मलेसियामा मानसिक सन्तुलन गुमेपछि...

मलेसियामा मानसिक सन्तुलन गुमेपछि...

जुम्ला : यसअघि पैसा कमाउन उनी भारतमै जान्थे। गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन।कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन। बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन।

सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो। उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने। कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने विदेश जाने मोटो रकम थिएन।

यसअघि घरमा उनकी श्रीमती सपनाको मानसिक सन्तुलन गुमेको थियो। उनलाई ठीक ठाउँमा ल्याउन ऋणको जोहो गर्नुपर्‍यो। झण्डै रु एक लाख २५ हजार खर्च गरेर श्रीमतीलाई निको पारेका उनले ऋणको साँवा र ब्याज चुक्ता गर्न विदेश जानुपर्ने नै थियो।

 

खेतबारीको उत्पादनले तीन महिना जीवन निर्वाह गर्न धौधौ हुने उनको परिवारका लागि राहदानी बनाउनदेखि काठमाडौँ भएर विदेश जानु पहाड ढाल्नु जत्तिकै थियो। तथापि निकै हारगुहार गरी दुई महिना लगाएर सयकडा रु चार÷पाँच ब्याज दिनेगरी रु एक लाख ५० हजार ऋण प्राप्त गरी जस्मिन ओभरसिज प्रालि वसुन्धरा काठमाडौँमार्फत गत साउन १७ गते उडान भरेका उनी १८ गते मलेसिया पुगे। दुर्भाग्य १ पुगेको पाँच दिनपछि नै उनको मानसिक सन्तुलन गुम्यो।

झण्डै एक महिनादेखि मानसिक रोगका बिरामी सुनार तिला गाउँपालिका-४ जुम्ला साँपुल्ली गाउँ निवासी हुन्। उनी बेसहारा अवस्थामा रहेको उनीसँगै मलेसिया पुगेका छिमेकी दाइ अमृत सुनारले जानकारी दिए। “एक्कासि दिमागले काम नगरेपछि कम्पनीले उसलाई उपचारका लागि लगेको थियो। त्यसपछि कहाँ के भएको छ भन्ने मलाई थाहा छैन”, उनले भने।

पहिलो पटक आएको र भाषाको पनि ज्ञान नभएकाले आफूलाई पनि निकै गाह्रो भएको उनको भनाइ छ। सुनारको स्वास्थ्य अवस्थाका विषयमा घरपरिवारका सदस्य अहिले गम्भीर चिन्तामा छन्। सुनारलाई फिर्ता गर्न भनेर काडमाडौँमा पुगेका उनका दाइ तुल्बिर तनावमा भौँतारिरहेका छन्। निरक्षर भएकाले कहाँ के गर्ने भन्ने कुनै कुरा उनलाई थाहा छैन। उनी ऋण काढेर विदेश पठाइएका भाइलाई स्वदेश फिर्ता गर्ने ऋण पाउन गाह्रो भएको दुःख पोख्छन्।

“भाइलाई म्यानपावरले फिर्ता गरिदिने भनेपछि काठमाडौँ आइयो तर भाइ आउने अत्तोपत्तो छैन”, उनले भने। म्यानपावरका अनुसार दुई पटक ल्याउन भनेर टिकट पठाइएको तर भाइ आउन नमानेको उनको भनाइ छ। भाइ नेपाल आउँछ कि भन्ने आशामा आइतबारसम्म काठमाडौँमा बस्ने उनले बताएका छन्।

जस्मिन ओभरसिज प्रालिका प्रमुख नवराज भट्टले रासससँग फोनमा कुरा गर्दै मलेसियाको रोयका इलोक्ट्रोनिक्स कम्पनीसँग तीन वर्षको सम्झौतामा मानसिङ र अमृत सुनारलाई पठाइएको जनाए। “पठाएको दिनबाटै मानसिङको सन्तुलन गुम्यो र कम्पनीले १५ दिनजति उपचार गर्दा १० हजार रिंगेट ९करिब नेपाली रु तीन लाख० खर्च भएको छ”, उनले भने।

सुनारका दाइ तुल्बिरले भाइलाई नेपाल फर्काइदिन गरेको आग्रहमा पहिलो पटक रु २५ हजार ८०० र दोस्रो पटक रु २४ हजार टिकट पठाउँदा पनि प्लेन चढाउन नसकिएकाले उनलाई नेपाल ल्याउन नसकिएको सो कम्पनीका प्रमुख भट्टले बताए। उनले अहिलेसम्म सुनारका लागि रु तीन लाख ५० हजार खर्च भइसकेको र अब केही गर्न नसक्ने बताएका छन्।

पीडित परिवारले भने सुनारलाई नेपाल ल्याइदिन र उनको जीवन बचाइदिन भन्दै सरकारसँग सहयोग याचनाका लागि सञ्चारमाध्यमलाई आवाज बन्दिन अनुरोध गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.