कामदारको सुरक्षामा ध्यान दिन युएइका राजदुतलाई मन्त्रीको ध्यानाकर्षण
काठमाडौ : महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले महिला कामदारको सुरक्षाका बारेमा युएइको ध्यानाकर्षण गराएकी छिन् । नेपाली कामदारको युएइ बसाई अझै सुरक्षित,व्यवस्थित र मर्यादित हुनेमा आफू बिश्वस्त रहेको पनि मन्त्री आशा कोइरालाले बताइन ।
नेपालका लागि युएइका राजदूत सायद हम्दान अल नाक्बीसँग सोमबार सिंहदरवारस्थित मन्त्रालयमा भेट गरी मन्त्री कोइरालाले त्यस्तो ध्यानाकर्षण गराएकी हुन ।
‘युएइमा काम गर्न जाने महिला कामदारको सुरक्षा प्रति सरकार संम्वेदनशील छ । यस तर्फ पहलकदमी लिइदिन युएइ सरकार समक्ष अनुरोध गर्दछु’राजदूत नाक्वी समक्ष मन्त्री कोइरालाले भनेकी थिइन ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा युएइसँग मिलेर काम गर्ने नेपालको सरकारको चाहना पनि मन्त्री कोइरालाले राजदूत नाक्वी समक्ष व्यक्त गरेकी छिन् । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई युएइबाट हालसम्म हुँदै आएको सहयोगका लागि राजदूत नाक्वीलाई मन्त्री कोइरालाले धन्यवाद दिएकी थिइन । युएइले गरेको तीब्र आर्थिक विकासबाट आफूहरु प्रभावित भएको र यसका लागि त्यहाँको सरकार र जनतालाई बधाई दिन चाहेको पनि मन्त्री कोइरालाले बताइन ।
नेपाली महिला,बालबालिका,अपाङगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकको क्षेत्रमा राजदूत नाक्वीले लगानी गर्ने इच्छा देखाएका छन् । मन्त्री कोइरालाले राजदूत नाक्वीलाई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने उपयुक्त वातारण सिर्जन गर्ने बिश्वास दिलाएकी थिइन ।