क्षेत्र निर्धारणप्रति प्रदेश ६ मा असन्तुष्टि

क्षेत्र निर्धारणप्रति प्रदेश ६ मा असन्तुष्टि

जाजरकोट : निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति प्रदेश नम्बर ६ मा असन्तुष्टि देखिएको छ । आयोगले १० जिल्ला रहेको यो प्रदेशमा प्रतिनिधिसभाका लागि १२ र प्रदेशसभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरेको छ । आयोगले प्रतिवेदन तयार पार्दा ९० प्रतिशत आधार जनसंख्या र १० प्रतिशत भूगोललाई बनाएपछि यहाँ असन्तुष्टि देखिएको हो । ठूलो भूगोल र थोरै जनसंख्या रहेको यो प्रदेशमा कम निर्वाचन क्षेत्र निर्धारण भएको आवाज उठेको छ ।

 प्रतिनिधिसभाका लागि सुर्खेत र दैलेखमा दुई/दुई, जाजरकोट, पूर्वी रूकुम, सल्यान, जुम्ला, डोल्पा, मुगु, कालिकोट, हुम्ला र डोल्पामा एक/एक क्षेत्र कायम भएका छन् । यस अघि सुर्खेतमा तीन, दैलेख, जाजरकोट, सल्यान र रूकुममा दुई/दुई क्षेत्र थिए । कर्णालीका पाँचै जिल्लामा यसअघि पनि एक/एक क्षेत्र थियो । जाजरकोट, सल्यान र सुर्खेतले एक/एक क्षेत्र गुमाएका छन् । थप हुनुको सट्टा झन् घटेपछि स्थानीयवासी आयोग र सरकारप्रति असन्तुष्ट देखिएका हुन्।

कर्णाली र आसपासको क्षेत्र फेरि पनि ठगिएको महसुस स्थानीयवासीले गरेका छन् । नागरिक समाज जाजरकोटले शनिबार प्रेस विज्ञप्ति प्रकाशन गरी आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ । ‘प्रदेश नम्बर ६ मा संघीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ जना मात्र सदस्य रहने गरी संख्या निर्धारण हुनु अत्यन्त अवैज्ञानिक, असंवैधानिक र दुर्भाग्यपूर्ण भएको महसुस भएको छ', विज्ञप्तिमा भनिएको छ । आयोगको प्रतिवेदन संविधानको मर्म तथा भावनाविपरीत भएको जिकिर गर्दै समाजले न्यायपूर्ण तवरले क्षेत्र निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

विभिन्न राजनीतिक दलका नेताले पनि आयोगको निर्णयले जिल्लावासी ठगिएको प्रतिक्रिया दिएका छन् । सांसद राजीवविक्रम शाहले भौगोलिक रूपमा विकट र ठूला तर जनसंख्याका हिसाबले कम भएका दुर्गम जिल्लालाई आयोगको निर्णयले अन्यायमा पारेको बताए । जनसंख्या र भूगोललाई समान आधार बनाउनुपर्ने उनको भनाइ छ ।

‘काठमाडौं एउटै जिल्लामा १० निर्वाचन क्षेत्र कायम भयो, १० जिल्ला रहेको प्रदेशमा १२ वटा मात्र क्षेत्र कायम हुनुजस्तो अवैज्ञानिक र अन्यायपूर्ण के हुन सक्छ ? ' चित्रबहादुर सिंह एमाले कालिकोटका नेता

सल्यानका कांग्रेस नेता डिल्ली रेग्मीले सिंगो प्रदेश अन्यायमा परेकाले निर्णय पुनर्विचार गर्नुपर्ने बताए । एमाले कालिकोटका नेता चित्रबहादुर सिंहले क्षेत्र निर्धारण अन्यायपूर्ण रहेको बताए । ‘काठमाडौं एउटै जिल्लामा १० निर्वाचन क्षेत्र कायम भयो, १० जिल्ला रहेको प्रदेशमा १२ वटा मात्र क्षेत्र कायम हुनुजस्तो अवैज्ञानिक र अन्यायपूर्ण के हुन सक्छ ? ', उनले प्रश्न गर्दै भने, ‘संघीयताको मर्म र भावना यही हो ? '

जुम्लाका सांसद ललितजंग शाहीले पनि क्षेत्र निर्धारणको निर्णय तत्काल सच्याउनुपर्ने बताए । ‘सिंगो प्रदेशको उपेक्षा गरिनुहुन्न, भूगोललाई पनि उच्च प्राथमिकता दिएर क्षेत्र निर्धारण गर्नुपर्छ', उनले भने, ‘यस विषयमा सरकार गम्भीर हुनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.