आचारसंहिताको उलंघन गर्दै दलका नेता र कार्यकर्ता : निर्वाचन आयोगको कडाई
बर्दिबास : निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध प्रमुख निर्वाचन कार्यालय महोत्तरीले कारबाही थालेको छ । चुनाव आचारसंहिता उल्लंघन गरेर सर्वाजनिक स्थलमा राखेका तुल ब्यानर, झण्डा जस्ता निर्वाचन प्रचार समाग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएका छन् ।
महोत्तरीका स्थानीय विकाश अधिकारी युवराज पौडेल, शिक्षा अधिकारी ठूलोबाबु दाहाल र जिल्ला वन अधिकारी राजेन्द्र जयसवालको नेतृत्वमा छुट्टाछुट्टै आचारसंहिता अनुगमन टोली गठन गरी शुक्रबारदेखि आचारसंहिता पालनामा कडाई गरेको हो ।
सदरमुकाम जलेश्वर र वर्दिबासका सार्वजनिक स्थलमा टाँगिएका दलका झण्डा, चुनाव चिन्ह , ब्यानरलगाएत प्रचार सामग्री हटाएको मुख्य निर्वाचन कार्यालय महोत्तरीका मुख्य निर्वाचन अधिकृत किरण पोखरेलले बताए ।
असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि चुनावी मैदानमा रहेका उमेदवार तथा कार्यकर्ताले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेकाका छन्। जिल्लाको सदरमुकाम जलेश्वर, गौशाला, बर्दिवास, औरही, रामगोपालपुर लगायतका स्थानमा स्थानिय राजनितीक दलले खुलेआम रुपमा निर्वाचन आचारसंहितको उल्लंघन गरेको पाइएको छ ।
चुनावी प्रचारमा बालबालिकको प्रयोग, ठूलो आवाडमा पार्टीको प्रसार–प्रचार गर्दै कार्यकर्तालाई टिसर्ट र टोपीलगायतका पार्टीका चुनाव चिन्ह अंकित सामग्री वितरण गरिएको छ। मानव अधिकार रक्षक संजाल (ईन्सेक) का महोत्तरी प्रतिनिधी अजय कुमार साहका अनुसार, यहाँका कुनै पनि राजनीतिक दलले आचारसंहिता पालना गरेका छैनन् ।