सप्तरीमा ६ तहको मतगणना सुरु
राजविराज : सप्तरीको १८ स्थानीय तह मध्ये ६ तहको मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, अग्नीसाइर कृष्णसवरन गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मतगणना सुरु भएको हो ।
नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा ७६.८ प्रतिशत मत खसेको छ । अधिकारी ठाकुरका अनुसार एक लाख ३२ हजार नौसय ३२ महिला, एक लाख २० हजार पाँच सय ४९ पुरुष र नौ जना तेस्रो लिङ्गी गरी जम्मा दुई लाख ५३ हजार चार सय ९० जनाले मतदान गरे ।
सप्तकोशी नगरपालिकाको वडा नम्बर १ मा एक हजार नौ सय मत खसेकोमा अहिलेसम्म सात सय २८ को मतगणना भएको छ । एमालेले अग्रता कायम गर्दै प्रमुखमा ३१९, माओबादी केन्द्रले १७९, नेपाली काँग्रेसले १०२ र नेपाल लोकतान्त्रिक फोरमले १०१ मत प्राप्त गरेको छ ।
विष्णुपुर गाउँपालिकामा तीनसय मत गणना भएको छ । अन्य स्थानमा समेत सर्वदलिय बैठक गरी मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।