'पाँच दिनभित्रै परिणाम'

'पाँच दिनभित्रै परिणाम'

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संविधानअनुसार संघीय संरचनाको पहिलो खुट्किलोका रूपमा रहेको स्थानीय तह निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगले पूरा गरेको बताएका छन् । तेस्रो चरणअन्तर्गत सोमबार प्रदेश २ को स्थानीय तह निर्वाचन सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. यादवले भने, 'संविधानअनुसार समयमै तीन चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा निर्वाचन आयोगले गर्व अनुभूति गरेको छ ।'

 

राजनीतिक सहमति कायम नहुँदा पटक-पटक सरेको प्रदेश २ को निर्वाचन व्यापक सहभागितासाथ शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनुले लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन जनता दृढ र प्रतिबद्ध रहेको पुष्टि भएको डा. यादवले बताए ।

दलहरूमा विकास भएको असल लोकतान्त्रिक संस्कार तथा दलका नेता-कार्यकर्ताको सुझबुझ र जिम्मेवारीपूर्ण व्यवहारले नेपालमा लोकतान्त्रिक अभ्यासको थालनी भएको उनले बताए । स्थानीय तहको निर्वाचन सरकार, निर्वाचन आयोग तथा राजनीतिक दल र उम्मेदवारका लागि पनि ठूलो उपलब्धि भएको उनले दाबी गरे ।

प्रदेश नं. २ को आठ जिल्लाका १३६ स्थानीय तहमा सोमबार सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । पहिलो चरणअन्तर्गत प्रदेश नं.३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ मा ७१ प्रतिशत मत खसेको थियो । त्यस्तै, दोस्रो चरणअन्तर्गत प्रदेश १, ५ र ७ का ३५ जिल्लामा असार १४ मा सम्पन्न निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो ।

तराईका आठ जिल्लामा बाढी-पहिरोका कारण आवागमनमा समस्या पैदा भए पनि निर्वाचन कार्य सहज रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीले खेलेको भूमिकाको आयुक्त यादवले मुक्तकण्ठले प्रशंसासमेत गरे । मतदान कार्य सम्पन्न भएका मतदान केन्द्रबाट सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जानकारी दिएको छ ।

मतदान कार्य सम्पन्न भई मतपेटिकाहरू सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ । केही जिल्लामा सोमबार रातिदेखि नै र बाँकीमा मंगलबार बिहानबाट मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ ।मतगणना कार्य सुरु भएको पाँच दिनभित्र परिणाम आउने व्यवस्थापन मिलाइएको प्रमुख आयुक्त डा. यादवले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तीव्र

तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोग मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलाई तीव्र पारेको छ । आयोगले निर्वाचनसम्बन्धी नियमावली र निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार आयोगले निर्वाचनका लागि मतपत्र छपाइबारे प्रधानमन्त्री तथा दलका शीर्ष नेतासँग छलफल गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरी आगामी निर्वाचनको तयारीबारे छलफल भएको हो ।

भेटका अवसरमा मंसिरमा सञ्चालन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिने मतपत्रको प्रारम्भिक ढाँचाका सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन सम्पन्न गर्न छोटो समय उपलब्ध भएको सन्दर्भमा मतपत्र कम समयमै छपाइ गरी मतदान केन्द्रसम्म पुर्‍याउन सकिने गरी आयोगले मतपत्रको प्रारम्भिक ढाँचा तयार गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.