प्रमुख तीन दलसँग भिड्दै राजपा

 प्रमुख तीन दलसँग भिड्दै  राजपा

काठमाडौं : संविधान निर्माण प्रक्रियादेखि १३ महिने मधेस आन्दोलनबीच सात महिना नाकाबन्दी, संविधान संशोधन हुँदै ब्यालेटसम्म आएको राजपा नेपालको चुनावी मुद्दा ‘मधेस र मधेसीको पहुँंच राज्यसत्ता' रहेको छ । निर्वाचनमा आन्दोलन पक्षधरको मत पाउनेमा राजपा ढुक्क देखिएको छ । एक महानगरपालिका (वीरगन्ज महानगरपालिका), तीन उपमहानगरपालिका (कलैया, जितपुर-सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाउँपालिकामा असोज २ गते स्थानीय तह निर्वाचन हुँदै छ । कांग्रेसले आफ्नो आधार र राजनीतिको उद्गमथलोका रूपमा प्रदेश नम्बर २ लाई लिइरहेको छ । एमालेले पहिलो र दोस्रो चरणको निर्वाचन परिणामले निरन्तता पाउनेमा विश्वस्त हुँदै शुक्रबार निजगढमा हुने अन्तिम चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उतार्दै छ । अन्नपूर्णसँग बिहीबार भएको कुराकानीमा कांग्रेस र एमाले पहिलो शक्ति र राजपाले सकारात्मक परिणाम आउने दाबी सम्बद्ध दलका नेताले गरेका छन् ।

 

राजपा अध्यक्षमण्डलका नेता अनिलकुमार झाले प्रदेश नम्बर २ मधेस आन्दोलनको उर्वरभूमि रहेकाले आन्दोलनमा भाग लिएका जनताले राजपालाई मतदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘एक सय ३६ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख तीन दलमध्ये कुनै एकसँग, केही स्थानमा संघीय समाजवादी र केहीमा लोकतान्त्रिक फोरमसँग प्रतिस्पर्धा हुनेछ । पहाडीको बाक्लो बस्ती रहेको राजमार्ग क्षेत्रमा राजपालाई केही कठिन छ ।'

प्रमुख तीन दलसँगको चुनावी होडबाजीमा पैसा, गुन्डा र राज्यको शक्तिसँग गर्नुपर्ने प्रतिस्पर्धा राजपाको मुख्य चुनौती भएको झाले बताए । मधेस आन्दोलन र नाकाबन्दीमा राजपाको नेतृत्व स्वीकार गर्ने सबै मधेसी मतदाताले राजपालाई नै मतदान गर्ने बलियो पक्ष रहेको दाबी उनले गरे । आममधेसीले संविधान संशोधन मधेसका पक्षमा गर्नुपर्ने माग पार्टीका उम्मेदवारसँग गरेको उनले बताए ।

अध्यक्षमण्डलका अर्का नेता राजकिशोर यादवले आत्मनिर्णयको अधिकारसहित मधेस स्वायत्त प्रदेशको मागसहित घरदैलो गएका उम्मेदवारका पक्षमा आममतदाता रहेको दाबी गरे । सिंहदरबारमा रहेको अधिकार मधेसमा लग्न संविधानका ३६ ठाउँमा संशोधनको आवश्यकता रहेको उनले बताए । राजपाका सहअध्यक्ष वृषेशचन्द्र लालले मधेस आन्दोलनको नेतृत्व लिएको पार्टीलाई मधेसीबाट अलग्याउन सरकार र निर्वाचन आयोगले आचारसंहिताका नाममा कडाइ गरेको आरोप लगाए । मधेसका आठै जिल्लाका १ सय ३६ स्थानीय तहमा राजपा अघि भएको दाबी उनले गरे । राजपाका महामन्त्री मनीषकुमार सुमनले संविधान संशोधनमार्फत मधेसको अधिकार मधेसीलाई दिँदै संविधान सबैका लागि भएको सन्देश दिन मतदाताले आग्रह गरेको सुनाए । आन्दोलनको एउटा प्रक्रियाका रुपमा लिएको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी पनि उनले गरे ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वीरगन्जमा विशेष सम्बोधन गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले १ सय ३६ मध्ये १ सय तहमा जित्ने बताए । कांग्रेसले तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)को प्रमुख र उपप्रमुखमा अन्य राजनीतिक दलसँग तालमेल गरेको छ । लेखकले भने, ‘कांग्रेस स्थापनाकालदेखि हालसम्म मधेस र मधेसीको हितमा समर्पित भएकाले आगामी दिनमा पनि मधेसीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायका नागरिकको भावना समेटेर संविधान सर्वस्वीकार्य बनाउन दृढतापूर्वक अघि बढ्नेछ ।'

एमालेले प्रदेश नम्बर २ को चुनावमा पहिलोपटक पार्टी अध्यक्ष ओलीलाई उतार्दै शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका र बर्दिबास नगरपालिकाको चुनावी सभा सम्बोधन गर्ने भएको छ । ओलीले मधेसी मतदाताबीच राज्यशक्तिमा पहुँचका लागि विशेष अधिकारसहित प्याकेजको खुलासा गर्ने एमाले स्रोतले बताएको छ । पहिलो र दोस्रो चरणजस्तै तेस्रो चरणमा पनि एमालेलाई पहिलो पार्टी बनाउने प्रतिबद्धतासहित ओलीले गर्ने सम्बोधन पार्टीका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ऊर्जा बन्ने विश्वासमा एमाले नेतृत्व छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रदेश नम्बर २ को पार्टीपंक्ति र विशेष भूमिका निभाएका पार्टी अध्यक्ष पुष्पकमल दाहालको सफल नेतृत्वले आफ्नो पक्षमा सकारात्मक परिणाम आउने दाबी गरिन् । पार्टी विभाजनका क्रममा अन्यत्र गएका नेतासमेत पार्टीमै फर्कनु र राजपाका स्थानीय नेतृत्व माओवादीमा प्रवेश गर्नुले पनि चुनावी परिणाम सकारात्मक हुने विश्वास उनले व्यक्त गरिन् । दाहालले मधेसका आठ जिल्ला भ्रमणका सन्दर्भमा रिक्सावाला, चियापसलेदेखि सामान्य मजदुरसम्म खुला बजारमै सेल्फी खिच्दै चुनाव प्रचारमा देखाएको सक्रियताले मतदातामाझ गतिलो सन्देश दिएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.