प्रदेश-२ को निर्वाचन सुरक्षा गोष्ठी जनकपुरमा
जनकपुरधाम : असोज २ गतेको निर्धारित दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि गृहमन्त्रालयको सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा गृहमन्त्री जनार्दन शर्माले दुई नम्बर प्रदेशमा स्थानीय निकायको निर्वाचनका लागि गृहमन्त्रालय मातहतको सम्पूर्ण सुरक्षा निकाय पूर्ण रूपमा तयार भएको बताएका छन् ।
दुई चरणका निर्वाचन सम्पन्न गराउन सफल सुरक्षा निकायसामु तेस्रो चरणको निर्वाचनमा प्राकृतिक विपदले केही समस्या ल्याए पनि सुरक्षाको विषयमा पूर्ण रूपमा तयार रहेको बताए ।
मन्त्री शर्माले भने, ‘गृहमन्त्रालयका लागि अहिलेको चुनाव सम्पन्न गर्नु पहिलो प्राथमिकता हो । मंसिर ११ तथा २१ गते प्रदेश सभाको निर्वाचनको मिति तय भइसकेको अवस्थामा त्यसको पनि तयारीमा लागेछौं ।’ उनले भने, ‘यो वर्ष निर्वाचन वर्षका रूपमा आएको छ । संविधान कार्यान्वयन गर्न निरन्तर निर्वाचनपछि निर्वाचन हुनेछन् । यी सबै चुनावलाई शान्त, सुव्यवस्थित र निश्पक्ष बनाउन सुरक्षा निकाय प्रतिबद्ध छ ।’
सबै निर्वाचनपछि संविधान पूर्ण रूपमा कार्यान्वयन हुने र जनताका अधिकार स्थापित हुने बताउँदै शर्माले भने, ‘थप अधिकारका लागि नयाँ आउने सरकार र प्रतिनिधिहरूले आवश्यक परिमार्जन गर्न सक्ने अवस्था रहन्छ ।’
निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व कायम भई राज्यले विकासको गतितिर अघि बढ्ने अवसर पाउने गृहमन्त्री शर्माले बताए । गृहमन्त्री शर्माले देशमा व्याप्त अस्थिरताका कारण विकासका कार्य अघि बढ्न नसकेको अवस्थामा राजनीतिक स्थायित्वलाई केन्द्रमा राखेर स्थानीय तहको निर्वाचनले पूर्णता पाउन लागेको बताए । त्यसैगरी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउने वातावरण निर्माण हुने विश्वास शर्माले व्यक्त गरे ।
गृहमन्त्री शर्माले प्रदेश नम्बर दुईमा निर्वाचन तेस्रो चरणमा सार्नुको कारण सबै दललाई सहभागी गराउनु नै रहेको र वर्तमान सरकारको पहलमा संविधान संशोधनका लागि गरिएको प्रयासपछि हाल राजपासहित सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुँदा तेस्रो चरणको उद्देश्य पूर्ति भएको बताए ।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा जनकपुरको होटेल सीताशरणमा सुरु भएको गोष्ठीमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, पूर्वाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपकुमार रेग्मी, व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालय नेपाली सेनाका निर्देशक उपरथी देवकुमार सुवेदीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति छ ।