जीतपुरसिमरा उपमहानगर हाक्न प्रमुख तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा
सिमरा : सम्भावना धेरै भएपनि विकासले फड्को मार्न नसकेको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका नागरिक लामो समयदेखि निराश छन् । दुई नम्बर प्रदेशकै उत्कृष्ट उपमहानगरकोरुपमा हेरेका स्थानीयले सोचे जस्तो विकासको अनुभव गर्न सकेका छैनन् ।
पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने उपमहानगभित्र देशकै दोस्रो अन्र्तराष्ट्रिय बिमानस्थल र बिशेष आर्थिक क्षेत्र(सेज) निर्माणको प्रक्रियामा छ । तराई मधेस द्रुतमार्ग नजिकै रहेको उपमहानगरभित्रै पर्सा राष्ट्रिय निकुञ्ज पनि पर्दछ । चार तारेस्तरको होटल सञ्चालनले पनि यस उपमहानगरलाई अझ बढी सम्भावना बोकेको नगरको सूचिमा राखेको छ ।
एक लाख १५ हजार जनसंख्या र ५७ हजार मतदाता रहेको यस उपमहानगरका नागरिक लामो समयदेखि विकासको प्रतिक्षामा छन् । देशमा भएका थुप्रै आन्दोलनको अगुवाई गर्ने स्थानमध्येको एक जीतपुरसिमरा उपमहानगरका नागरिक स्थानीय तहको निर्वाचनपछि भने विकासको ढोका खुल्ने र समृद्धितर्फ अघि बढ्नेमा आशाबादी छन् । निराश जनताको बिश्वास बटुल्न र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धतासहित राजनितिक दलका उम्मेदवार यतिबेला आफ्नो एजेण्डा लिएर नागरिकको घरदैलोमा पुग्न थालेका छन् ।
घरदैलोमा पुगेका मध्ये प्रमुख तीन ठुला दलका उम्मेदवारको चर्चा उपमहानगरभित्र छ । तेस्रो चरणअन्र्तगत हुने असोज २ गतेको चुनावका लागि जीतपुरसिमरा उपमहानगरको जिम्मेवारी सम्हाल्न यतिबेला नेपाली कांग्रेसबाट कृष्णवर्त सिंह, नेकपा एमालेबाट डा. कृष्ण पौडेल र नेकपा माओवादीकेन्द्रबाट राजन पौडेल चुनावी मैदानमा छन् । मतदाताको घरदैलोमा पुगिरहेका उम्मेदवारले उपमहानगरलाई समृद्ध बनाउका निम्ति आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
‘भष्ट्राचारमुक्त उपमहानगर बनाउने मेरो लक्ष्य'
जीतपुरसिमरा उपमहानगरमा नेपाली कांग्रेसको अगुवा नेताका रुपमा परिचित छन् मेयर उम्मेदवार कृष्णव्रत सिंह । स्थातक तह अध्ययन गरेका सिंह २०४९ सालको स्थानीय निकाय निर्वाचनमा भवानीपुरजीतपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०१९ सालमा जन्मिएका सिंह ३० वर्षको जनप्रतिनिधि बनेका थिए ।
जनप्रतिनिधि भई गाविसको अध्यक्षको कार्यकाल चलाएका सिंह २०५४ सालको स्थानीय निर्वाचनमा भने नेकपा एमालेका देवनारायण चौधरीसँग पराजित भएका थिए । त्यसयता पार्टीको काममा सक्रिय रहेका सिंहलाई कांग्रेसले जीतपुरसिमरा उपमहानगरको प्रमुखको लागि उभ्याएको छ । मेयरका लागि आकांक्षा राखेका अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै टिकट पाएका सिंह उत्साहित हुदैँ मतदातामाँझ पुगिरहेका छन् ।
साविकको भवानीपुरजितपुर गाविसको नेपाली कांग्रेसका संस्थापक अध्यक्ष रहदैँ आएका सिंह लायन्स क्लबमा आवद्ध रहेर काम गर्दै आएका थिए । झण्डै एक महिना लामो संघर्षपछि पार्टीबाट टिकट पाएका सिंह यतिबेला मतदाताको घरघरमा पुगिरहेका छन् । आफ्नो उम्मेदवारी भष्ट्राचारविरुद्ध रहेको सिंह बताउछन् । मेयरमा निर्वाचित भएपछि उपमहानगरलाई भष्ट्राचार मुक्त बनाउने योजना उनको छ । जनताको करबाट सञ्चालन हुने संस्थामा भष्ट्राचारलाई स्थान नदिने भन्दै सिंहले त्यसपछिका दिनमा उपमहानगरको बिकासमा लाग्ने बताउछन् ।
सिंहले उपमहानगरलाई शैक्षिक हबको रुपमा विकास गर्न चाहेको बताए । उपमहानगरका जनतासँग चेतनाको कमी रहेको भन्दै सिंहले चेतनशील उपमहानगरका लागि शिक्षाको आवश्यकता रहेको बताएका छन् । ‘जनतासँग शैक्षिक चेतनाको कमी छ, मेरो उम्मेदवारी चेतनाको विकासका लागि पनि हो' सिंहले भने ‘चेतनाको विकास गर्न जरुरी छ, त्यसपछि उपमहानगरको विकासका लागि जनतासँग मिलेर काम गर्छु ।' उपमहानगरको भौतिक बिकासका निम्ति लाग्ने भन्दै रोजगार सिर्जन गर्नका लागि काम गर्ने योजना बनाएका छन् । त्यससँगै स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गर्ने सोच आफूले बनाएको सिंहले बताएका छन् ।
‘समृद्ध महानगरको आधार बनाउन मेरो उम्मेदवारी'
सामाजिक र सहकारी अभियन्ताका रुपमा जीतपुरसिमरा उपमहानगरपालिकामा परिचित अनुहार हुन् नेकपा एमालेका उम्मेदवार डा. कृष्ण पौडेल । २०२९ सालमा जन्मिएका पौडेल प्ररायु संघदेखी हुदैँ नेकपा एमालेको राजनितिमा प्रवेश गरेका थिए । १५ बर्ष जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी सम्हालेका पौडेल अहिले जिल्ला सचिवालय सदस्य छन् । सहकारी बिषयमा विद्यावारिधी, ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका पौडेलले जीतपुरसिमरा उपमहानगरलाई महत्वपूर्ण गन्तब्यका रुपमा हेरेका छन् ।
उपमहानगरभित्रको वर्तमान अवस्था र आफु प्रमुखमा निर्वाचित भएपछि काम गर्ने योजनाको खाका लिएर मतदाताबीच पुगेका डा. पौडेलको लक्ष्य जीतपुरसिमरा उपमहानगरलाई समृद्ध महानगरको आधार खडा गर्ने रहेको छ । सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका पौडेलले देशकै उत्कृष्ट सहकारीको रुपमा हातेमालोलाई उम्भ्याईसकेका छन् । संघसंस्थाको नेतृत्वका बारेमा जानकार पौडेललाई स्थानियले पनि सफल नेतृत्व गर्ने ब्यक्तिका रुपमा हेर्ने गरेका छन् ।
तीन महिनाभित्र रणनीतिक लक्ष्य, मार्गचित्र, पञ्चवर्षीय आवधिक योजना, अल्पकालीन कार्ययोजना र आवधिक मूल्यांकनको आधारमा काम गर्ने पौडेलको लक्ष्य छ । उपमहागरको पुर्वाधार निर्माणसँगै जेष्ठ नागरिक, युवा, महिला लक्षित कार्यक्रम, मधेसी थारु बुहारी कार्यक्रम, दलित, आदिवासीजनजाति र सीमान्तीकृत समुदायका लागि प्रभावकारी योजना ल्याउने उनको सोच छ । कृषिको बढी सम्भावना रहेको उपमहानगरमा बजार व्यवस्थापन, सहकारी, बित्तीय सशक्तीकरणसहित घरेलु उद्यम व्यवसायको प्रवद्र्धन र स्वरोजगारी सिर्जना गर्ने योजना उनले बनाएका छन् ।
उपमहानगरकै ठुलो समस्याको रुपमा रहेको अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखेको भन्दै पौडेलले खेतीयोग्य जमिनको संरक्षण गर्नका निम्ति प्लटिङ न्युनीकरण, ब्यवस्थित चक्रपथसहित उपमहानगरभित्र सबै स्थानमा सडकको सुविधा, गांउमा सामुदायिक भवन, क्लव, खेलमैदान, वाचनालय, व्यायामघर निर्माण गर्ने उनको सोच छ । औद्योगिक क्षेत्रतर्फ वीरगञ्ज- पथलैया औद्योगिक करिडरको प्रवद्र्धनमार्फत उद्योगको पर्याप्त विकास र सम्वद्र्धन गर्न सक्रिय रहने प्रतिबद्धता उनले मतदातामाझ व्यक्त गरिरहेका छन् ।
स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, वन तथा वातावरण संरक्षण, बसपार्क, पार्क बनाउनुका साथै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक विविधतायुक्त स्थान, उच्च सामुदायिक चेतनास्तर रहेको भन्दै पौडेलले समृद्ध उपमहानगर बनाउने आफ्नो योजनामा सबैको साथ पाउने आशा राखेका छन् ।
‘कृषि र पर्यटनको विकास मेरो लक्ष्य'
नेकपा माओबादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेल जीतपुरसिमरा उपमहानगरको युवा उम्मेदवार हुन् । २०३५ सालमा जन्मिएका पौडेल २०५५ सालदेखि माओवादीमा आवद्ध भएका थिए । जनयुद्धमा साढे तीन बर्ष जेल जीवन बिताएका पौडेललाई नेकपा माओबादी केन्द्रले यतिबेला जीतपुरसिमरा उपमहानगरप्रमुखको रुपमा अघि सारेको छ ।
उपमहानगरमा निर्वाचित भएपछि कृषि र पर्यटनको विकास गर्ने लक्ष्य लिएका पौडेल यतिबेला मतदाताको घरघरमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । पौडेलले उपमहानगरमा बामे सर्दै गएको पर्यटनको विकासका साथै कृषिमा निर्भर भइरहेका जनताका लागि कृषि क्षेत्रमा बिकास गर्ने लक्ष्य लिएका छन् ।
केन्द्रीकृत शासन व्यवस्थालाई स्थानीय तहमा ल्याउनका लागि नेकपा माओवादीले खेलेको भूमिकामा आफू सहभागी रहेको भन्दै पौडेलले पार्टीले पनि उपयुक्त ठानेर आफूलाई उम्मेदवार बनाएको बताए । माओवादीले बोकेको राष्ट्रियताको एजेण्डालाई पुरा गर्न योद्धाका रुपमा काम गरेको भन्दै पौडेलले अबका दिन पनि उपमहानगरको विकासका जनचाहनाअनुरुप काम गर्ने बताए । शान्तिप्रक्रियापछि बाराको राजनितिमा सक्रिय रहेका पौडेलको उपमहानगरलाई लगानीमैत्री र मजदुरमैत्री बनाउने लक्ष्य छ ।
युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने र युवा स्वरोजगार कार्यक्रमलाई प्रमुखमा निर्वाचित भएपछि अघि सार्ने उनको सोच छ । ‘युवा स्वरोजगारका लागि योजना ल्याउने मेरो सोच छ, युवाहरुलाई रोजगार बनाउनुपर्दछ' पौडेलले भने ‘त्यसपछि उपमहानगरको विकासका निम्ति जनताको चाहनाअनुसार काम गर्नेछु।'
उपमहानगरमा थुप्रै सम्भावना रहेपनि बिकास नभएका कारण आफूले योजना बनाएर काम गर्ने पौडेलले बताए । नगरपालिका हुदै उपमहानगरमा प्रवेश गरेपनि आवश्यक पूर्वाधार र विकासको कमी आफूले महसुस गरेको उनको भनाई छ । उनले त्यस्तो कमीलाई पुरा गर्नका निम्ति अबको पाच बर्ष काम गर्ने बताए । लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले उपमहानगरलाई अघि बढ्न नया बाटो देखाउने पौडेलले बताए । माओवादीकै कारण स्थानीय तहको निर्वाचन भइरहेको भन्दै पौडेलले आफ्नो पक्षमा जनताले मतदान गर्नेमा आशावादी रहेको बताए ।