'आयोगको प्रस्ताव अनुसार सीमांकन गर्नुपर्छ'
राजविराज: नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन गरिनुपर्ने बताएका छन्। उनले मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए।
बिहीबार सप्तरीको राजविराजमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको र त्यसैका बलमा समग्र देशलाई विकास र समृद्धिको दिशातिर लैजाने प्रतिबद्धता जनाउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए।
‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन' उनले भने, ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ।'
नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने संभावनाको आंकलन गर्दै नयाँ शक्तिले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने आवश्यकतामा जोड दिए।