वडा अध्यक्षकै उमेदवार छनौट गर्न चुनाव !
बर्दिबास : वडा अध्यक्षको उमेदवार छनौट गर्न महोत्तरीको बर्दिबासमा नेकपा एमालेका सक्रिय सदस्यहरुले मतदान गरेका छन् । स्थानीय निकायको निर्वाचनमा एउटै पदका आकाङ्क्षी धेरै भएपछि नेकपा एमालेले बर्दिबास नगरपालिका वडा नम्बर १ को उमेद्वार चयनका लागि निर्वाचन बिधि अपनाएको हो ।
प्रदेश कमिटीले बर्दिबास नगरपालिकामा मेयरको उमेदवारमा सुरेशप्रसाद राउत र उपमेयरमा कमला वाईवाको नाम टुङ्गो लगाएपछि एमाले वडा अध्यक्ष छनौटमा व्यस्त छन् । शनिबार सम्पन्न निर्वाचनमा चार जना आकाङ्क्षीको दाबी परेकाले मतदानबाट उमेद्वार छानिएका हुन् । अबेर राति सम्पन्न मतगणना परिणामअनुसार कुमार भण्डारी उमेद्वार चयन भएका निर्वाचन मण्डलले जनाएको हो । जम्मा ३४ संगठित सदस्य मध्य निर्वाचनमा ३२ जनाले मतदान गरेका थिए । जसमा भण्डारीले १३ मत प्रप्त गरेर उमेदवार छनौट भएका छन् ।
दुई दिनअघि सम्पन्न १४ नम्वरको निर्वाचनमा एक जना आकांक्षी गोविन्द पौड्लले मात्र दाबी दत्र्ता भएकाले निर्विरोध उमेद्वार घोषणा गरिएको थियो । अन्य तीन आकांक्षी मध्ये अमिस रिसाल र चन्द्रबहादुर खड्काले ७÷७ र कृष्ण गौतमले ५ मत प्राप्त गरेका थिए । स्थानीय तहको सङ्ख्या थप्ने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि बढेका वडामा निर्वाचन बिधिबाट उमेद्वार टुङ्ग्याइएको नगर संयोजक शारदाप्रसाद ढुङ्गानाले जानकारी दिए ।
नयाँ अभ्यासले विवादित ठाउँमा निर्णय लिन निर्वाचन बिधि सबैले स्वीकार गर्न सजिलो लागेको एमाले बर्दिवास नगर कमिटीको ठम्याइ छ । ‘पार्टीले छान्ने उमेद्वारका लागि लोकतान्त्रिक बिधि अवलम्वन गरिएपछि सबैले मान्नै पर्ने नैतिक दवाव हुने नै भयो' नगर संयोजक ढुङ्गानाले भने,‘मेरा लागि उपल्लो तहमा सिफारिस गरि दिएन भन्ने साथीहरुको गुनासोबाट पनि बचिदो रहेछ।' एमालेले उमेद्वार छनौटमा अवलम्वन गरेको पछिल्लो निर्वाचन प्रकृयाबारे अन्य दलले पनि चासो बढाएका देखिएको छ ।
‘यसअघि प्रमुख, उपप्रमुख र वडाका उमेद्वारबारे सिफारिस गरि जिल्ला कमिटीमा पठाएका थियौं' नगर संयोजक ढुङ्गानाले भने ‘पछि एउटा वडाको भूगोलबाट दुईवटा वडा बनेकाले दुबै वडाका उमेद्वार छान्न निर्वाचन बिधि अप्नाएका हौं ।'
यसरी निर्वाचन बिधिबाट उमेद्वार छान्नु परेको वडा १ र १४ परेका छन् । दुबै वडामा छलफलबाटै सर्वसम्मत गर्न प्रयत्न गरिएपनि आकाङ्क्षीहरुबीच सहमति हुन नसकेको र चाँडै उमेद्वार छान्न पर्ने समयको चापले निर्वाचन प्रकृया अपनाउनु परेको नगर कमिटीले स्पष्ट पारेको छ ।