्रको निरीक्षण गरेर मरिच तस्करी नियन्त्रणका लागि प्रहरीका सीमावर्ती युनिटलाई निर्देशन समेत दिएका छन्। ‘मरिच पनि तस्करी गरेर भारत पुर्‍याउने गरेको पाइएपछि कडाई गरेर तस्करी नियन्त्रण गर्न निर्देशन दिइएको छ,'एसपी बिसीले भने, ‘भन्सारमा राजश्व बुझाउँदै प्रक्रिया पूरा गरेर लैजानेलाई पनि अवरोध गरिंदैन।'

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.