एक वर्षभित्र सुदूरपश्चिमका विमानस्थल कालोपत्रे

एक वर्षभित्र सुदूरपश्चिमका विमानस्थल कालोपत्रे

धनगढी : धनगढीको गेटा विमानस्थल कालोपत्रे भएसँगै सुदूरपश्चिमका थप तीनवटा विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने भएका छन् । बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका हुन् । गतवर्ष यी तीनवटै विमानस्थल कालोपत्रे गर्ने ठेक्का सम्झौता भइसकेको छ ।अछामको साँफेबगर विमानस्थलको कालोपत्रे २०७४ फागुनभित्रै सक्ने गरी ठेक्का सम्झौता भएको हो । यसको अहिलेसम्म ३० प्रतिशत काम सकिएको योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माले जानकारी दिए ।

विमानस्थलको ‘सबबेस' सकिएको उनले जानकारी दिए । विमानस्थलमा माटो भरिसकेपछि ‘सबबेस' बनाइन्छ । ‘सबबेस' सकिएपछि गिट्टी बिछ्याएर कालोपत्रे गर्ने काम सुरु हुन्छ । ‘साँफेबगर विमानस्थल पक्की गर्ने काम फागुनसम्म आरामले सकिन्छ', योजना प्रमुख शर्माले भने । विमानस्थलमा बूढीगंगा नदीको कटान खतरा रहेकाले प्राधिकरणले नदी नियन्त्रणका लागि तटबन्ध पनि बनाइरहेको छ भने विमानस्थलछेउ रहेको छिपेखोला नियन्त्रणका लागि काम भइरहेको छ ।

 

‘विमानस्थल कालोपत्रे र नदी नियन्त्रणका लागि अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको हो, त्यसमध्ये दुई करोड रुपैयाँ नदी नियन्त्रणका लागि हो', योजना प्रमुख शर्माले भने । ५५० मिटर साँफेबगर विमानस्थल पक्की बनेपछि सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाने पर्यटक बढ्ने अनुमान गरिएको छ । साँफेबगर विमानस्थल २०५६ सालमा माओवादीले ध्वस्त पारेका थिए । विमानस्थल कालोपत्रे गर्न चाहिने गिट्टी उत्पादनको काम भइरहेको र गिट्टी उपलब्ध भएपछि कालोपत्रे सुरु गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


एक वर्षभित्र धनगढी, कोल्टीलगायत सुदूरपश्चिमका ६ विमानस्थल पक्की हुनेछन् ।

यस्तै सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको दिपायल विमानस्थल पनि माघभित्र पक्की हुने गरी गत आर्थिक वर्षमै ठेक्का लगाइएको थियो । गतवर्षको फागुनमा सपना गल्वा जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा विमानस्थल पक्कीको ठेक्का पाएको थियो । ‘विमानस्थलको पानी निकासका लागि वरिपरी नाली निर्माणको काम सकिएको छ भने माटो भर्ने काम भइरहेको छ । ‘सबबेस' बनाउन गिट्टी कुट्न क्रसर जडान भएर गिट्टी उत्पादन भइरहेको छ', दिपायल विमानस्थल आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बालकृष्ण रेग्मीले भने । निर्माणको २५ प्रतिशत काम सकिएको उनले बताए ।

दिपालय विमानस्थलको झन्डै पाँच सय मिटर कालोपत्रे गरिनेछ । धनगढीलाई हब बनाएर क्षेत्रीय उडान सुरु गरिए सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । दिपायलबाट खप्तडका लागि अहिले छोटो दूरीको पैदल यात्रा हुने गर्छ । विमानस्थल पक्की भयो र अहिले निर्माण भइरहेको सिलगढी-खप्तड सडक बन्यो भने धनगढीबाट एकैदिन खप्तड पुग्न सकिनेछ ।

चालू आर्थिक वर्षभित्र सक्ने गरी बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । पाँच सय ८० मिटर लम्बाइ रहेको विमानस्थल कालोपत्रे गर्ने ठेक्का गलवा-सांग्रिला जगदम्बा जेभीलाई दिइएकोमा त्यहाँ पनि माटो भर्ने काम भइरहेको छ । विमानस्थल भएर गएको खानेपानीका पाइप सार्न ढिला भएकाले पाटन विमानस्थल कालोपत्रे गर्ने काम झन्डै १० प्रतिशत सकिएको छ ।

विमानस्थल निर्माण योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले दसैंपछि निर्माणले तीव्रता पाउने र यस आर्थिक वर्षभित्र कालोपत्रे सकिने बताए । पाटनका रिपिटर टावर पनि माओवादीले बम हानेर भत्काएका थिए । तर अहिले रिपिटर टावर निर्माणको ठेक्का भएको छैन ।
चालू आर्थिक वर्षको बजेटमा बझाङको चैनपुर विमानस्थल पनि कालोपत्रे हुने कार्यक्रम छ । प्राधिकरणले त्यसका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । बझाङ विमानस्थल कालोपत्रेका लागि चार करोड रकम विनियोजन भएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

तर दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल भने भारतको सीमानजिक भएकाले स्तरोन्नतिमा नपर्ने भएको छ । जहाज अवतरण हुने बेला बैतडी र दार्चुलाको सीमाना छुट्ट्याउने चमेलिया नदीमा बनेको सस्पेन्सन पुलका कारण गोकुलेश्वर विमानस्थललाई प्राधिकरणको अध्ययन टोलीले जोखिमयुक्त श्रेणीमा राखेको छ ।

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा क्षेत्रीय उडानको प्रचुर सम्भावना छ । ‘पहाडतिरका विमानस्थल पक्की बन्नेबित्तिकै सीता, गोमा एयरजस्ता कम्पनीले धनगढीमा जहाज राखेर उडान गर्ने योजना बनाएका छन्', कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले भने, ‘सुदूरपश्चिमका चार विमानस्थल पक्की भएपछि यस क्षेत्रको आर्थिक विकास हुनेछ ।'

बाजुराको कोल्टी विमानस्थल यसअघि नै पक्की भइसकेको छ । धनगढी, कोल्टीलगायत अबको एक वर्षभित्र सुदूरपश्चिमका ६ विमानस्थल पक्की हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.