गाडीहरूको गाउँ
त्यो गाडीहरूको गाउँ थियो । त्यहाँ ठूलाठूला कोच गाडीदेखि बस, मिनीबस, माइक्रो, भ्यान, ट्रक, जिप, ल्यान्डरोभर, ट्याक्टर, क्याराभान, ट्यांकर, टेम्पो, ट्याक्सीजस्ता नयाँ पुराना, ठूलासाना गाडीहरू बस्थे । त्यहाँका साना गाडी ठूला गाडीको अदब गर्थे, मान राख्थे । सडकतिर ठूला गाडी आएका देख्नेबित्तिकै साना गाडीले बाटो छाडिदिन्थे । ठूला गाडी पनि साना गाडीहरूको उचित ख्याल राख्थे।
आफ्नो कारणले साना गाडीहरूलाई अप्ठ्यारो पर्ला, टुटफुट होलान् भनी निकै होसियार रहन्थे । ती गाडीहरूमध्ये माइक्रो अलि उद्दण्ड थियो । ऊ सानो भइकन पनि हेपाहा प्रवृत्तिको र सेखी गर्ने खालको थियो । बाटो सिँगै उसको आफ्नो नै हो भनेझैं, सधैं सबै बाटो चेपेर हिँड्थ्यो । बाटो हिँड्दा उसले कसैलाई नदेख्ने मात्र हैन, गन्दैन पनि थियो । गाउँका बूढापाका गाडीहरूले उसलाई निकैपल्ट सम्झाइसकेका थिए, तर माइक्रोको कानमा बतास लागे पो।
हालसालै मात्र गाउँमा एउटा नयाँ ट्रक आएको थियो । दायाँबायाँ र अगाडि रंगीचंगी झल्लरमा सजिएको नक्कले ट्रक आफूलाई निकै राम्रो छु भन्ने घमण्ड गथ्र्यो । ऊ बाटो हिँड्दा पनि लचकलचक नाच्दै हिँड्थ्यो । उसको पारा देख्दा अरू गाडी खिसी गर्दै हाँस्थे । तर ट्रक कसैको पर्वाह गर्दैनथ्यो । यो तालले, अब कुन बेला माइक्रो र ट्रकको भिडन्त हुने हो भन्दै, गाडीहरू कुरा गर्थे । नभन्दै त्यो स्थिति आई पनि हाल्यो ।
त्यो बिहान, ट्रक आफ्नो चमकधमकसहित बाहिर निस्केको थियो । पछिल्तिरबाट माइक्रो आइपुग्यो । आफ्नो सुरमा हिँडिरहेको ट्रकले माइक्रोले एकनास बजाइरहेको हर्न सुनेन । माइक्रो झनक्कै रिसायो । ऊ ओभरटेक गरेर ट्रकभन्दा अगाडि जान कहिले दायाँ त कहिले बायाँ बाटो खोज्न थाल्यो।
‘अरूले भए यतिबेलासम्म बाटो छाडिसक्थे, हिजो भर्खर आएको यो ट्रकले निहुँ नै खोजे जस्तो छ ’ माइक्रोले रिसले चुर हुँदै सोच्यो । त्यसपछि ऊ बेतोडले ट्रकभन्दा अगाडि हुइँकियो । यसरी माइक्रो हुइँकिँदा ट्रकको एकातिरको बत्तीहरू झल्र्याम्मै फुटे । यो देखेर ट्रकको पनि पारा चढ्यो । त्यसपछि त दुइटामा कोभन्दा को कम भन्ने चर्को प्रतिस्पर्धा सुरु भइहाल्यो । कहिले माइक्रो अगाडि पुग्थ्यो, कहिले ट्रकले त्यसलाई उछिन्थ्यो ।
बाटोमा बसिरहेको ट्याक्सीले यिनीहरूको घमण्डले भरिएको चर्तिकला देखेर गाउँको बूढो गाडीलाई खबर गर्न दौड्यो । उसले टाढैबाट चिच्याउँदै भन्यो, ‘बाजे, तल सडकमा ट्रक र माइक्रो नराम्रो हानाथाप गर्दैछन् ।’
उसको चिच्याहट सुनेर बूढो बस ग्यारेजबाट निस्कियो र दुवै तल सडकतिर ओर्लिए । माइक्रो र ट्रक दुवै अगाडि सडकतिर देखिएनन् ।‘पक्कै, यिनीहरू सेखी गर्दै निकै तल पुगेका होलान्’, ट्याक्सीले बूढो बसतिर हेर्दै भन्यो । बसले चारैतिर नियाल्यो । एउटा पाखोमा ट्रक लडेको थियो । अर्को कान्लामा माइक्रो किच्चिएको थियो र माइक्रोको अगाडिको सिटतिरबाट धुवाँ पनि उठिरहेको थियो । ‘जाउ, ट्यांकरलाई पानी भरेर आइहाल भन अनि अरू गाडीहरू सबैलाई सहयोग गर्न बोलाऊ’, बसले ट्याक्सीलाई अहर्यायो ।
उनीहरूको आवाज सुनेर ट्रकले आँखा खोल्यो, तर ऊ उठ्न भने सकेन । उसका रंगीन झल्लर सबै च्यातिएका थिए । अगाडिको नाक चेप्टिएको र सिसा फुटेको थियो । अरू गाडीहरू आएर डोरीको सहायताले उठाएपछि मात्र ऊ उठ्नसम्म सक्यो ।
माइक्रोको हालत त चौपटै थियो । उसका दुवैतिरका ढोकाहरू कुच्चिएका मात्र हैनन् एउटा ढोका त कब्जाबाटै निस्किएको थियो । झ्यालका सबै सिसा र साइड बत्तीहरू पनि फुटेका थिए । अगाडि आगो लाग्न सुरु हुँदै थियो । तै धन्न, पानी बोकेर ट्यांकर समयमै आइपुग्यो । माइक्रोमा ठूलो आगलागी हुन चैं पाएन ।
जिप, ल्यान्डरोभरहरू अलि बलिया थिए, त्यसैले उनीहरूले इस्काभेटरको सहयोगले माइक्रोलाई माथि ताने । उसलाई माथि निकालिएपछि सबैले खुसीले ताली बजाए । दुखाइले भन्दा पनि माइक्रो लाजले भुतुक्क थियो ।
‘मैले तिमीलाई कत्ति सम्झाएँ, घमण्ड गर्नुहुन्न भनेर । आज यो सेखीको परिणाम देखिहाल्यौ । अब त चेत्छौ कि ? ’ बूढो बसको कुरामा सही थाप्दै मिनीबसले पनि भन्यो, ‘घमण्ड त चाहिने कुरामा गर्ने हो, राम्रो कुरामा गर्ने हो नि । बिनासित्तिको कुरामा होडबाजी गरेर नचाहिने दुःख पायौ हैन ? ’ माइक्रो चुप लागी बस्यो ।
‘ल, ल यी दुवैलाई ग्यारेज लानुपर्छ, ढिलो गर्नु भएन । अब हामीले गाउँमा यस्तो घटना नदोहोर्याउने हो भने सडकमा हिँड्न गाडीको नियम छिट्टै बनाइ हाल्नुपर्यो ।’ बूढो बसले यति के भनेको थियो, सबै गाडीहरूले हर्न बजाउँदै यो कुरालाई सकारे ।