माधव नेपालको उत्तर कोरिया भ्रमणबारे संसदमा जुहारी
काठमाडौं : शुक्रबारको व्यवस्थापिका संसद बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमणबारे राजपाका अकवाल अहमद साह र नेमकिपाका प्रेम सुवालबीच संसद्मा जुहारी चलेको थियो । राजपाका साहले संयुक्त राष्ट्रसंघलगायत शक्तिशाली मुलुकले नाकाबन्दी गर्ने तयारी गरिरहेका बेला एमाले नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको भन्दै आपत्ति जनाएका थिए ।
नेमकिपाका सुवालले उत्तर कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध रहेको भन्दै यसअघिका सरकारका प्रतिनिधिले पनि त्यहाँको भ्रमण गर्ने गरेको तर्क पेस गरेका थिए । ४० हजार अमेरिकी सेना दक्षिण कोरियामा बसेर उत्तर कोरियामाथि आक्रमणको तयारी गरिरहेको सुवालले बताए । उनले भने, ‘पृथ्वीको अध्ययन गर्न र ऊर्जाका लागि उत्तर कोरियाले आणविक परीक्षण गर्दै छ । आफ्नो सार्वभौमिकता रक्षाका लागि उसले गरेको कार्यको समर्थन गर्नै पर्छ ।’