नेपालमा 'हाइराइज बिल्डिङ'को उदय

नेपालमा 'हाइराइज बिल्डिङ'को उदय

काठमाडौं : पछिल्लो समय काठमाडौंमा अग्ला र ठूला भवन निर्माण गर्ने क्रम बढेको छ । काठमाडौंको नारायणहिटी दरबारबाट सुरु भएर टुँडीखेलबाट पूर्व, धोबीखोलाको पश्चिम, नारायणहिटी दरबारबाट दक्षिण हुँदै त्रिपुरेश्वरदेखिको उत्तर भागमा देखिने १०-१५ तलाका ठूला भवनले नेपालमा फस्टाउँदो हाइराइज बिल्डिङलाई चिनाउँछन् ।

यो एरियामा पछिल्लो एक दशकमा धेरै संख्यामा ठूला भवन निर्माण भए । अहिले बिस्तारै माइतीघरदेखि तीनकुनेसम्म पनि ठूला भवन निर्माण भएका छन् । यो एरियालाई व्यावसायिक एरियाका रूपमा तोकिएर पनि होला । ‘सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट’ का रूपमा रहेको यो एरियामा बनेका ठूला बिल्डिङले सुरुमा काठमाडौं अनि नेपालका धेरै कुरालाई प्रतिनिधित्व गर्छन् । बिस्तारै व्यावसायिक एरियाबाट निस्किएर यस्ता भवन काठमाडौंलगायत देशका विभिन्न सहरमा बन्दै गएका छन् ।

वीरगन्जको आदर्शनगर र मिलन बजार, पोखराको न्युरोडमा बनेका ठूला भवन यसका उदाहरण हुन् । जहाँ फराकीलो सडक छ, त्यहाँ अग्ला-अग्ला भवन बनेका छन् । ‘यो आकर्षण हो, देशको शोभा र सम्पन्नताको प्रतीक पनि’, सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाले भने, ‘यसले देशको विकास स्थिति अनि देश कतिसम्म सम्पन्न छ भन्ने पनि दर्साउँछ । हामीले अन्य देशमा गएर त्यो देशको सम्पन्नता देख्ने भनेकै ठूला बिल्डिङ, सडक, रेल आदिले नै हो ।’ तर यस्ता भवन रहरभन्दा पनि बाध्यताले बनेको थापाको भनाइ छ ।

 

 

 

उनका अनुसार जुन स्थानमा जग्गाको मूल्य आकासियो उक्त स्थानमा यस्ता भवन निर्माणले प्राथमिकता पाए । ‘सानो जग्गामा घेरै ठाउँ निकाल्नुपर्ने अवस्थामा भवनलाई आकाशतिर बढाउनुभन्दा अर्को विकल्प छैन’, थापा भन्छन्, ‘यो लागतका हिसाबले पनि सहज छ । जस्तो, चारवटा भवन निर्माण गर्न चार आनाका छुट्टाछुट्टै चारवटा जग्गा आवश्यक पर्‍यो भने त्यसको लागत सुरुमै महँगो पर्न जान्छ । तर चार आनाको जग्गामा एउटा ठूलो बिल्डिङ निर्माण गर्ने हो भने आवश्यक मात्रामा ठाउँ निर्माण गर्न पनि सकियो, लागत खर्च पनि कम ।’ संसारमै जग्गाको मूल्यवृद्धि हुँदा यस्ता ठूला भवन निर्माण सुरु भएको उनको भनाइ छ । ‘सुरुका चरणमा बनेका भवन रहरभन्दा पनि आवश्यकताले बनेका थिए । तर पछिल्लो समय कतिपय स्थानमा यस्ता भवन आकर्षणले पनि बनेका छन्’, उनले भने ।

नेपालमा २०६० सालबाट ठूला भवन निर्माण सुरु भएका हुन्, जुन बेला नेपालमा हाउजिङ, अपार्टमेन्ट निर्माणले विकासको लय पक्रिँदै थियो ।

ठूला भवन व्यापारिक प्रयोजनका लागि निर्माण हुन थालेका छन् । एउटै भवनमा सबै सुविधा, अफिस कार्यालय अनि प्रशस्त पार्किङ व्यवस्थाले पनि मानिसलाई यस्ता भवनप्रति आकर्षित गरेको थापाको भनाइ छ । उनका अनुसार नेपालमा विशेषगरी २०६० सालबाट ठूला भवन निर्माण सुरु भएका हुन्, जुन बेला नेपालमा हाउजिङ, अपार्टमेन्ट निर्माणले विकासको लय पक्रिँदै थियो । त्यसअघि पनि यस्ता भवन नबनेका भने होइनन् ।

राणाकालीन सरकारले आफूलाई आवश्यक पर्दा बाहिरबाट इन्जिनियर भवन निर्माण गरेका थिए । तर २०६० देखि नेपाली निर्माण व्यवसायी पनि सक्षम बन्दै गए, उनीहरूको कार्यक्षमतामा वृद्धि भयो, उपकरण भित्रिए । त्यसलाई समाजले पनि स्वीकार गर्‍यो । मानिसलाई अग्ला घर राम्रै हुँदा रहेछन् भन्ने भयो । २०६२÷६३ सालको जनआन्दोलनपछि काठमाडौंमा जग्गाको मूल्य आकासियो । त्यहाँबाट अहिलेसम्म आइपुग्दा नेपालमा सयौंको संख्यामा ठूला अनि आकर्षक भवन बनेका छन् ।

‘यस्ता भवन काठमाडौँका लागि आवश्यक पनि छन्’, नेपाल निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले भने, ‘जुन रूपले भाटभटेनीलगायत ठूला र आकर्षक स्थानमा सामान खरिद गर्नेको हुल बढेको छ, यसबाट मानिसले एकै ठाउँमा घेरै कुरा खोजिरहेको दर्साउँछ ।’ भाटभटेनी र असनका गल्लीको तुलना गर्ने हो भने दुवै स्थानमा हजारौंको संख्यामा मानिस अटाउँटन् । तर व्यवस्थित भाटभटेनी र ठेलमठेल असनका गल्लीलाई हेर्दा सर्वसाधारणले मल, भाटभटेनीजस्ता हजारौं भवन माग गरिरहेको सजिलै बुझ्न सकिन्छ ।

लामिछानेका अनुसार यस्ता भवन जनसंख्या व्यवस्थापनका लागि पनि उपयुक्त हुन्छन् । यस्ता भवनले देशको पूर्वाधारको विकासका साथै अर्थतन्त्रलाई माथि ल्याउने काम गर्छन् । यो नेपालको आर्थिक मापन गर्ने एउटा टुल्स पनि हो । त्यसका लगि बनेका ठूला भवनलाई पूर्ण रूपमा पूर्वाधारयुक्त बनाउनु आवश्यक हुन्छ । यस्ता भवन सडक, बिजुली, सूचना प्रविधिलाई प्रतिरोध गर्ने खालका हुनु भने भएन ।

सरकाले पनि यस्ता भवनलाई आफ्नो मुख्य परियोजनाका रूपमा राखेर निर्माण गरिरहेको छ । सरकारले पुरानो बसपार्कमा भ्युटावर निर्माणका लागि अघि सारेको परियोजना त्यसको एउटा उदाहरण हो । ‘यो भवन एउटा भवन मात्र हुनेछैन, त्यहाँ आवश्यक सम्पूर्ण पूर्वाधार हुनेछन्’, आवास तथा घरजग्गा व्यवसायी संघका उपाध्यक्ष मीनमान श्रेष्ठले भने, ‘त्यसले नेपालको प्रतिनिधित्व गर्नेछ ।’ जबसम्म यस्ता भवन सुरक्षित र भरपर्दा हुन्छन्, तिनले देशको परिचय पनि बोकेका हुन्छन् ।’ यस्ता भवनले समृद्धि र परिपक्वपनलाई पनि दर्साउने उनको भनाइ छ ।

सुरक्षा र सेवाका हिसाबले हेर्ने हो भने पनि यस्ता भवनको पछिल्लो समय महत्व बढ्दै गएको छ । यस्ता भवन आवश्यकताअनुसार विभिन्न ठाउँ बन्दै गएका छन् । काठमाडौं अनि सहरबाट बाहिर निस्किएर जहाँ ट्राफिक जाम कम छ, बाटो सुविधा छ, त्यस्ता स्थानमा ठूला भवन बनेका छन् । ‘मानिलाई सजिलो चाहिएको छ ।

त्यहीअनुसार यस्ता सुविधायुक्त भवन बाहिर बन्न थालेका हुन्’, श्रेष्ठले भने, ‘जहाँजहाँ बस्ती विकास भयो, त्यहाँ यस्ता भवन निर्माण भएका छन् । यो आवश्यकताका आधारमा निर्माण भएको छ । उहाहरणका लागि भक्तपुरको भाटभटेनी अनि सँगै निर्माणाधीन १९ तले भवन । यस्ता भवन आवासीय प्रयोजनभन्दा पनि व्यावसायिक प्रयोजनका लागि उपयुक्त हो । यो साना घर निर्माणको तुलनामा केही असहज छ । तर पछिल्लो समय भित्रिएको प्रविधिले यसलाई पनि सहज बनाएको छ । अहिले ठूलाठूला क्रेन, डोजर लगाएका यन्त्र घर निर्माणका लागि प्रयोग हुन थालेका छन्, जुन आवश्यक पनि हो । साना घरजस्तो ठूला भवन मानव श्रमले मात्र निर्माण सम्भव पनि छैन।

विश्वव्यापीकरणको अहिलेको समयमा यसलाई समृद्धिको सूचकका रूपमा हेरिनुपर्छ । तर यसो भन्दैमा भवन निर्माण गर्दा कहाँ गर्ने, कस्तो माटोमा निर्माण गर्ने भन्ने विषयलाई बिर्सन भने नहुने थापाको भनाइ छ । उनका अनुसार यस्ता भवन निर्माणका लागि व्यापारिक क्षेत्र निर्धारण आवश्यक छ । आवासीय प्रयोजनका लागि साना र व्यवसायका लागि ठूला भवन निर्माण हुनुपर्छ । जहाँ फराकिलो सडक छ, त्यहाँ अग्लाअग्ला बिल्डिङ बन्नु स्वाभाविक होला । तर साँघुरा सडक र घना जनसंख्या भएको ठाउँमा ठूला भवन अभिशाप हुन सक्छन् । त्यसैले अबको बाटो भनेको ठुला भवन तर स्थानविशेषमा हुनु जरुरी छ ।

अग्ला भवन निर्माण गर्दा अपनाउनुपर्ने मापदण्ड

६ तलाभन्दा अग्ला संरचना निर्माण गर्न स्थान हेरेरमात्र निर्माण स्वीकृति पाइनेछ । बजार र बढी भीड हुने क्षेत्रमा ६ मिटर कम चौडाइका सडक किनारमा भवन निर्माणमा गर्न पाइनेछैन ।६ तलासम्म अग्लो भवन बनाउँदा ३ मिटर र त्यसभन्दा अग्ला भवन ६ मिटर बाटो छाडेर निर्माण गर्नुपर्नेछ ।

सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिकलगायत भवन निर्माण गर्दा माटो परीक्षण अनिवार्य गर्नुपर्नेछ ।नयाँ निर्माण हुने भवनको ‘ग्राउन्ड कभरेज’ ७० प्रतिशत हुनुपर्नेछ ।पर्खालको उचाइ १ दशमलव २ मिटरमात्र हुनुपर्छ । त्यसभन्दा अग्लो बनाउन चाहे शून्य दशमलव ५ मिटर जाली राख्नुपर्नेछ ।दुई घरको पिलरको फरक एक मिटर हुनुपर्नेछ । नापी नक्सा भएको कुलो, खोल्सी, राजकुलो भएको स्थानमा घर बनाउँदा दायाँबायाँ ४÷४ मिटर बाटो छाड्नुपर्नेछ ।

३० मिटर लामो आवासीय प्लटमा सार्वजनिक बाटो प्रवेशको चौडाइ १ दशमलव ५ मिटर र ५० मिटर लम्बाइ भएको प्लटमा २ मिटर चौडा बाटो हुनुपर्नेछ।
२ सय मिटर लम्बाइको प्लटमा ४ मिटर, १ हजार मिटर क्षेत्रफल भएको प्लटमा ५ मिटर र २ हजार मिटर क्षेत्रफल भएको आवास क्षेत्रमा करिब ११ मिटर चौडा बाटो हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.