प्रदेश २ मा उत्साहजनक मतदान, ७३ प्रतिशत मत खस्यो

प्रदेश २ मा उत्साहजनक मतदान, ७३ प्रतिशत मत खस्यो

लहान : तेस्रो चरण स्थानीय तह निर्वाचनअन्तर्गत तराईका आठ जिल्लामा सोमबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ ।निर्वाचन आयोगले ७३ प्रतिशत मत खसेको जानकारी दिएको छ । सबैभन्दा थोरै सिरहामा ६५ प्रतिशत हाराहारी मत खसेको छ भने सप्तरीमा ७६ प्रतिशत, धनुषामा ७३ प्रतिशत, महोत्तरीमा ७३ प्रतिशत र रौतहटमा ७५ प्रतिशत मत खसेको छ । छिटपुट घटनाबाहेक आठवटै जिल्लामा मतदान शान्तिपूर्वक तथा उत्साहजनक ढंगले सम्पन्न भएको आयोगले जनाएको छ । 

 

दुई नम्बर प्रदेशको एक मात्रै महानगर वीरगन्ज तथा तीन उपमहानगर कलैया, जितपुर सिमरा र जनकपुरमा ७० प्रतिशतभन्दा बढी मत खसेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाका अनुसार आयोग र प्रशासनले सोचेभन्दा बढी शान्तिपूर्वक र उत्साहसाथ मतदान सम्पन्न भएको छ । झाका अनुसार सोमबार अबेरसम्म मतपेटिकाको व्यवस्थापन जारी रहेकाले मंगलबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ । सदरमुकामबाहिर कतिपय ठाउँमा अबेर राति नै गणना प्रक्रिया सम्पन्न हुने झाले बताइन् ।

सिरहाको कल्याणपुर नगरपालिकामा राजपा र माओवादी केन्द्रका कार्यकर्ताबीच केहीबेर झडप भयो । धनुषाको लखौरीमा समेत केही तनाव भए पनि मतदान स्थगन भएको थियो तर पछि सुचारु भयो । रौतहटको केही ठाउँमा दिउँसो अवस्था तनावपूर्ण बनेको थियो तर कुनै अप्रिय घटना हुन पाएन । समयमै सशस्त्र प्रहरी पुगेर झडप नियन्त्रणमा लिएको थियो ।

हिलोमा एक घन्टा लाइन लागेर मत खसालेकी सिरहा गोलबजार-४ की अनितादेवी सदाले भनिन्, ‘अब विकासको वर्षा हुन्छ । भ्रष्टाचार अन्त्य हुन्छ । त्यसैले हिलोमा बसेर पनि मतदान गरेको छु ।’ उनीजस्तै अन्य मतदाता पनि यस्तैखाले प्रतिक्रिया दिन्छन् । हरेक मतदाताको चाहना छ, ‘इमानदार नेताले चुनाव जितोस् । विगतमा नेताहरूले आफ्नै प्रतिबद्धता लत्याए । अब यस्तो नहोस् ।’ जनप्रतिनिधविहीन अवस्थामा भ्रष्टाचार बढेको बताउने मतदाताले जनप्रतिनिधि चयन भएपछि भ्रष्टाचार न्यूनीकरण हुने विश्वास गरेका छन् ।

सिरहामा ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । उनले महिला र पुरुषको प्रतिशत भने छुट्याउन पाएका छैनन् । यस्तै, सप्तरीमा पनि ७६.८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार १ लाख ३२ हजार ९ सय ३२ महिला, १ लाख २० हजार ५ सय ४९ पुरुष र ९ जना तेस्रोलिंगीले मत दिएका छन् ।

रौतहटमा ७५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको सबै मतदानस्थलमा शान्तिपूर्ण र मतदाताको उत्साहपूर्ण सहभागितामा मतदान सम्पन्न भएको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । प्रहरी प्रमुख पोखरेलले भने, ‘मतदान सकिएलगत्तै गणनास्थलमा मतपेटिका ल्याउने काम भइरहेको छ ।’

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले ७५ प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए । जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाको मतपेटिका मध्यरातसम्म गणनास्थल आइपुग्ने बताइएको छ ।

सदरमुकाम गौरको मत जिल्ला विकास समितिको हलमा गणना हुनेछ भने चन्द्रपुर नगरको जनज्योति क्याम्पस र गरुडा नगरको नमुना मावि गरुडामा हुनेछ । अन्य नगर तथा गाउँपालिकाको गणना पायक पर्ने उपयुक्त स्थानमा गणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.