कांग्रेस र एमालेलाई मेयर/उपमेयर उम्मेदवार छान्न सकस
सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय तहलाई निकै सकस भएको छ। उम्मेदवार चयन गर्न केन्द्रीय तहमा लगातार बसेको बैठक र छलफल असफल हुँदै आएको छ। उम्मेदवार चयन गर्न ढिलाई हुदा भने चुनावी प्रचार अभियान प्रभावित भएको गुनासो स्थानीयस्तरमा सुनिएको छ।
उम्मेदवार टुंग्याउन नेतृत्व तहले ढिला गरेपछि उपमहानगरमा दुबै दलका कार्यकर्ताले उम्मेदवार बिनानै प्रचार गर्न थालेका छन्।आफू निकटका ब्यक्तिलाई उम्मेदवार बनाउन नेतृत्व तहमा बसेका नेताको प्रयास र टिकट वितरणमा भागवण्डा निर्णयमा पुग्न नसक्नुको प्रमुख कारण देखिएको स्थानीयत नेताले बताउन थालेका छन्।
१६ स्थानीय तह रहेको बारामा दुई उपमहानगरपालिका, पाच नगरपालिका र ९ गाउपालिका छन्।गाउपालिका र केही नगरपालिकाको उम्मेदवार चयन गरिसकेका दुबै दलले केही नगर र दुई उपमहानगरको उम्मेदवार टुंग्याउन सकेका छैनन्। कलैया नगरपालिकामा कांग्रेस सांसद राधेचन्द्र यादवका छोरा राजेश यादवलाई उम्मेदवार बनाउने सहमती गरेपनि घोषणा गरिएको छैन्।
कलैयामा उम्मेदवार टुंगो लगाउने सहमती नजिक पुगेको कांग्रेसभित्र जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेदवार कसलाई बनाउने भन्ने निरन्तर छलफल भईरहेको छ।
जीतपुरसिमरा उपमहानगरको मेयरका लागी कांग्रेसको तर्फबाट चार जना आकांक्षी छन्। पूर्वसभासद शोभाकर पराजुली, कांग्रेसका पुराना नेता कृष्णब्रत सिंह, नगर सभापति श्यामबाबु गुप्ता र नवप्रवेशी ओमकृष्ण कार्की आकांक्षी छन्।
आकांक्षी सबैले आफू उम्मेदवार बन्न केन्द्रीय तहका नेतामार्फत लबिङ गरिरहेका छन्।उम्मेदवारका चारै जना आकांक्षी यतिबेला काठमाण्डौमा छन्। कांग्रेसको तर्फबाट ओमकृष्ण कार्की र कृष्णब्रत सिंहमध्ये एकले टिकट पाउने चर्चा स्थानीय स्तरमा चलेको छ।
सिंह साविकको भवानीपुरजीतपुर गाविसका पूर्वअध्यक्ष हुन भने कार्की भर्खरै नेपाली कांग्रेस प्रवेश गरेका हुन्। सिंहलाई टिकट दिलाउन पार्टी उपसभापति रामचन्द्र पौडेल निकटका नेता र पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका सांसद फरमुल्लाह मंसुरले लबिङ गरिरहेका छन्। सांसद लालबाबु सिंह पनि सिंहलाई उम्मेदवार बनाउन लागिपरेका छन्।
कार्कीलाई उम्मेदवार बनाउन नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया र सांसद राधेचन्द्र यादवले पार्टी सभापति देउवालाई दवाव दिईरहेका छन्। यादवले यसअघि नगर सभापति गुप्तालाई उम्मेदवार बनाउन लबिङ गरेका थिए।
कार्कीलाई उम्मेदवार बनाउन देउवा निकटका केन्द्रीय नेता प्रयासमा रहेको कांग्रेस स्रोतले जनाएको छ।केन्द्रीय तहमा प्रभाव जमाउन सक्ने परिचय बनाएका र संविधान सभाको दोस्रो निर्वाचनमा बारा क्षेत्र नं. ६ बाट प्रत्यक्ष उम्मेदवार बनेका शम्भु बुढाथोकी पनि कार्कीलाई उम्मेदवार बनाउन लागिपरेका छन्।
एमालेमा भने जीतपुरसिमरा उपमहानगरपालिकाको लागि डा. कृष्ण पौडेलको नाम बढी चर्चामा छ। केन्द्रीय तहमा पनि डा. पौडेललाई उम्मेदवार बनाउन नेताहरु सहमति नजिक पुगेको बताइएको छ। एमाले जिल्ला सचिवालय सदस्य डा. पौडेल पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि पौडेललाई उम्मेदवार बनाउन सकारात्मक रहेको एमाले स्रोतले जनाएको छ। पौडेलसहित मेयरका लागि एमालेमा जिल्ला उपाध्यक्ष देवनारायण चौधरी, भरत खड्का आकांक्षी छन्।
चौधरी र खड्का बरिष्ठ नेता नेपाल निकट हुन्। पौडेललाई मेयर दिए उपमेयर नेपाल पक्षको राखिनुपर्ने चर्चा पनि केन्द्रीय तहमा हुन थालेको एमाले स्रोतले जनाएको छ।
कलैया उपमहानगरमा विनोद साहलाई उम्मेदवार बनाउने सम्भावना एमालेमा बढी देखिन्छ। साहसहित जिल्ला सचिव एम समिउल्लाह र सुरेश मोदक मेयरका आकांक्षी छन्।कलैयामा बढी प्रभाव जमाउन सक्ने र प्रतिस्पर्धामा आउन सक्ने भएकाले साहलाई उम्मेदवार बनाएर अघि बढ्ने पक्षमा एमालेभित्र छलफल भईरहेको छ। उम्मेदवार टुंग्याउनका लागि एमालेको बैठक बसिरहेको छ।
दुई उपमहानगरबाहेक निजगढ नगरपालिकामा सुरेश खनाललाई कांग्रेसले उम्मेदवार बनाउने लगभग सहमती बनेको छ। एमालेमा भने निजगढमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागेको छ। दुई उपमहानगरको उम्मेदवार बनाउनेतर्फ केन्द्रीत दुवै दलले नगरपालिकाको पनि शनिवार साझसम्म टुंगो लगाउने बताइएको छ।