प्रदेश २ मा पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : पोखरेल
नेपालगन्ज : एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले २ नं. प्रदेशमा एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताए । एमालेविरुद्धको महागठबन्धन असफल भएको बताउँदै एमाले नेता पोखरेलले २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति हुने दाबी गरे ।
दाङ जाने क्रममा बिहीबार साँझ प्रेस चौतारी बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले भने,‘२ नं. प्रदेशमा एमाले प्रचार गर्न सक्दैन, उम्मेदवार नै खडा गर्न सक्दैन' भन्ने प्रचारप्रसार गरियो तर सबैभन्दा सानदार रुपमा एमाले नै उम्मेदवारी दर्ता गरायो ' उनले भने । उनले एमाले मधेश विरोधी पार्टी हो भन्नेहरुको लागि उम्मेदवारी दर्ताका क्रममा देखिएको जनलहरले गलत सावित गरिदिएको बताए ।
‘काँग्रेस १०० सिट,राजपाले ९० सिट भने पनि उनीको प्रतिश्पर्धा भनेको दोस्रोको लागि हो, २ नम्बरमा हुने पहिलो हुने एमाले नै हो' नेता पोखरेलले भने । उनले संविधान संशोधन सरकार पक्षले नै पारित गर्न नचाहेको नियत समेत स्पष्ट भएको बताए । उनले भने ‘राप्रपा एक हुँदा संशोधनमा मतदान नगराउने, राप्रपा फुटेपछि मतदान गराउने कुराले नै सरकार पक्ष संशोधन पास गर्ने पक्षमा नरहेको स्पष्ट देखिन्छ ।'
नेता पोखरेलले सरकारको नियत पनि संशोधन गर्ने नरहेको कुराले संशोधन असान्दर्भिक रहेको पुष्टि भएको बताए । एमाले नेता पोखरेलले प्रदेश र संघको निर्वाचनमा पनि एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे । उनले भने,‘अबको प्रदेश र संघको निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरी सरकार बनाउँछ ।' उनले एमालेको पक्षमा जनताको लहर रहेकै कारण नेपाली काँग्रेस अब एमालेसँग एक्लाएक्लै लड्न सक्ने अवस्थामा नरहेको उनले बताए । उनले भने ‘काँग्रेसले हात उठाउने बाहेक केही गर्न सक्दैन, अब ऊ एमालेसँग एक्लाएक्लै लड्न सक्दैन ।'
उनले प्रदेश नं. ५ को राजधानीको सन्दर्भमा चर्चा गर्दै नेपालगन्ज, दाङ्ग र बुटवल-भैरहवालाई व्यवस्थापन गर्नुपर्ने बताए । उनले नेपालगन्जलाई औद्योगिक केन्द्रको रुपमा विकास गर्नुपर्ने, दाङलाई प्रशासनिक केन्द्रको रुपमा स्थापित गर्नुपर्ने र बुटवल-भैरहवालाई वाणिज्य तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि साझा धारणा बनाउनुपर्ने बताए । उनले अबको मुलुकको प्रधानमन्त्री जनताको माग अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली हुने कुरालाई नकार्न नसकिने बताए ।