तरकारीमा खानै नमिल्ने विषादी

तरकारीमा खानै नमिल्ने विषादी

बुटवल : विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बुटवलमा तरकारी परीक्षण गर्दा तीन जातमा खानै नमिल्ने गरी विषादी रहेको भेटियो । सिमलामिर्चमा ५४ प्रतिशत, बोडी र भान्टामा ४७ प्रतिशत इनह्याबिएसन (विषादीको मात्रा) देखियो ।

 

मापदण्डअनुसार तरकारीमा ३५ प्रतिशतभन्दा माथि इनह्याबिएसन देखिएमा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यो मात्रा ४५ प्रतिशत कट्यो भने नष्ट नै गर्नुपर्छ । तर ल्याबबाट पुष्टि भए पनि बुटवल थोक बजार केन्द्रमा भेटिएका तीन जातका तरकारी नष्ट भएनन् । नबेच्न मात्रै आग्रह गरियो ।
विषादी भेटिएको कृषि उपज नष्ट गर्ने ऐन र कार्यविधि नबनेका कारण नष्ट गर्न नपाएको ल्याब प्रमुख रामबहादुर खत्रीले बताए । ‘नष्ट गर्न कानुन छैन', उनले भने, ‘विषादी भेटिएको तरकारी नबेच्न आग्रह मात्रै गर्ने गरेका छौं ।'

कानुन नभएकै कारण उपभोक्ताले विषादीयुक्त तरकारी खान बाध्य छन् । तर संसद्बाट कानुन बन्ने सम्भावनासमेत छैन । बुटवल थोक बजारमा रहेको प्रयोगशालामा अहिले पनि विषादी मिसिएका तरकारी तथा फलफूल भेटिएका छन् । खानै नमिल्ने खालको नभए पनि कम्तीमा ३ देखि ५ दिनपछि मात्रै खानुपर्ने हुन्छ ।

सिमलामिर्च, बोडी, भान्टा, आलु, फर्सी र काँक्रोमा समेत इनह्याबिएसनको मात्रा ३५ प्रतिशतभन्दा माथि देखिएको छ । सिजनका तरकारीभन्दा बेमौसमी तरकारीमा बढी विषादी भेटिएको बाली विकास अधिकृतसमेत रहेका खत्रीले जानकारी दिए । धादिङ र चितवनबाट रूपन्देही आएको काँक्रो र फर्सीमा विषादी रहेको भेटिएको छ । भारतीय आलुमा समेत विषादी भेटिएको खत्रीले बताए । रूपन्देहीमै उत्पादन गरेको भान्टामा विषादी राखिएको भेटिएको छ ।

कानुन नभएकै कारण उपभोक्ताले विषादीयुक्त तरकारी खान बाध्य छन् । तर संसद्बाट कानुन बन्ने सम्भावनासमेत छैन ।

इन्ह्याबिएसनको मात्रा ४५ प्रतिशतभन्दा तल भए दुई÷तीन दिन राखेर वा राम्रोसँग पखालेर खाँदा विषादी जाने प्रयोगशालाका प्राविधिक सहायक नरदेश प्रभाकरको भनाइ छ । प्राविधिक भाषामा जसलाई क्वारेन्टाइन गरेर प्रयोग गर्ने भनिन्छ । प्रदेशस्तरीय बुटवलको प्रयोगशालाले थोक बजार केन्द्र बुटवलमा आउने काउली, बन्दा, फर्सी, लौका, आलु, टमाटर, बोडी, सिमीलगायत तरकारीको नियमित परीक्षण गरिरहेको छ । फलफूलमा केरा र अंगुरमा विषादी राखिएको भेटिएको प्रमुख खत्रीले बताए ।

केरा पकाउन राखिएको कार्बोहाइड्रेड स्वास्थ्यका लागि निकै जोखिम हुन्छ । त्यही औषधि प्रयोगले विषादी भेटिएको थियो । गोबारो मार्न राखिने काब्रोफ्युरान विषादीले समेत तीन महिनासम्म असर गर्ने भएकाले केरामा देखिन सक्ने उनको भनाइ छ । अंगुरमा भने विषादी नियमित भेटिने गरेको छ । स्याउ, अनारमा भने विषादी नभेटिएको खत्रीले बताए । प्रायः चैत, वैशाख र जेठमा बजारमा आउने तरकारीमा बढी विषादी भेटिने गरेको छ । जुनसुकै तरकारी र फलफूल राम्रोसँग धोएर मात्रै प्रयोग गर्न खत्रीले आग्रह गरे ।

बुटवलको प्रयोगशालामा दुई घन्टामै विषादी भए÷नभएको पत्ता लगाउन सकिन्छ । देशभर तरकारीमा विषादीको मात्रा बढेपछि सरकारले सातै प्रदेशमा ल्याब बनाएको हो । कार्यविधि नहुँदा स्थापना भएको लामो समयसम्म पनि ल्याब सञ्चालनमा थिएनन् । बुटवलको ल्याब गत साताबाट मात्रै नियमित सञ्चालनमा आएको हो । बाली संरक्षण निर्देशनालयले करिब एक करोड रुपैयाँमा ल्याब बनाएको हो । बुटवलको थोक बजारमा दैनिक ३ सय मेट्रिक टनसम्म तरकारी आउने गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.