मधेस राजनीति: पद पाउने पुरुष शक्ति प्रदर्शन गर्ने महिला (फोटोफिचर)
जनकपुरधाम : प्रदेश-२ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदका लागि महिलालाई कुनै पनि दलले उम्मेदवार बनाउन प्राथमिकता दिएनन्। तर, चुनावी प्रचार-प्रसारको अन्तिम दिन शुक्रबार शक्ति प्रदर्शनको अग्रपंक्तिमा सबैभन्दा बढी महिला देखिएका छन्।
स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न पदमा आरक्षित गरिए पनि प्रमुख पदमा महिलालाई राजनीतिक दलले उम्मेदवार बनाएका छैनन्। उम्मेदवार नबनाए पनि चुनावी प्रचारमा सबैभन्दा बढी महिलाको उपस्थिति देखिएको हो।
मधेसको राजनीतिमा महिलाको पहुँच राम्रो नभएकाले घरबाट निस्केर चुनावी प्रचारमा होमिनु महिलाका लागि सजिलो छैन्। तर, घरका पुरुष सदस्यले भनेकै कारण बढी महिला पार्टीको चुनावी प्रचार प्रसारमा झण्डासहित सक्रिय भएका हुन्।
घरमा श्रीमान, ससुरा, बुवा वा भाइ जुन पार्टीबाट प्रतिनिधित्व गर्छन् त्यो पार्टीको पक्षमा चुनाव प्रचार गर्न निस्किएका महिला उत्साहित भएर जुलुशमा देखिएका थिए। चुनावमा राम्रो र इमान्दार उम्मेदवारलाई जिताउन आफू प्रचारप्रसारमा लागेको राघोवती सदाले बताइन्।
यसरी प्रचार–प्रसारमा सक्रिय हुँदा घरपरिवारका काम बिग्रिए पनि घरका मुखियाले भनेपछि जानैपर्ने बाध्यताका कारण जुलुशमा गएको सदाले बताइन्। गाउँघरमा विस्तारै महिलामा राजनीतिक चेतनाको विकास भइरहेको हुँदा निर्वाचन प्रचार प्रसारमा महिलाको प्रतिनिधित्व व्यापक देखिएको जनकपुर उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार पुनम चौधरीको भनाइ छ। पछिल्लो समय महिलालाई राजनीति र नेतृत्वमा ल्याउन विभिन्न प्रकारका अभियान सञ्चालन गरिएकाले महिला चुनावी अभियानमा सक्रिय भएको उनको भनाइ छ।
अर्को तर्फ विभिन्न राजनीतिक दलका भातृसंगठनमा पनि महिलालाई गाउँगाउँबाट समावेश गराइएको हुँदा राजनीतिक प्रतिको लगावका कारण उनीहरु निर्वाचनमा होमिएको महिला नेतृ विभा ठाकुरको भनाइ छ।
महिलाहरु पहिला जस्तो घरमै बस्ने र राजनीति भन्दा टाढा रहने अवस्थाको अन्त्य हुँदै गएकाले दलको प्रचारमा खुलेर आएको ठाकुरको भनाइ छ। तर, महिलालाई हालसम्म पनि प्रचारप्रसारका लागि मात्र दलले प्रयोग गर्ने र उनीहरुलाई पदमा पुग्नका लागि अवसर प्रदान नगर्ने प्रवृत्ति हावी रहेको कांग्रेसकी नेतृ सम्झना वर्माको भनाइ छ।