पैसा र पहुँच हुनेलाई मात्र कांग्रेसको टिकटः पौडेल
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पैसा र पहुँच हुनेले मात्र टिकट पाएको भन्दै नेतृत्वको कटाक्ष गरेका छन् । पार्टी क्षेत्र नम्बर २ ले एक सय एक औं बीपी जयन्तीको अवसरमा शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रममा उनले पहुँचवालालाई मात्र टिकट दिने प्रवृत्तिको अन्त्य हुनु जरुरी रहेको बताए ।
पार्टीमा गुण्डागर्दी र शक्ति देखाउनले मात्र टिकट पाएको दाबी गर्दै उनले यस्तो अवस्थाको अन्त्य नभए पार्टीलाई क्षति पुग्ने चेतावनी दिए । ‘राजनीतिलाई घृणा गर्ने अवस्था आउन दिनुहुन्न,’नेता पौडेलले भने,‘पार्टीभित्र जनताबाटै मत पाएर चुनाव जित्नेले मात्र टिकट पाउनुपर्छ ।’ पार्टी नियम र व्यवस्थामा चल्न नसकेको संकेत गर्दै उनले भने,‘पार्टी नियम र व्यवस्थामा चल्नुपर्छ । अनि मात्र न्याय हुन्छ ।’
बीपीले विपन्न वर्गकालाई समेत आर्थिक हिसाबले सबल बनाएर समतामूलक समाज बनाउन चाहेको स्मरण गर्दै उनले विपन्नलाई आय र निमुखालाई न्याय दिने बाटोमा पार्टी लाग्नुपर्ने बताए । बीपीको आदर्शलाई पार्टीले स्थापित गर्नुपर्नेमा जोड दिएका पौडेलले जनताको दिल र दिमागमा पार्टीलाई पु¥याउने व्यवहार नेतृत्वबाट हुनुपर्ने बताए । यसका लागि नेतृत्वले आचरण सुधार्नुपर्ने उनको भनाई थियो ।