पतिले भनेको उम्मेदवारलाई भोट

पतिले भनेको उम्मेदवारलाई भोट

जनकपुरधाम : मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन ।

बुहारीले ससुरा, जेठान र छिमेकी पुरुषसँग संवाद नगर्ने परम्परा अहिले पनि मधेसमा छ । सोही परम्पराकै कारण उम्मेदवार आफूलाई प्रत्यक्ष रूपमा मत माग्न सक्दैनन् ।जनकपुर उपमहानगरपालिका–२० देवपुराकी ६५ वर्षीय सोनावतीदेवी दास दलका उम्मेदवारले प्रचारप्रसारका लागि थमाएर गएको पर्चा हेर्दै गरेको भेटिइन् । लेखपढ गर्न नजान्ने दासलाई पर्चामा रहेका उम्मेदवारको तस्बिर र चुनाव चिह्नले मात्रै आकर्षित गरेको देखिन्थ्यो ।

 

दलको चुनाव चिह्नबारे परिवारका सदस्यले भनेको तथा यसअघिका चुनावका बेला चुनाव चिह्न हेरेकाले दासले एक–दुई दलको चुनाव चिह्न छुट्याउन सकिन् । उनले अन्य दलका उम्मेदवार र चुनाव चिह्नबारे थाहा नभएको सुनाइन् ।

चुनाव केका लागि हो ? के फाइदा हुन्छ जस्ता विषयमा अनभिज्ञ दास श्रीमान् र छोराले भनेकै ठाउँमा भोट खसाल्ने सोचमा छिन् । उनी भन्छिन्, ‘हामीलाई को दल, को उम्मेदवार थाहा छैन । घरका मालिकले जहाँ भन्छन् त्यहीँ भोट हाल्छौं ।’

धनुषा घोरघाँस गाउँकी ४० वर्षीय गंगाकुमारी महतोका छिमेकी उम्मेदवार बनेका छन् । तर, उनी श्रीमान्ले चिनाइदिएको चिह्नमै भोट खसाल्ने बताउँछिन् ।‘श्रीमान् घरका मुखिया हुन्, उनी जान्ने छन् हामीले उम्मेदवारलाई चिन्ने कुरा पनि भएन, त्यसैले श्रीमान्ले जसरी सिकाउँछन् त्यसरी नै भोट हाल्ने हो’, महतोले भनिन् ।

पहिलो पटक मतदान गर्न लागेकी २५ वर्षीय रञ्जुदेवी मण्डल परिवारले भनेकै ठाउँमा मतदान गर्ने बताउँछिन् । ‘राम्रो मान्छे र विकास गर्नेलाई भोट दिनुपर्छ भन्ने चर्चा घरमा चलिरहेको हुनाले श्रीमान् र घरपरिवारले जुन उम्मेदवारलाई भन्छन् तिनैलाई भोट दिन्छु’, मण्डलले भनिन् ।
धनुषालगायत मधेसका अन्य जिल्लामा पनि महिलाले आफ्नो मत घरपरिवारका पुरुष सदस्यले भनेकै भरमा दिने गरेका छन् ।

स्वतन्त्रपूर्वक मताधिकार प्रयोग गर्ने अवस्था महिलाका लागि सुनिश्चित हुन नसकेको नेत्री सम्झना बर्मा बताउँछिन् ।‘एक त राजनीतिमा महिलालाई कोटा पुर्‍याउन मात्र प्रयोग गर्ने परिपाटी छ, अर्कोतर्फ गाउँमा अहिले पनि महिलालाई घुम्टोभित्र राख्ने चलनले उनीहरू पुरुष सदस्यको इच्छाअनुसार भोट हाल्न बाध्य हुन्छन्’, बर्माले भनिन् ।

ग्रामीण भेगमा मात्र नभई सहरका महिला पनि परिवारका पुरुष सदस्यले भनेअनुसार नै मताधिकार प्रयोग गर्छन् ।धनुषामा महिला मतदाताको संख्या १ लाख ८६ हजार ४९४ छ भने पुरुष मतदाता २ लाख २८ सय ९१ छन् । तेस्रोलिंगी मतदाता ६ जना रहेको निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले जानकारी दिइन् । धनुषाका १८ वटा स्थानीय तहमा मेयर पदका लागि ९ जना र उपमेयर तथा गाउँपालिकाका उपप्रमुख गरी ११८ जनाले उम्मेदवारी दिएका छन्

पुरुष मतदाता २ लाख २८ हजार ९१

महिला मतदाता १ लाख ८६ हजार ४ सय ९४

तेस्रोलिंगी ६ जना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.