‘क्षेत्रनिर्धारणमा प्रदेश नं. ६ प्रति अन्याय'
जाजरकोट: एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संघ र प्रदेशको क्षेत्र निर्धारणप्रति असन्तुष्टि जनाएका छन्। प्रेस चौतारी नेपाल जाजरकोटले खलंगामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भूगोलका हिसावले सबैभन्दा ठूलो प्रदेश भएपनि प्रदेश नं. ६ मा सबैभन्दा कम निर्वाचन क्षेत्र हुनु विडम्बना भएको बताए।
निर्वाचन क्षेत्र निर्धारण आयोगको काम बैज्ञानिक नरहेको ज्ञवालीको आरोप थियो। ९० प्रतिशतभार जनसंख्या र १० प्रतिशतभार मात्र भुगोललाई मान्नु न्यायोचित नभएको उनले बताए।
प्रदेश नं ६ का ईन्चार्ज समेत रहेका ज्ञवालीले आयोगलाई समयमै भूगोलको भार बढाउन सुझाव दिएको भएपनि आयोग सत्तापक्षको दवावमा परेको आरोप लगाए।
संविधान कार्यान्वयनका लागि चित्त नबुझेका कुरा पनि स्वीकार गरेर जानुको विकल्प नभएको उल्लेख गर्दै उनले चुनावको मुखैमा क्षेत्र निर्धारण जस्तो संवैधानिक आयोगको निर्णय तत्काल सच्याउन सकिने अवस्था नरहेको बताए।