‘राष्ट्रपतिले नै ढिलो गरौं भन्नुहुन्थ्यो’

‘राष्ट्रपतिले नै ढिलो गरौं भन्नुहुन्थ्यो’

काठमाडौं : तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेको अडानका कारण नेपालको संविधान जारी हुन सकेको बताएका छन्। ‘संविधानसभाबाट संविधान जारी गर्न अप्ठेरो स्थिति थियो’, एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले भने, ‘संविधानको नामका लागि मात्र ३५ भन्दा बढी सुझाव आएको थियो। पहिलो संविधानसभामा त नेपालको नाम नै परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि थिए। चन्द्र–सूर्यलाई अनेक अर्थ लगाउँदै राष्ट्रिय झन्डा फेर्न खोज्नेहरू पनि थिए। उनी दोस्रो संविधानसभामा आएनन्।’

राष्ट्रिय झन्डाको प्रस्ताव आफूले अघि बढाएको सुनाउँदै उनले त्यही प्रस्ताव पारित भएको खुलासा गरे। संविधान दिवसकै दिन एमाले इलाम–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा दसैंलगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान जारी गर्दा क्षणको स्मरण सुनाएका हुन्। उनले यो संविधान सम्झौताको दस्तावेज भएको बताए।

‘यो संविधान निर्माणमा थुप्रै गिभ एन्ड टेक भएका छन्’, उनले भने, ‘माओवादीले कार्यकारी राष्ट्रपति भन्थ्यो, एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भन्थ्यो। तर, त्यो व्यवस्था भएन। यति दुःख गरेर बनाएको संविधान अहिले कार्यान्वयन चरणमा छ।’


नेम्वाङले संविधान जारी गर्न प्रथम राष्ट्रपति डा. रामवरण यादव केही ढिलाइ गर्न चाहेको समेत खुलासा गरे। ‘राष्ट्रपति नै केही ढिलो गरौं भन्नुहुन्थ्यो। मैले असोज ३ गते संविधान घोषणाका लागि निम्तो गर्न जाँदा उहाँले प्रधानमन्त्रीलाई सोध्छु अनि जवाफ दिन्छु भन्नुभयो’, उनले भने, ‘मैले असोज ३ गते पर्खेर बस्छौं भनें।’

संविधानसभाले सर्वसम्मत रूपमा असोज ३ गतेको प्रस्ताव पारित गरेपछि राष्ट्रपतिले बुझेको उनले सुनाए। ‘तर, राष्ट्रपतिले ४५ मिनेट ढिलो गर्नुभयो। अरूले राष्ट्रपति आउनुहुन्छ त भन्ने प्रश्न गर्न थालेका बेला अन्ततः उहाँ आउनुभयो।’

उनले संविधान जारी गर्दाका क्षणको स्मरण गर्दै कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरे। धेरै कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ थियो। ‘कात्तिक ४ गतेभित्र बाँकी कानुन बनाइसक्नुपर्छ’, उनले भने, ‘अनिश्चयहरू छन्।’

नेता नम्वाङले सभामुखको विदेश भ्रमणले कानुन निर्माणमा जटिलता थपिने समेत बताएका छन्। सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा तर्फ लक्षित गर्दै नेम्वाङले भने, ‘सभामुखको विदेश भ्रमणले संविधानअनुरूपका बाँकी कानुन निर्माण गर्न समस्या देखिएको छ।’ आगामी माघ ७ गतेभित्र राजनीतिक संक्रमण अन्त्य गर्ने गरी काम गर्नुपर्ने नेम्बाङको भनाइ थियो।

पहिलो संविधानसभा संविधान जारी नगरी विघटन भएको थियो भने दोस्रो संविधानसभाले आजकै दिन नेपालको संविधान जारी गरेको थियो। प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट संविधान जारी भएको घोषणा गरेका थिए।

संविधान जारी गर्नुभन्दा अगाडिदेखि तराई-मधेसकेन्द्रित दल र पहिचान पक्षधरले असन्तुष्टि जनाएका थिए। संविधान जारी भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका तराई–मधेसकेन्द्रित दल यसपटक औपचारिक रुपमा बोलेका छैन्। उनीहरू संविधान कार्यान्वयनकै क्रममा भएका निर्वाचनहरुमा सहभागी भइसकेका छन्। आदिवासी जनजाति महासंघले भने पहिचानको मुद्दा सम्बोधन नभएसम्म असन्तुष्टि कायमै रहने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.