एमालेलाई कुचो देखाएर तर्साउनेलाई मधेसी जनताले बढार्छन् : ओली
बर्दिबास : एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेस विरोधी भन्नेलाई मधेसका मतदाताले मधेसबाट बढार्ने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार महोत्तरीको बर्दिबास आएका ओलीले यस्तो दाबी गरेका हुन्।
‘एमाले मधेसबाट बढारिन्छ भन्नेलाई असोज २ मा हुने चुनावले मधेसबाट बढार्छ,’ केही दिन अघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुरमा विपक्षीले कुच्चो देखाएको स्मरण गर्दै उनले भने, ‘मधेसका जनताले एमालेको पक्षमा मतदान गर्छन्। विपक्षले हामीलाई देखाएको कुच्चो हाम्रो हातमा आउँछ। कसले कसलाई बढार्छ हेर्दै जानुहोस्। चुनावमा मतदाताले गर्ने भोटबाटै हामीलाई मधेस विरोधी बन्नेहरु बढारिन्छन्।’
उनले मधेसका मतदाताले भोट दिएर एमालेलाई पहिलो पार्टी बनाउने ठोकुवा समेत गरे। ‘म कसैलाई गाली गर्दिन। मधेसमा मतदाताले एमालेलाई भोट दिएर पहिलो पाटी बनाउँछन्। यो सभाले पनि त्यही सन्देश दिएको छ।’
एमाले राष्ट्रियताको पक्षमा अडिग हुँदा विपक्षीले एमालेलाई मधेस विरोधी भनेर प्रचार गरेको उनले दाबी गरे। ‘एमाले देशभक्त पार्टी हो। एमालेलाई जिताउनुहोस्। म जवानी बस्न तयार छु, विकास गरेर देखाउँछौं,’ सत्तापक्षलाई कटाक्ष गर्दै उनले भने, ‘थोत्रो कांग्रेसलाई कसले चिनेको छैन् ? झन् माओवादी त केटाकेटी नै हो। चुनावमा कांग्रेस र माओवादीलाई एमालेको पक्षमा मसेधका जनताले मतदान गरेर चिप्लेटी खेलाउँछन्।’
विदेशी शक्तिको हितमा संविधान संशोधन गर्न अझै पनि भाषण दिइरेको सत्ता पक्षप्रति ओलीलो चर्को कटाक्ष गरे। ‘अरुको इशारामा संविधान संशोधन गर्न खोज्नेहरु संशोधन फेल भयो भनेर किन रुनु ? अझ रुनका निम्ति किन दिल्ली जानु घरभित्रै बसेर रुनु नि !’
मेची महाकाली विद्युतीय रेल गुडाउने सपना एमालेले पूरा गर्ने दाबी समेत ओलीले गरे। उनले भने, ‘केटा केटीले खेलेको रेल होइन्। हामीले गुडाएर छोड्छौं।’ एमाले मधेसको विकासको पक्षमा रहेको उनले जिक्किर गरे।