होटलमा लगानी : लहडमा घोषणा, निर्माण सुस्त

होटलमा लगानी : लहडमा घोषणा, निर्माण सुस्त

काठमाडौं : राजधानीको केशरमहलमा तीन वर्षअघि धुमधामसँग शिलान्यास गरिएको पाँचतारे शेराटन होटलको ‘अन्डर ग्राउन्ड' काम पनि सकिएको छैन । गैरआवासीय नेपाली शेष घलेले २०१८ को फ्रेबुअरीमा होटल सञ्चालन गरिसक्ने घोषणा गरेका थिए । तर, यही गतिमा निर्माण भए २०२०सम्म होटल सञ्चालनमा आउने जानकार बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असोजमा शिलान्यास गरेको होटलमा घलेको आठ अर्ब रुपैयाँ लगानी हुँदैछ । होटल निर्माणको सुरुमै भूकम्प र भारतीय नाकाबन्दी बाधक बन्दियो । प्राकृतिक विपत्ति, नाकाबन्दी र मधेस आन्दोलनले मुलुकको पर्यटन पनि नराम्रोसँग प्रभावित भयो । सुस्ताउँदो पर्यटन उद्योगमा ठूलो लगानी गरेर खोलिने होटलको भविष्य पनि एकाएक अनिश्चित बन्यो । सुरुवाती समयमा सेराटन निर्माणमा जुन उत्साह देखिएको थियो, अहिले त्यति देखिदैन । तर, होटलका अप्रेसन म्यानेजर सुरेश चित्राकार एक वर्षभन्दा बढी समय रोकिएको निर्माणले गति लिएको बताउँछन् । ‘अन्डरग्राउन्ड स्ट्रक्चरको काम करिब सकिएको छ', उनले अन्नपूर्णसँग भने, ‘अब ग्राउन्डमाथि स्ट्रक्चर निर्माण सुरु हुनेछ ।' होटलमा दुई सय १८ कोठा रहनेछन् ।

 

उद्यमी मोती दुगडले विराटनगरको महेन्द्र चोकमा निर्माण गरिरहेको पाँचतारे होटल दी सेञ्चुरियन बिक्री गर्ने योजना बनाएका छन् । सपिङ मलसहितको होटलको ११ तलाको स्ट्रक्चर तयार भइसकेको छ । कहलिएका ठूला व्यावसायिक घरानालाई होटल किनिदिन आग्रह गरिरहेको दुगड निकट स्रोत बताउँछ । उनको विराटनगरमै चारतारे होटल ह्यारिसन प्यालेस सञ्चालनमा आइसकेको छ ।

सवा अर्ब रुपैयाँ लगानीमा निर्माण हुने एक सय २० कोठाको होटल अर्को दशैंसम्म सञ्चालनमा ल्याइसक्ने दुगड दाबी गर्छन् । व्यवसायीको जमघट हुने विराटनगरमा पछिल्लो चार वर्षमा आधा दर्जन होटल थपिएका छन् । विराटनगरमा होटलको संख्यासँगै ग्राहक पनि सोही अनुपातमा नबढ्ने देखिएपछि होटलको भविष्यलाई लिएर चिन्ता छाएको हो ।

राजधानीको पाँचतारे होटल सांग्रिलाले पोखरामा लक्जरी ‘द लस्ट होराइजन रिसोर्ट' खोल्ने घोषणा गरेको थियो । बेगनासको पचभैया डाँडामा रिसोर्ट खोल्ने घोषणा गरेको वर्षौं बितिसक्दा समेत निर्माणको सुरसार छैन । करिब ५० करोड लगानी रहने ४० भिल्लासहितको डिजाइन तयार भइसकेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि मात्र रिसोर्ट सञ्चालन गर्ने बताइँदै आएको छ ।

सूर्य नेपाल, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरज वैद्य, लक्ष्मी समूह, अजय सुमार्गी, अरुण चौधरीलगायत दर्जनौं ठूला घरानाले लक्जरी होटलमा लगानीको घोषणा गरेका थिए । सानो लगानीका पर्यटकीय होटल खोल्ने पनि उत्तिकै घोषणा भएको थियो । ठूला घरानाले व्यवसाय विविधीकरण गर्ने उपयुक्त विकल्प होटललाई बनाए । एक समय ‘ग्ल्यामर' मानिने होटल व्यवसायमा ठूलो लगानी गर्ने होडबाजी नै चल्यो । तर, एकाध बाहेक अधिकांश होटल प्रोजेक्ट अहिले अन्योलमा देखिएका छन् ।

एक समय होटलमा लगानी घोषणा गर्ने उत्साह नै थियो । ‘होटल ग्ल्यामर बिजनेस धेरैले लगानी गर्ने त भनिहाले तर पर्यटकको वास्तविक अंक र सञ्चालनमा रहेका होटलको अवस्था बुझ्दै जाँदा सबै झस्किए', म्यारियट होटल सञ्चालक शशीकान्त अग्रवाल भन्छन्, ‘लगानी घोषणा गर्दा जुन उत्साह देखियो थियो, पछिल्ला वर्ष पर्यटक आगमन र पर्यटकीय पूर्वाधार निर्माणमा भएको सुस्तताले लगानीकर्ताको उत्साह निराशामा परिणत भइदियो ।'

नेपालमा जुन क्षेत्रमा ‘ह्विम' आउँछ, त्यतै लगानी गर्ने होडबाजी चल्छ । होटल बिजनेसमा पनि वास्तविकता नबुझी लगानी घोषणा गरिँदा धेरै परियोजना अन्योलमा परेको व्यवसायी बताउँछन् । ‘जसले जग्गा किनेर होटलको डिजाइन बनाइ निर्माण सुरु गरिसकेका छन्, उनीहरू ब्याक हुने सम्भावना छैन', अग्रवालले भने, ‘होटल खोल्छु भने पनि निर्माण सुरु नगरिसकेका लगानीकर्ता अहिले वेट एन्ड वाचमै छन् ।' व्यवसायीका अनुसार पर्यटक बढाएर नभई आइरहेका पर्यटक तानतुन गरी होटल चलाउँछु भन्ने मानसिकताले धेरै होटलमा लगानी घोषणा गरियो ।

नेपाल पर्यटनका लागि विश्वकै उत्कृष्ट मुलुक हो । विश्वका धनाढ्य खर्चालु पर्यटक नेपाल भित्र्याउन सकिन्छ । तर, सरकार र व्यवसायी नेपालमा ठूलो संख्यामा खर्चालु पर्यटक भित्राउन चुकिरहेका छन् । सरकारले वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको डेढ दशक बितिसक्दासम्म लक्ष्य प्राप्तिमा पुगिएको छैन् । सरकारले पनि ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य नराखेको भने होइन तर सोहीअनुरुप अगाडि नबढ्दा उपलब्धि हात लागेको छैन । आगामी २०२० सम्ममा वार्षिक २० लाख पर्यटक पुर्‍याउने सरकारी लक्ष्य छ, अहिलेकै अवस्थामा १० लाख पनि पुर्‍याउन सक्ने अवस्था देखिदैन ।

नेपालमा प्रशस्त पर्यटक भित्र्याउने विमानस्थल अभाव पनि मुख्य रह्यो । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन' को अवस्थामा पुगेपछि थप पर्यटक भित्र्याउन सकिने अवस्था छैन । यही क्रममा भैरहवा, पोखरा र बारको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भनिएपछि होटलमा लगानी गर्ने होडबाजी चलेको थियो । यसमाथि त्रिभुवन विमानस्थलको पनि स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

त्रिभुवन विमानस्थलको विकल्पका रूपमा तीनवटा विमानस्थल थपिँदा मुलुकमा पर्यटकको ओइरो लाग्ने अनुमान गरिएको थियो । तर, तीनवटै विमानस्थल कहिले सञ्चालनमा आउने हुन् अत्तोपत्तो छैन । बाराको निजगढमा त एयरपोर्ट बन्ने सुरसार नै देखिदैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएको डेढ वर्षपछि भर्खर निर्माणको सुरसार हुँदैछ । त्रिभुवन विमानस्थल स्तरोन्नति गरिरहेको ठेकेदार कम्पनी साञ्जोसेसँग ठेक्का रद्द भई काम रोकिएको छ । तीव्र गतिमा निर्माण भइरहेको भैरहवा विमानस्थल निर्माणमा पनि अवरोध सिर्जना भएपछि होटलका लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन् । यो विमानस्थल भूकम्पपछि २०१८ को मध्यसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको थियो ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक छैन । निर्माण सुरु भएको तीन वर्षमा विमानस्थलको २६ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जबकी अहिलेसम्म ८६ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो । बीचमा भूकम्प, नाकाबन्दी लगायतले केही महिना निर्माण अवरुद्ध हुन पुग्यो । तर, पछिल्लो समय निर्माण सामग्री सप्लायर्स कम्पनी नर्थवेस्ट डेभलपमेन्ट नेपाल इन्फ्रा कम्पनीले समयमा आवश्यक सामग्री उपलब्ध गराउन नसकेको भन्दै चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले निर्माणमा ढिलाइ गरिरहेको छ ।

पछिल्लो पाँच महिनादेखि विमानस्थल निर्माणको काम अवरुद्ध छ । ठेकेदार कम्पनीको ढिलाइप्रति असन्तुष्टी जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण ठेक्का रद्द गर्ने मानसिकतमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवले दसैंसम्म चित्त बुझ्दो काम गर्न नसकेको खण्डमा ठेक्का रद्द गर्ने चेतावनी दिइसकेका छन् । यदि ठेक्का रद्द भएर नयाँ ठेकेदार चयन गर्नुपरेमा विमानस्थल निर्माण वर्षौं पछाडि धकेलिने निश्चित छ ।

सूर्य नेपालले पनि काठमाडौंमा पाँचतारे होटल खोल्ने घोषण गरेको थियो । दुई अर्बभन्दा बढी लगानी गर्ने भनिएको होटल निर्माणको अत्तोपत्तो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल सञ्चालन गर्ने निर्णय गरेको थियो । विदेशी मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा लक्जरी होटल सञ्चालनमा छन् । क्यानले पनि दुई अर्ब लगानीमा दुई सय कोठा भएको होटल निर्माण गर्ने भनेको थियो । बुट मोडलमा होटल निर्माण गर्ने निर्णय भएको लामो समय बितिसक्दा समेत प्रकृया अगाडि बढेको देखिदैन ।

विनोद चौधरीले स्वदेश तथा विदेशमा होटल सञ्चालन गरेर सफल भएको देखेका अरुण चौधरीले पनि आधा दर्जन लक्जरी होटल÷रिसोर्ट खोल्ने घोषणा गरिहाले । तर, होटल निर्माणको तयारी गरेको देखिदैन । गत वर्ष उनले पाँच अर्ब लगानीमा पाँचवटा तारे होटल खोल्ने घोषणा गरेका थिए । ललितपुर र पोखरामा एक÷एक वटा पाँचतारे, त्रिुपरेश्वरमा बिजनेस होटल, बुढानिलकण्ठमा ५० कटेजसहितको लक्जरी वेलनेस रिट्रिट सेन्टर सञ्चालन गर्ने घोषणा थियो ।

अटोमोबाइल्स, म्यानुफ्याक्चरिङ र रियलस्टेटमा जमेका उनी चितवनमा टाइगरल्यान्ड सफारी रिसोर्ट किनेर पर्यटन उद्योगमा प्रवेश गरेका हुन् । होटलमा लगानी घोषणाको होडबाजी देखेर सुरज वैद्यले पनि काठमाडौं, पोखरा, लुम्बिनीमा तारे होटल खोल्ने घोषणा गरे । होटल खोल्ने घोषणा गरेपनि मुलुकमा लगानीको वातावरण नभएको भन्दै पछाडि सरिरहेका छन् । अहिले उनकी होटल म्यानेजमेन्ट पढेकी छोरी शुभना बैद्य होटल सञ्चालनका लागि ठाउँ र बजार अध्ययन गरिरहेकी छिन् ।

सूर्य नेपाल, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरज वैद्य, लक्ष्मी समूह, अजय सुमार्गी, अरुण चौधरीलगायत दर्जनौं ठूला घरानाले लक्जरी होटलमा लगानीको घोषणा गरेका थिए ।

आङछिरिङ शेर्पाले पनि लैनचौरमा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने घोषणा गरेका थिए । १० तलाको होटल ली शेर्पा २०१७ को अन्तिमबाट निर्माण सुरु गर्ने भनिए पनि अहिलेसम्म निर्माण सुरु गरिएको छैन । दुई अर्ब लगानीको होटलमा एक सय २० कोठा रहने बताइएको थियो । लक्ष्मी समूहले पनि पोखरामा होटल खोल्ने घोषणा गरेर तत्कालका लागि ब्याक भएको छ । भैरहवामा तीनतारे होटल सञ्चालन गरिरहेका सीपी श्रेष्ठ बेलहियामा पाँचतारे होटलको स्ट्रक्चर तयार पारेर रोकिएका छन् ।

होटल संघ नेपाल (हान) ले २०२० सम्ममा तारे होटलमा चार हजार कोठा थपिने बताउँदै आएको छ । यी कोठा थपिँदा करिब आधा खर्ब लगानी हुँदैछ । लगानी घोषणाको आधारमा हानले यस्तो तथ्यांक निकालेको हो । तर, यो अवधिमा मुस्किलले करिब १५ सय कोठा थपिने बताउँछन्, अग्रवाल । उनले धेरै होटलको काम पोस्टपोन्ड भएको र निर्माणाधीन होटलको काम पनि अगाडि नबढेकोले यसो भनेका हुन् । ‘चार हजार कोठा थपिन त २०२५ नै कुर्नुपर्छ जस्तो लाग्छ', उनले भने, ‘अहिलेकै अवस्थामा यति धेरै कोठा पनि आवश्यक छैन्, सडक र एयरपोर्ट बनेर पर्यटक बढे भनेमात्र थपिएका कोठामा फुल अकुपेन्सी हुन्छ ।' उनको हालै ठमेलमा चारतारे फेयरफिल्ड मेरियट होटल सञ्चालनमा आइसकेको छ । आगामी ६ महिनासम्ममा नक्सालमा निर्माण भइरहेको पाँचतारे मेरियट होटल पनि सञ्चालनमा आउने छ ।

सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनी पुर्‍याउने, भारतबाट काठमाडौंसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो । काठमाडौं, पोखरा, लुम्बिनी, चीतवन, बर्दिया, बाँके, हिमाली भेग, विराटनगर, जनकपुर, धनगढी लगायत पर्यटकीय गन्तव्यमा होटल खोल्न लगानीकर्ता तम्सिए । बजेटमै घोषणा गरिएका यी परियोजना निर्माणले चुस्तता पाउन नसकेपछि लगानीकर्तामा निराशा छाएको अग्रवाल बताउँछन् ।

काठमाडौंको भत्किएका सडक र बढ्दो ट्राफिक जाम यथावत छ । मुलुकलाई जोड्ने सडक कनेक्टिभिटी झुर छ । मुग्लिनमा सडक अवरुद्ध हुँदा सौराहाका होटल समस्यामा परिसकेका छन् । देशभरकै सडकको अवस्था दयनिय नै छ । यसले पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको अग्रवालको बुझाइ छ । ‘भूकम्पपछि पुनर्निर्माणले तीव्रता पाएर छिट्टै रिकोभरी हुने अनुमान थियो । तर, अहिलेसम्म पुनर्निर्माणले चुस्तता नपाउँदा पर्यटन क्षेत्र प्रभावित बन्यो ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.