राणा र लोहनीको राप्रपालाई 'हलो'
काठमाडौं : राप्रपा विभाजनको एउटा प्रमुख मुद्दा थियो, चुनाव चिह्न ‘गाई कि हलो !' पार्टी अध्यक्ष कमल थापाले राप्रपा नेपालकै चुनाव चिह्न ‘गाई' लाई नै एकीकृत राप्रपाको चुनाव चिह्न बनाएको भन्दै तत्कालीन वरिष्ठ नेता पशुपतिशम्शेर राणा समूह आक्रोशित बनेको थियो। विभाजनपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले ‘हलो' चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा दल त दर्ता गर्यो तर आगामी निर्वाचनमा राणा समूहले एकलौटी रूपमा ‘हलो' चिह्न नपाउने स्पष्ट भएको छ।
राणा समूह आयोगमा पुग्नुअगावै पार्टी एकताको विपक्षमा उभिएर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका नेता डा.प्रकाशचन्द्र लोहनीले ‘हलो' माग्दै आयोगमा दल दर्ता गरेका थिए।
राणा र लोहनीले एउटै चिह्न मागेपछि आयोगले दुवैको चित्त बुझाउने गरी फरक पृष्ठभूमि राखेर दुवैलाई ‘हलो' चिह्न दिएको छ। राणाले गोलाकारभित्र ‘हलो' पाएका छन् भने लोहनीले ‘आयातकारभित्र हलो' पाएका छन्। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दर्ता भएका ९५ दललाई चुनाव चिह्न पनि प्रदान गरेको छ। आयोग प्रवक्ता नवराज ढकालका अनुसार ८७ दलले एकल चुनाव चिह्न माग्दै दल दर्ता गरेका छन् भने ८ दल संयुक्त रूपमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने गरी दर्ता भएका छन्। हालै पारित प्रतिनिधिसभा ऐनले दुई वा दुईभन्दा बढी दल संयुक्त भई एकल चिह्नमा भाग लिन पाउने व्यवस्था गरेपछि आठ दलले यस्तो सुविधा प्रयोग गर्न लागेका हुन्।
राप्रपा प्रजातान्त्रिकले ‘गोलाकारभित्र हलो' र राप्रपा राष्ट्रवादीले ‘आयातकारभित्र हलो' पाएका छन् भने राजपाले ‘छाता' र जनशक्ति नेपालले ‘गोलाकारभित्र छाता' चिह्न पाएका छन्।
आयोगका अनुसार माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा लिएर प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र लोकमणि ढकालको जनजागरण पार्टी दर्ता भएका छन् भने नेकपा माले र जनसमाजवादी पार्टी नेपाल मालेको चुनाव चिह्न हँसिया र तारा लिएर प्रतिस्पर्धामा जाने गरी दर्ता भएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले साउन १४ गते सूचना प्रकाशित गरेको थियो। ठूला दलले ढिलो मात्रै आयोगमा दर्ता गरे पनि पुरानै चिह्न पाएका छन्। आयोगको सूचनाअनुसार चर्चामा नरहेका र नाम नसुनिएका दलहरूले छिटो गरी दल दर्ता गरेका थिए। एमाले ४० औं नम्बरमा दर्ता भएको थियो भने कांग्रेसको दर्ता संख्या ७३ छ। दाहिने आँखा चुनाव चिह्न पाएको नयाँ शक्ति ५० औं नम्बरमा दर्ता भएको थियो भने छाता चिह्न पाएको राजपा ५१ औं नम्बरमा दर्ता भएको छ। राजपासँग मिल्दोजुल्दो गरी जनशक्ति नेपालले गोलाकारभित्र छाता चिह्न पाएको छ।
तेस्रो चरणमा ३६ हजार ७३ उम्मेदवार
काठमाडौं : दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरण स्थानीय निर्वाचनमा ३६ हजार ७३ जना उम्मेदवार बनेको निर्वाचन आयोगले जनाएको छ। अध्यक्ष÷प्रमुखका लागि १ हजार ७ सय ८३, उपाध्यक्ष÷उपप्रमुखका लागि १ हजार एक सय ३०, वडाध्यक्षका लागि ८ हजार १८ जनाको उम्मेदवारी परेको छ। आयोगले उम्मेदवार मनोनयनका लागि बुधबारको समय दिएको थियो।
आयोगका अनुसार दुई खुला सदस्य पदमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३ सय ६० र महिला दलित सदस्यमा ५ हजार ७ सय ५ जनाको उम्मेदवारी परेको छ। एक महानगरसहित तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकाका ६ हजार ६ सय २७ पदका लागि असोज २ गते दुई नम्बर प्रदेशमा निर्वाचन हुन लागेको हो।