'निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग व्यापक'
जनकपुरधाम: असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि उम्मेदवारहरुले व्यापक रुपमा आचारसंहिता उल्लंघन गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ।
आयोगका सदस्य सुदीप पाठकको नेतृत्वको टोलीले दुई नम्बर प्रदेशका ४ जिल्लाहरु धनुषा, सिरहा, सप्तरी र महोत्तरीमा गरिएको अनुगमनको क्रममा आचार संहिताको पालना नभएको निष्कर्श निकालेको हो।
शुक्रबार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका सदस्य पाठकले अनुुगमनको क्रममा राजनीतिक दलका उम्मेदवारहरुले शान्तिपूर्ण रुपमा निर्वाचन प्रचारप्रसार, सभा सम्मेलन गरेको र सद्भाव कायम रहेको पाइएपनि बालबालिकाहरुको प्रयोग नरोकिएको बताए । उनले भने, प्रचारप्रसारको क्रममा तुल, ब्यानर, टोपी, भेष्ट र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरिएको पाइयो।
अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती महिला र अशक्त मतदाताहरुलाई कसरी सजिलो तरिकाबाट मतदान गराउने बारे अझै अन्यौलता रहेको पाठकले बताए । चार जिल्लाका कतिपय मतदान केन्द्रहरु खोला तरेर जानुपर्ने भएकोले पानी परेमा वैकल्पीक व्यवस्था मिलाएको नपाइएको आयोगले जनाएको छ। यस्तै मतदाता शिक्षा सबै जिल्लाहरुमा प्रभावकारी रुपमा नभएको कारण मतदाताहरु अन्यौलमा रहेको अवस्था भएको मानवअधिकार आयोगका सदस्य पाठकले बताए।
केही मतदान केन्द्रहरुमा अझै पनि हिलो र सप्तरीको राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रमा ३ फिट सम्म पानी जमेको हुनाले मतदातालाई अप्ठ्यारो हुन सक्नेतर्फ आयोगले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।