उदयपुर, भोजपुर र खोटाङ जोड्नेगरी सुन र दूधकोशीमा दुई पक्की पुलको शिलान्यास
गाईघाट : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणसँगै देश आर्थिक विकासमा अघि बढेको बताएका छन् । शनिबार उदयपुर, भोजपुर, खोटाङ जिल्लालाई जोडने सुनकोसी र दुधकोसीमा दुई वटा पक्की पुलको एकसाथ शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्थानीयतह, प्रदेश र केन्द्रीय संघको निर्वाचनपछि अझ विकास निर्माणले गति लिने बताए । ‘तीन चरणमा सरकारले सफलताको साथ स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘फेरि सरकारले एक साथ मंसिरमा प्रदेश र केन्द्रीय संसदको निर्वाचन गराउँदै छ, त्यो गरिसकेपछि देशमा आर्थिक सम्बृद्धि सुरु हुनेछ ।’
जनताको आवश्यकता आर्थिक भएकाले भन्दै उनले सवै राजनीतिक दललाई आर्थिक विकासमा लाग्नु पर्ने बताए । राष्ट्रिय राजनीतितर्फ खासै बोल्न नचाहेका प्रधानमन्त्री देउवाले उदयपुर, खोटाङ र भोजपुर जोड्ने सुनकोसी नदीको पुल तीन वटै जिल्लाको आर्थिक सम्वृद्धिको आधार भएको बताए।
चौदण्डिगढी नगरपालिका १ रानिटार र भोजपुरको आमचोक गाँउपालिका र त्रियुगानगरपालिका १४ साउने धाम्पलाङबाट खोटाङको खोटेहाङ गाँउपालिका बीचमा पर्ने सुनकोसी नदीमा पक्की पुलनिर्माणको लागि देउवाले शिलन्यास गरेका हुन् ।
उदयपुर र भोजपुर जोडने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडकखण्डमा पर्दछ । त्यसैगरी उदयपुर र खोटाङ जिल्ला जोडने पुल गाईघाट–साउने–धाप्लाङ हुँदै दिक्तेल सडकखण्ड अन्र्तगत पर्दछ । दुवै पुलको निर्माणको जिम्मा एउटै कम्पनीले बराबरी लागतमा लिएको छ । निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभी काठमाडौंले एउटा पुल २२ करोड २५ लाख गरी दुबै पुल ४४ करोड ५० लाखमा सम्पन्न गर्नु पर्ने छ ।
५ स्पान भएको पुल २ सय मिटर लम्बाई र १० दशमलव ५ मिटर चौडाई रहेको निर्माण कम्पनीका ठेकेदार नारायणप्रसाद भुसालले जानकारी दिए । २०७६ साल असार २९ गते भित्र निर्माण सम्पन्न गर्न सक्ने गरी निर्माण कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ ।
कार्यक्रममा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर, पूर्व सञ्चारमन्त्री शेरधन राई, पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्का, पूर्व सहरी विकास राज्यमन्त्री मन्जु चौधरी र खोटाङका सांसद विशाल भटटराईले मन्तव्य राखेका छन्।