विमानस्थल सञ्‍चालन गर्न आन्दोलन

विमानस्थल सञ्‍चालन गर्न आन्दोलन

महेन्द्रनगर : सशस्त्र द्वन्द्वले बन्द मझगाउँ विमानस्थल पुनः सञ्चालनको माग राख्दै कञ्चनपुरमा आन्दोलन परिचालन समिति गठन गरिएको छ। आन्दोलन परिचालन समितिले बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने भएको छ। महेन्द्रनगरमा मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि दबाब समूहको सहभागितामा भएको बृहत् भेलाले आन्दोलन परिचालन समिति गठन गरेको हो।

 

कञ्चनपुर उद्योग वाणिज्य संघ संयोजक रहने गरी विभिन्न पेसागत संघसंगठन, नागरिक समाज, पेसाकर्मीसहितको सहभागिता रहने गरी आन्दोलन परिचालन समिति गठन भएको होे। बिहीबार भएको भेलापछि गठन भएको आन्दोलन परिचालन समितिले सरकारले नीतिगत रूपमै विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि नबढाएसम्म आन्दोलन नरोक्ने जनाएको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद जोशीले लामो समयदेखि विमानस्थल सञ्चालनको माग राख्दै आए पनि राज्यले सुनुवाइ नगरेपछि समिति गठन गरेर आन्दोलनमा उत्रिनुपरेको बताए। ‘हामीले माग राख्दा थाकिसकेको अवस्था हो', उनले भने, ‘सरकारको ध्यान पुग्न नसकेपछि बाध्य भएर नागरिकस्तरबाटै आन्दोलनमा उत्रिनुपरेको हो।'

आन्दोलन परिचालन समितिले एक हप्तापछि ठूलो संख्यामा कञ्चनपुरवासीको हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाउने बताएको छ। भदौ ३० गते बृहत् जनसहभागितामा र्‍यालीसहित प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने आन्दोलन परिचालन समितिले जनाएको छ।

‘अब नीतिगत रूपले सरकारले प्रक्रिया अघि नबढाएसम्म आन्दोलन रोक्ने सबाल हुँदैन', अभियानकर्ता एवं पत्रकार खेम भण्डारीले भने, ‘सम्भाव्यता नभएको, अनेक खालका समस्या रहेको भन्ने बहानाबाजी गरेर विमानस्थल पुनः सञ्चालन हुन नदिने षड्यन्त्र हिजोदेखि नै भइरहेको, अब सबै नागरिकले षड्यन्त्र चिरेर विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाउनुपर्छ।'

विमानस्थलको रन वे सानो, उत्तर-दक्षिण फर्किएको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुलाई असर पुग्ने कारण देखाएर विमानस्थल सञ्चालन हुनबाट राकिएको स्थानीयको आरोप छ।

विमानस्थलको रन वे कम, रन वे उत्तर-दक्षिण भएको, नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई असर पुग्नेलगायत कारण देखाएर विमानस्थल पुनः सञ्चालन हुनबाट अवरोध पुर्‍याउने काम भइरहेको स्थानीयको आरोप छ। विमानस्थल पुनः सञ्चालन गर्न सकिने÷नसकिने भनी गरिएको सम्भाव्यता अध्ययनले पनि कुनै अवरोध नदेखाएको जानकारहरू बताउँछन्। विमानस्थल पुनः सञ्चालनका लागि सरकारलाई सहयोग गर्न एक रुपैयाँ अभियानसमेत सुरु गरिनेछ।

जिल्ला विकास समितिका पूर्वउपसभापति राजेन्द्र रावलले विमानस्थल पुनः सञ्चालनमा यस क्षेत्रका नेताले सकारात्मक भूमिका नखेलेको बताए। मझगाउँ विमानस्थल सञ्चालनका लागि कुनै अवरोध नभएको भन्दै सरकारले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने उनले उल्लेख गरे। कञ्चनपुरको शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज र खप्तडसँग जोड्न कञ्चनपुर एयरपोर्ट पुनः सञ्चालनमा आउनु आवश्यक रहेको उनको भनाइ छ। पर्यटकीय दृष्टिकोणले पनि विमानस्थल पुनः सञ्चालन हुनु आवश्यक रहेको होटल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदीशचन्द्र भट्ट बताउँछन्।

करिब ५३ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थल बन्द भएको १८ वर्षभन्दा बढी भइसकेको छ। हाल विमानस्थल गौचरणमा परिणत भएको छ। २०५६ साल पुस २२ गते अन्तिम उडानका रूपमा उक्त विमानस्थलमा प्लेन उडेको हो। त्यसपछि बन्द भएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आएको छैन।

सुरक्षाको कारण देखाएर तत्कालीन समयमा बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि भन्दै परीक्षण उडान धेरैपटक भइसकेका छन्। हरेकपटक फेरिने सरकारका पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले परीक्षण उडान गर्दै आए पनि विमानस्थल पुनः सञ्चालनका लागि अहिलेसम्म सरकारले ध्यान दिएको छैन। कैलालीको धनगढी विमानस्थलबाट दैनिक ५०÷६० जना महेन्द्रनगरका यात्रुले मात्रा सुविधा लिँदै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.