विकासमा राजनीति नगर्न आग्रह ओलीको आग्रह
इटहरी : विकासमा राजनीति नगर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । सुनसरीको इटहरीमा शनिबारबाट सुरु भएको नगर सभाको उद्घाटन गर्दै उनले विकासलाई राजनीतिले प्रभावमा पार्न नहुनेमा जोड दिएका थिए । उनले नगरको विकासको लागि गुरुयोजना बनाउन जोड दिँदै त्यसमा नगरका सबै दल तथा नगरवासीको सहभागिता हुनुपर्ने बताए ।
‘तपाईहरु कुनै राजनीतिक दलको लागि मात्र भनेर आउनुभएको होइन,’ जनताको काम गर्दा दल नहेर्न आग्रह गर्दै उनले इटहरी उपमहानगरपालिकाका मेयर र उपमेयरलाई हेर्र्दै भने, ‘जितेर आइसकेपछि कुनै दल हेर्नु हुँदैन, सबैलाई समेट्नुपर्छ ।’
उनले देशमा धेरै आर्थिक अवसरहरु रहेको बताउँदै सबै नगरले त्यसलाई लिन सक्नुपर्ने बताए । उनले देशमा लगानीको लागि पैसाको अभाव नरहेको समेत प्रष्ट पारे ।
यस्तै उनले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयन आवश्यक रहेको बताउँदै भने, ‘संविधान रहे पो संशोधन, संविधानै नरहे के को संशोधन ?’