दसैंले खसीबोकाको व्यापार बढ्यो

दसैंले खसीबोकाको व्यापार बढ्यो

सिन्धुली: नेपालीहरूको महान् चाड बडादसैं नजिकिँदै गर्दा सिन्धुलीमा खसीबोकाको किनबेचमा वृद्धि भएको छ। दसैंका लागि खसी तथा दुर्गापूजाका लागि बोकाको किनबेच बढ्दै गएको हो। सिन्धुली सदरमुकाम तथा हाटबजारमा किसानले खसीबोका बिक्री गर्न ल्याउने गरेका छन्। जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा लागेको हाटमा मात्र गत साउनदेखि हालसम्म झन्डै दुई हजार पाँच सय खसीबोका किनबेच भएको व्यापारीहरूको भनाइ छ।

 

दसैं आउनै लाग्दा एक दिनमा तीन सयभन्दा बढी खसीबोका बिक्री हुने गरेको खसी व्यापारी भीमबहादुर कार्कीले जानकारी दिए। सिन्धुलीमा दैनिक सयभन्दा बढी खसीबोकाको व्यापार हुने गरेको व्यापारीहरूको भनाइ छ।

जिल्ला सदरमुकाममा मात्र हरेक दसैंमा पाँच हजारभन्दा बढी खसीबोका किनबेच हुने गरेको उनीहरू बताउँछन्। यसबाहेक जिल्लाबाट वर्षको झन्डै पाँच हजार हाराहारीमा खसीबोका राजधानी तथा अन्य सहरमा बिक्रीका लागि लाने गरिन्छ।

असोजभरि करिब तीन हजार खसीबोका बिक्री हुने अनुमान छ। दसैं सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि प्रायः किसानले पनि यही सिजनमा खसीबोकाको व्यापार गर्ने गरेका छन्। जिल्लामा खसीको मासुप्रति किलो ६ सय रुपैयाँ र बोकाको पाँच सय रुपैयाँ रहेको अर्का खसी ब्यापारी रामु थापाले जानकारी दिए।

स्थानीयस्तरमा उल्लेख्य मूल्य नपाउने र तराईलगायत राजधानीसम्म पुर्‍याउँदा उचित मूल्य पाइने भएकाले व्यापारीले वर्षेनि पाँच सयभन्दा बढी खसीबोका सिन्धुलीबाट राजधानी पठाउने गरेको व्यापारी निलहरि दाहालले जानकारी दिए।

सिन्धुलीमाढीमा लामो समयदेखि खसीबोकाको व्यापार गर्दै आएका व्यापारी देवकुमार राईले हिजोआज एक दिनमै १५ ओटासम्म खसीबोका आफूले बिक्री गर्ने गरेको बताउँछन्। खसीको व्यापारबाटै वार्षिक रूपमा घरखर्च चलाउने गरेको बताउँदै दसैंका क्रममा मात्रै आफूले दुई सयभन्दा बढी बिक्री गर्ने उनको भनाइ छ। केही समय अघिसम्म खसीबोकाको व्यापार न्यून भए पनि केही दिनयता यसको व्यापार ह्वात्तै बढेको अर्का खसी व्यापारी हरि थापाले बताए।

अहिले खसीबोका बिक्रीका लागि ग्रामीण क्षेत्रबाट सयौंको संख्यामा सदरमुकाम ल्याउने गरिएको छ। सदरमुकाममा खसी बिक्री गर्न कमलामाई नगरपालिका तथा महाभारत क्षेत्रका जलकन्या, भद्रकाली तीनकन्या, रतनचुरा, मझुवा, रानीचुरी र खुँच क्षेत्रका कपिलाकोट, डाँडीगुराँसे, रानीवासलगायत गाविसबाट ल्याइने गरेको छ।

गाउँघरमै धार्नीको साढे सात सय रुपैयाँसम्म हालेर सदरमुकाम ल्याउने गरे पनि बजारमा धार्नीको आठ सयदेखि साढे आठ सय रुपैयाँ मात्र मूल्य पाउने गरेकाले खसीको मूल्य गत वर्षको तुलनामा कम भएको उनीहरूको भनाइ छ। गत वर्ष जिल्लामा दसैंताका धार्नीको एक हजार रुपैयाँसम्ममा खसी किनबेच भएको थियो।

ग्रामीण क्षेत्रबाट सदरमुकाम, तराई र राजधानीमा खसी बिक्रीका लागि लैजाने गरिएको छ। स्थानीय स्तरमा राम्रो मूल्य नपाउने र तराईलगायत राजधानीसम्म पुर्‍याउँदा फाइदा बढी हुने भएकाले व्यापारीले वर्षेनि पाँच सयभन्दा बढी खसीबोका राजधानी पठाउने गरेको व्यापारी नीलहरि दाहालले जानकारी दिए।

गाउँगाउँबाट खरिद गरेर ल्याएका ५१ ओटा खसीबोका बिक्रीका लागि राजधानी लैजान हिँडेका सिन्धुली बेसारेका व्यापारी चन्द्रसिंह लोले दसैंमा मात्र आफूलगायत अन्य सहपाठीले दुई सयभन्दा बढी खसी राजधानी लिएर जाने बताए। राजधानी पुर्‍याएपछि स्थानीय बजारभन्दा राम्रो मूल्य पाउने भएकाले खसी राजधानी लैजान लागेको उनले थपे।

जिल्ला सदरमुकामबाहिर रहेका भीमान, दुधौली, डकाहा, झाँगाझोली रातमाटा, खुर्कोटलगायत बजारमा पनि खसीबोकाको किनबेच बढेको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.