‘डिजे शैली' मा चुनाव प्रचार

‘डिजे शैली' मा चुनाव प्रचार

जनकपुर/ महोत्तरी : स्थानीय प्रशासनको बन्देज तथा निर्वाचन आचारसंहिताविपरीत उम्मेदवार डिजे शैलीमा चुनाव प्रचारप्रसार व्याप्त छन् । मधेसका ८ जिल्ला सदरमुकामसहित सबै ग्रामीण भेगमा दलका उम्मेदवार डिजे सेटमा प्रचार-प्रसार गरिरहेका छन् । गाडीमा ठूलो ध्वनि शक्तियुक्त बाजा बजाएर गरिने कार्यक्रमलाई यो क्षेत्रमा डिजे भन्ने गरिन्छ । सामान्यतय तराई-मधेसमा विवाहसहित मेला र ठुल्ठूला भोज भतेरमा डिजे प्रयोग गर्ने प्रचलन छ । डिजे शैलीको प्रयोग बढेसँगै झगडा हुन थालेपछि स्थानीय प्रशासनले डिजे निरुत्साहित गर्न कडाइ गरिरहेको छ ।

आगामी साता हुने तेस्रो चरणको निर्वाचन प्रचारप्रसारमा डिजे प्रयोग अत्यधिक देखिएपछि स्थानीय अगुवाले चिन्ता व्यक्त गरेका छन् । जनकपुरको मेयरका स्वतन्त्र उम्मेदवार राकेशविक्रम साह अघिल्लो साता डिजे शैलीमा चुनाव प्रचारप्रसार गरे पनि मंगलबारदेखि त्यसलाई रोकेको बताउँछन् । साहले अन्नपूर्णसँग भने, ‘स्थानीय केही बुद्धिजीवीले मलाई सचेत गराएपछि यो माध्यमबाट प्रचारप्रसार गर्न रोकेको हुँ।'

 

स्थानीय एक टेन्ट व्यापारीका अनुसार डिजे भाडा प्रतिदिन १२ देखि २० हजारसम्मको छ । उनका अनुसार उम्मेदवारले गाडी र तेल आफैं व्यवस्था गरे १० हजार भाडा लिइन्छ । महोत्तरी बर्दिवासका अर्का टेन्ट व्यापारी उमेश महतोले अन्नपूर्णसँग भने, ‘उम्मेदवार मनोनयन गरिएको दिनदेखि यसको व्यापार ह्वातै बढेको छ ।' उनी भन्छन्, ‘मैलै पुराना केही बिग्रेका सेटलाई राम्रो बनाएको छु । थप केही भाडामा बाहिरबाट मगाएको छु ।'

महोतरीका एसपी कुवेर कडायत भन्छन्, ‘डिजे प्रयोग भइरहेको हामीले पनि देखेका छौं तर हामीकहाँ उजुरी नआएका कारण अहिलेसम्म निर्वाचन सन्दर्भमा हामीले यसलाई कारबाहीको दायरामा ल्याएका छैनौं ।' स्थानीय प्रहरीले उजुरी नपरेकाले बन्देज लगाउन नसकिएको बताएको छ । चार वर्षअगाडि धनुषाको ढल्केवरमा विवाहका क्रममा डिजेसहितको बाजा बजाएर डान्स गरिरहँदा त्यहाँ ठूलो तनाव सिर्जना भएको थियो । ढल्केवरको उक्त तनाव साम्य पार्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । धनुषा, महोतरीको ग्रामीण भेगबाट पनि थुप्रै घटना प्रशासनसमक्ष पुगेपछि धनुषा र महोत्तरीलगायत तराईका जिल्लामा डिजे बजाउन प्रशासनले रोक लगाएको थियो ।

महोत्तरीका तत्कालीन एसपी रामप्रसाद श्रेष्ठले जिल्लाको सबै प्रहरी युनिटलाई खटाएर दर्जनौं डिजे सेट नियन्त्रणमा लिएका थिए । महोत्तरी प्रहरी प्रमुख कडायत भन्छन्, ‘यो बाजाको प्रयोग गर्नु कानुनविपरीत हो ।' ‘चुनाव प्रचार त विवाहजस्तो लागिरहेछ', महोत्तरी बिजुलपुराका दीपेन्द्र महतोले भने, ‘मैले संविधानसभाको दुईवटा चुनावमा पनि भोट हालेको छु तर यस्तो प्रचारशैली देखेको थिइनँ ।'

उनले भने, ‘बीस वर्षपछि गाउँको विकासका लागि चुनाव हुँदै छ, धेरै उम्मेदवार उठेका छन् । प्रचारप्रसारमा एकअर्कालाई उछिन्न यस्तो गरेको हुनुपर्छ ।' डिजेको प्रयोगले उम्मेदवारबीच मनमुटाव बढाउन सक्ने आशंका महतोको छ । भदौ २१ गतेयता दिनहुँजसो उम्मेदवारले गाउँमा डिजे प्रयोग गरी चुनावी गीत बजाएर घरदैलो गरिरहेका छन् । ‘उम्मेदवार तथा तिनका कार्यकर्ता साइकलमा झन्डा बाँधेर टोल-टोलमा भोट माग्थे', बिजलपुराको डाँडाटोलका ८२ वर्षीय मतदाता भीमबहादुर थापा भन्छन्, ‘हाम्रो समयमा हिँडेर चुनाव प्रचार गरिन्थ्यो । अहिले ठुल्ठूला बाजा बजाएर भोट मागेको देख्छु । चर्को आवाजमा गीत बजाएर नेता-कार्यकर्ता उफ्रन्छन् । मतदातालाई राम्रो लागेको छैन ।'

भरतपुरकी गृहिणी सुनिता कुमारी पनि डिजे बजाएर उम्मेदवार घर-घरमा भोट माग्न आएको देख्दा दुःख लागेको बताउँछिन् । ‘बच्चा, वृद्धवृद्धा डिजेबाट हुने ध्वनि प्रदूषणले मुटुरोग लाग्न सक्छ । त्यसैले डिजेबाट गरिने चुनाव प्रचार रोक्नुपर्छ ।' महोत्तरीको सीमावर्ती गाउँ वैरगियाका ५० वर्षीय मस्तकिम अन्सारीले बिहेजस्तो चुनाव प्रचारप्रसार उम्मेदवारको चुनाव खर्च ह्वात्तै बढेको अनुमान गर्छन् ।

‘डिजे शैलीको चुनाव प्रचार र त्यसको खर्च र डिजेसँगै उफ्रनेलाई खुवाउने भोजले गरिबका छोराछोरी उम्मेदवार बन्न सक्ने अवस्था अन्त्य भयो', उनले भनिन् । रामगोपालपुराका ४२ वर्षीय रामसुदीप मण्डल थप्छन्, ‘डिजेको होडबाजीले गरिबका छोराले चुनाव जित्ने दिन गयोजस्तो लाग्छ । पैसा छैन भने उसले चुनाव जित्न सक्दैन ।'

चुनावमा उम्मेदवारलाई सरकारले चुनाव खर्च उपलब्ध गराएर प्रयोगमा आएको डिजे शैलीको चुनाव प्रचार रोकिने जलेश्वर—६ धवौलीका ७४ वर्षीय रामपदारथ साह विश्वास व्यक्त गर्छन् । उनले भने, ‘हाम्रो पालभन्दा अहिले चुनाव महँगो भयो । कोही उम्मेदवार खर्च गरेर हार्न चाहँदैनन् । उम्मेदवारले चुनाव प्रचारमा डिजे प्रयोगमा लगाएको उनले बताए । ‘डिजे प्रचार प्रवृत्ति राम्रो होइन । निर्वाचन अचारसंहिताविपरीत छ', उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि कडा रूपमा उत्रिनुपर्छ । अचारसंहिता उल्लंघन गरेका उम्मेदवारलाई अयोग्य घोषित गर्नुपर्छ ।'

जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले भनिन्, ‘राजनीतिक दलहरू जिम्मेवार नभइदिँदा यस्ता समस्या देखिएका छन्् । हामीले पटक-पटक दललाई आचारसंहिता पालना गरिदिन आग्रह गरेका छौं ।' आयोग र प्रहरी प्रशासनलाई कामको अत्यधिक चाप भएका बेला दल तथा उम्मेदवारले मौकाको फाइदा उठाएको उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.